६ वैशाख २०८१ बिहीबार
समाज

विज्ञ भन्छन्: डेंगी संक्रमण फैलाउन मौसमले साथ दियो

सम्झौता संशोधन गरेर भएपनि कवाडी हटाउः महानगर

राजधानी काठमाडौं र तराईका जिल्लामा डेंगीले तिब्रगति लिईरहँदा गण्डकी प्रदेशमा भने केहीदिन अघिसम्म यो गति सुस्त थियो। तर, पछिल्लो समय गण्डकीका विभिन्न जिल्लामा डेंगीको संक्रमण ह्वात्तै बढेको छ। हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगीका बिरामी रहेको गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठका अनुसार अहिले गण्डकीमा १६२ जनामा यो संक्रमण देखिएको छ। ती मध्ये कास्कीमा मात्र ५३ जना रहेको श्रेष्ठले जानकारी दिए। यो विहीबारसम्मको तथ्यांक हो। ‘यो पटक अहिलेसम्म १६२ जनामा संक्रमण पुष्टि भएको छ। केही निको पनि भईसकेका छन,’ श्रेष्ठले भने, ‘तर, संक्रमणको गतिले भने तिब्रता पाएको छ। मौसम चिसो हुँदै जाँदा अहिले संक्रमणले गति लिएको छ।’

उनका अनुसार हिमाली जिल्ला मुस्ताङमा भने अहिलेसम्म कोही बिरामी छैनन। अर्काे हिमाली जिल्ला मनाङमा भने काठमाडौंबाट फर्केका एकजना बिरामीमा संक्रमण देखिएको छ। चिसो बढ्न थालेकोले हिमाली जिल्लामा यसको फैलिने गति कम हुने उनले बताए।

‘भदौ महिना त यो संक्रमणका लागि उपयुक्त समय हो। कात्तिकसम्म फाट्टफुट्ट रहन्छ। यो बेला पानी पर्ने र घाम लाग्ने हुँदा मौसम भने अनुकुन बनेको छ,’ उनले भने, ‘चिसो बढ्दै गएको खण्डमा भने संक्रमण कमजोर हुन्छ।’

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार अन्यत्र निकै नै फैलिएको डेंगीले गण्डकी प्रदेशमा भने बल्ल तिब्रता पाएको छ। अहिलेको संक्रमक कम हुन नागरिक सचेत हुने र सरसफाइमा ध्यान दिनुको विकल्प नरहेको उनले बताए। उनका अनुसार लामखुट्टेको लार्भा र अण्डा नष्ट हुने गरि घाम लागेमा वा भीषण वर्षा भएमा डेंगी संक्रमण कम हुन्छ। तर, यतिबेला पोखरा क्षेत्रमा लामखुट्टे फैलाउन अनुकुल हुने गरि मौसम तयार भएको छ।

‘कि त चर्काे घाम लाग्नुपर्छ। नत्र भीषण वर्षा भएमा पनि लामखुट्टे नोक्सान हुन्छ र संक्रमण बढ्न पाउँदैन। त्यसबाहेक चिसो बढ्दै जाँदा पनि यो संक्रमण कमजोर हुन्छ,’ खड्काले भने, ‘अब घर वरिपरिको सरसफाई र कपडा लगाउनमा ध्यान पुर्‍याउनुपर्छ। अन्यत्र संक्रमण बढ्दै जाँदा यहाँ केही कमजोर थियो, अहिले भने गति लिएको छ।’

तीनवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पारेको थियो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। तीनवर्ष अघि पोखरामा डेंगी फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो। त्यो बेला पानी जम्ने, टायर, ट्यांकी, नाला, गमला व्यापक रुपमा नष्ट गरिएको थियो। डेंगी फैलाउने लामखुट्टे नियन्त्रणका लागि भाडामा कम्तिमा एकसातासम्म पानी जम्न दिनु हुँदैन। वर्षाका कारण जमेको पानी पनि छिटोछिटो फेर्न सके डेंगी फैलाउने लामखुट्टे फैलिन नपाएको हुनसक्ने उनले बताए।  

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। पोखराको यतिबेलाको तापक्रम न्यूनतम २० र अधिकतम ३२ डिग्री सेन्टिग्रेड रहेको छ।

 त्यस्तै यो लामखुट्टे फैलनाका लागि ह्युमिडिटि (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ। ६० प्रतिशत ह्युमिडिटि भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटिले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एक एकजना मात्र डेंगीका बिरामी भेटिएकोमा थौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

सम्झौता संशोधन गरेर भएपनि कवाडी हटाउः महानगर

पोखरा महानगरपालिकाले मुख्य आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको छ। कवाडी संकलन केन्द्रबाट डेंगी रोगको प्रकोप फैलिन सघाउ पुगेको भन्दै महानगरले कवाडी संकलन केन्द्रलाई बस्ती भन्दा टाढा लैजान निर्देशन दिएको हो। अव्यवस्थित कवाडी संकलन केन्द्र डेंगी फैलाउने लामखुट्टेकाे बासस्थान भएकोले ती संरचना हटाउनुपर्ने महानगरको ठहर छ। महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्र जंग केसीले सूचना जारी गर्दै मुख्य आवास क्षेत्रबाट कम्तिमा ५ सय मिटर दूरी भन्दा बाहिर गएर कवाडी संकलन केन्द्र राख्न निर्देशन दिइएको छ।  

कवाडी संकलन केन्द्र राख्नका लागि घर वा जग्गा धनीले ठाउँ वा भवन उपलब्ध गराएको भएपनि त्यहाँ संचालित कवाडी व्यवसायीलाई अन्यत्र स्थानान्तरण गर्न महानगरले भनेको छ। घर वा जग्गाधनी र कवाडी संकलन केन्द्रबीच जति नै वर्षको सम्झौता भए पनि सम्झौता संशोधन गर्न समेत महानगरपालिकाले निर्देशन दिएको छ। शुक्रबार सूचना प्रकाशित गरेको महानगरले ३५ दिनभित्र मुख्य आवास क्षेत्रबाट कवाडी व्यवसाय नहटाएमा घर वा जग्गाधनी र व्यवसायीलाई समेत कारवाहि गर्ने समेत महागरले बताएको छ।  

‘पोखरामा दिनहुँ डेंगी संक्रमण बढ्दो छ । लार्भाको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान थालेका छौं,’ महानगरको स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले भने, ‘सचेत नभए यो संक्रमणले डरलाग्दो अवस्था सिर्जना गर्न सक्छ।’ डेंगी फैलाउने लामखुट्टेको बासस्थान कवाडी संकलन केन्द्र भएकोले पनि ती ठाउँ खालि गर्न भनेको उनले बताए । पोखरा महानगरभित्र त्यस्ता कवाडी संकलन केन्द्र कति छन् भन्ने महानगरसँग यकिन नभएको र सूचीकृत हुन अनुरोध गरेको पनि अर्यालले बताए।

प्रकाशित: ३१ भाद्र २०७९ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App