७ वैशाख २०८१ शुक्रबार
समाज

चाडपर्व नजिकिँदै गर्दा सर्लाही र रौतहटमा सुरु भयो तस्करी

दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सर्लाही र रौतहटमा तस्करी फस्टाउँदै गएको देखिएको छ। सर्लाही र रौतहटका अधिकांश नाकाबाट दिउँसो र राति तस्करी हुने गरेको देखिएको छ। साइकल र मोटरसाइकलमा तस्करीको सामान ल्याउने र सीमा वारि ल्याएपछि ठूलो ढुवानी साधनमा विभिन्न भागमा पठाउने गरिएको देखिएको छ।  

सर्लाहीको पूर्वी भेगको त्रिभुवन नगर, सङ्ग्रामपुर, नारायणपुर, मलङ्वा भन्सारको कभर्ड हल र लचका नाकाबाट  दिनभर मालसमान ढुवानी भइरहेको दृश्य हेर्न सकिन्छ। तस्करहरुले मोटरसाइकल र साइकलमा सीमावर्ती भारतीय बजारबाट तस्करीको सामान ल्याएर ट्रकमा लोड गरेर पठाउने गरेको बुझिएको छ।  यसैगरी सर्लाहीको ओहेनहारा नाकाबाट पनि तस्करी जारी नै रहेको छ।  

रौतहटको सदरमुकाम गौर, बेलबिछवा र बन्जरहा नाकाबाट पनि तस्करी भइरहेको छ। सशस्त्र र नेपाल प्रहरीका ठूलाबडा कर्मचारीकै मिलोमतोमा सङ्गठित रुपमा तस्करी भइरहेको बुझिएको छ। गौर भन्सारको मुख्य नाकाबाट भारतीय बजारबाट छ पोका अवैध कपडा नेपाली बजारतर्फ भित्र्याउँदै गरेको अवस्थामा नेपाल प्रहरीका एसपी वीर बहादुर बुढा मगरको निर्देशनमा तस्करीको सामान समातेपछि रौतहटमा पनि मिलोमतोमा नै तस्करी भइरहेको रहस्य बाहिरिएको हो।

यतिबेला सर्लाही र रौतहटका विभिन्न नाकाबाट निर्वाध रुपमा तस्करी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी बिजय श्रेष्ठले दिएको जानकारी अनुसार सर्लाहीको विभिन्न नाकाबाट चोरेर अवैध तरिकाबाट भित्रिएको ट्रक सहितको चिनीलाई नियन्त्रणमा लिएर सर्लाहीको मलङगवा भन्सार कार्यालयमा बुझाएको बताएका छन्। तस्करी कुन नाकाबाट भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीको भनाइ छ।

सर्लाहाका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल बिदामा गएपछि त्रिभुवननगर नाकाबाट खुलेआम तस्करी भइरहेको स्थानीयको दाबी छ। त्रिभुवन नगर नाकाका प्रहरी नायब निरीक्षक (सइ) चन्द्र बहादुर केरुङको मिलोमतोमा तस्करी भइरहेको छ। त्रिभुवन नगर नाकाबाट कपडा, खाद्यान्न र स्पेयर पार्टको तस्करी खुलेआम भइरहेको स्थानीयले बताएका छन्।

तस्करहरुसित मिलेर सई केरुङ नेपालको सामान भारत र भारतको सामान अवैध रुपमा तस्करी गराउन खप्पिस मानिन्छन्। गत सात महिनाअघि रौतहट सदरमुकाम गौर भन्सारमा खटिएका सइ केरुङ तस्करी गराएको आरोपमा चार दिनमै तानिएका थिए।  

सर्लाहीको विभिन्न नाकाबाट चिनी तस्करहरुले साइकल, मोटरसाइकलमा तस्करी गरेर भन्डारण गरी ट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा पूर्व पश्चिम राजमार्गको नयाँरोडबाट ट्रक नियन्त्रणमा लिएको र कुन नाकाबाट चिनी नेपाल आएको अनुसन्धान भइरहेको डिएसपी बिजय श्रेष्ठले बताएका छन्।

चाडपर्वको समयमा हरेक वर्ष तस्करी फस्टाउने गरेको र अहिले पनि तस्करी निकै फस्टाएको देखिएको छ।

प्रकाशित: ३० भाद्र २०७९ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App