१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘जलवायु परिवर्तन सम्बोधनमा विश्व गलत दिशातर्फ’

विश्वले महत्त्वाकांक्षी कार्य नगरेमा जलवायु परिवर्तनको भौतिक, सामाजिक, आर्थिक प्रभाव विनाशकारी हुने अध्ययनले देखाएको छ। संयुक्त राष्ट्र संघसँग आबद्ध विश्व मौसम विज्ञान संगठनले बुधबार जारी गरेको प्रतिवेदनअनुसार जलवायुसम्बन्धी पेरिस सम्झौताको लक्ष्य पुरा गर्न सन् २०३० सम्म विश्वको तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न कार्बन उत्सर्जन नियन्त्रणमा विश्वले हाल गरेको प्रतिबद्धता कार्यान्वयन सात गुणाले बढी हुनु आवश्यक छ।

‘जलवायु विज्ञान प्रष्ट छ, हामी गलत दिशातर्फ उन्मुख छौं,’ संगठनले संयोजन गरेको तर विभिन्न अन्तर्राष्ट्रिय निकाय सहभागी रहेको उक्त प्रतिवेदनमा लेखिएको छ। ‘युनाइटेड इन साइन्स’ नामक उक्त अध्ययन प्रतिवेदनमा विश्वले गरेका अपेक्षा र वास्तविकताबीच ठुलो खाडल रहेको उल्लेख छ।

वायुमण्डलमा विश्वको तापमान वृद्धिका लागि जिम्मेवार मानिने हरितगृह ग्याँसको संकेन्द्रण (कन्सनट्रेसन) को रेकर्ड हरेक वर्ष तोडिएको र कोरोना महामारीका बेला कम प्रयोगका कारण खनिज इन्धनबाट हुने उत्सर्जनमा केही कमी आए पनि हाल कार्बन उत्सर्जनको स्तर महामारीअघिको अवस्थामा पुगेको अध्ययनको निष्कर्ष छ।

बितेका सात वर्ष सर्वाधिक गर्मी रहेको औंल्याउँदै अध्ययनले आगामी ५ वर्षभित्रकै कुनै वर्षमा विश्वको तापक्रम सन् १८५० देखि सन् १९०० सम्मको सरदर तापक्रमभन्दा १.५ डिग्रीले बढ्ने सम्भावना ४८ प्रतिशत रहेको प्रतिवेदनको आकलन छ। ‘विश्वको तापमान बढ्दै गर्दा जलवायु प्रणाली फर्किन नसक्ने बिन्दु (टिपिङ पोइन्ट) मा पुग्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न,’ अध्ययन प्रतिवेदनमा लेखिएको छ।

विश्वका अर्बौं मानिसको बासस्थान रहेका सहरहरूले मानवजन्य उत्सर्जनका लागि ७० प्रतिशत हिस्सा लिएको र यो अत्यधिक उत्सर्जनको सामाजिक तथा आर्थिक मूल्य चर्काे रहने देखिएको छ। यो वर्ष विषम मौसमका कारण विश्वका विभिन्न भाग अत्यधिक प्रभावित रहेको प्रसंग उल्लेख गर्दै प्रतिवेदनमा जलवायु संकटले जोखिममा रहेका समुदायलाई सबैभन्दा बढी प्रभावित पार्ने लेखिएको छ।

‘बाढी, अनिकाल, तातो हावा, आँधीबेरी, डढेलो जस्ता विपद् झन् खतरनाक स्तरमा बढने देखिएको छ। युरोपमा तातो हावाको लहर, पाकिस्तानमा भीषण बाढी, चीन, अफ्रिका र अमेरिकामा देखिएको लामो एवं सघन खडेरी यसका उदाहरण हुन,’ प्रतिवेदन जारी गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टिनिओ गुटेरेसले भने। मानिसमा रहेको खनिज इन्धनको लतका कारण यस्तो अप्रिय स्थिति सिर्जना भएको उनको भनाइ छ।

‘यो वर्षको ‘युनाइटेड इन साइन्स’ प्रतिवेदनले जलवायुजन्य विपद्को प्रभावले विनाश निम्त्याएको देखाएको छ। यसो हुँदाहुँदै पनि खनिज इन्धन प्रयोगप्रतिको हाम्रो लतलाई हरेक वर्ष दुई गुणाले बढाउने गरेको छौं,’ गुटेरेसले भिडियो सन्देशमा भनेका छन्।

विश्व मौसम विज्ञान संगठनका महासचिव प्राध्यापक पेटरी टलासले जलवायु विपद् पुर्वानुमान प्रणालीको विकासमा संगठनको ध्यान केन्द्रित रहने बताएका छन्। प्रतिवेदनको तयारीमा मौसम-विज्ञान संगठन लगायत संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, वर्ल्ड क्लाइमेट रिसर्च प्रोग्राम, ग्लोबल कार्बन प्रोजेक्ट लगायतको संलग्नता छ।

प्रकाशित: ३० भाद्र २०७९ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App