७ वैशाख २०८१ शुक्रबार
समाज

धरानमा सुकुम्बासीहरुलाई धनीपुर्जा दिन जग्गा नापचाज कार्य सुरु

धरान १३ स्थित राईटोलमा जग्गाको नापचाँज कार्य सुरुवात गर्दै उपमेयर अइन्द्रबिक्रम बेघा, भूमि आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वेलगायत।

राष्ट्रिय भूमि आयोग सुनसरीले लगतफारम भरेका धरानका सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्न जग्गा नापचाँज कार्य सुरुवात गरेको छ।

पहिलो चरणमा धरान १३ स्थित राई टोलका ३० घर सुकुम्बासी परिवारले बसोबास गरेको क्षेत्रको जग्गा नापजाँच कार्य सुरु गरेको हो। धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले जग्गा नापेर उक्त कार्यको सुरुवात गरेका छन्।

यसअघि धरान १३ को राइटोलबाट जग्गा नापजाँच कार्य गर्नुअघि निस्सा वितरणको काम पनि भइसकेको थियो। निस्सा प्राप्त गरेको र जग्गा नापजाँच कार्यको सुरुवात पनि भएपछि वषौंदेखि लालपुर्जाविहीन भएर बसेका स्थानीयलाई आशा जागेको छ।

उनीहरुले सुकुम्बासी भएर बस्नु पर्दा समाजले हेर्ने दृष्टिकोण नै फरक भएको भन्दै लालपुर्जा प्राप्त भएमा ठूलो उपलब्धि हुने प्रतिक्रिया पनि दिएका छन्। राई टोलका बासिन्दाहरुका अनुसार तीन पुस्ताअघि यो सुकुम्बासी बस्ती बसेको हो।

अहिले चौथो पुस्तासमेत यही हुर्किरहेको भूमिअधिकारको लागि निरन्तर लडीरहेकी सीता मगरले बताइन्। ‘तीन पुस्ता भइसक्यो, यहाँ बसेको। हामीले निरन्तर राज्यसँग लडिरहेका छौं। यसपाली जग्गा नापजाँच कार्य नै सुरु भएकोले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको छ,’ उनले भनिन्।

जग्गा नापजाँच कार्य सुरु भएपनि राई टोलको जग्गामा फेरि नयाँ समस्या देखिएको छ। यहाँको जग्गाको स्रेस्ता धरान उपमहानगरपालिकाको नाममा कायम भएको कुरा आएको छ। उपमेयर बेघाले फिल्डमा आएर काम गर्ने क्रममा देखिएको समस्यालाई समाधान गर्दै जाने र धरानलाई सुकुम्बासीमुक्त सहर बनाउन प्रतिवद्ध रहेको पनि बताए।

‘काम गर्ने क्रममा नयाँ नयाँ समस्या देखिएको छ, त्यसलाई समाधान गर्दै अघि बढ्छौं। राई टोलको जग्गा नगरको नाममा स्रेस्ता कायम भएको कुरा आएको छ, त्यसलाई पनि आवश्यक प्रक्रियामा लैजान्छौं,’ उनले भने।

राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वेका अनुसार आफू अध्यक्ष भएर आएपछि धरान र बराहक्षेत्रबाट काम अघि बढेको छ। उनले धरानको राईटोललाई प्राथमिकता दिइएको पनि बताए। ‘सरकार फेरिँदा आयोग पनि फेरिँदा समय यति नै लाग्छ भन्न सकिन्न। यो आयोगले विगतको अधुरो कामको स्वमित्व लिएका छौं, अरुले पनि त्यसरी नै लिएर अघि बढे काम छिटो हुन्छ,’ उनले भने।

खत्वेको अनुसार धरानमा मात्रै १३ हजार ३१० परिवारले लगत फारम भरेका छन् भने बराहक्षेत्र नगरपालिकामा १४ हजारको संख्यामा फारम भरेका छन्। आयोगको विज्ञ सदस्य सुर्दशन श्रेष्ठले प्राविधिक, सर्वेक्षक, अमिनको टोली भएकोले नापचाँज कार्य चाडै सक्ने बताए।

फिल्डबुक, स्रेस्ता, मोठ तयार गरे आयोगको केन्द्रसँग समन्वय गरेर आधिकारिक धनीपुर्जा वितरण गर्ने तयारी छ। उनका अनुसार अहिले बराहक्षेत्र ७ को देवीघाटका २७५ घर परिवारलाई यो प्रक्रियामा लगिनेछ। त्यसपछि देवी मार्ग, कोलोनी मार्ग, फुस्रेको निवेदन प्राप्त भएको र त्यसको पनि भेरिफिकेशनको प्रक्रियामा रहेको उनले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०७९ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App