८ वैशाख २०८१ शनिबार
समाज

रोल्पामा तीन वर्षमा २ सय २३ जनाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय रोल्पा।

रोल्पामा पछिल्लो समय आत्महत्याको दर उच्च रहेको एक तथ्याङ्कले देखाएको छ। यो वर्ष साउन र भदौमा मात्रै १३ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष ७३ जनाले आत्महत्या गरेका थिए। ती मध्ये २८ महिला र ३५ पुरुष छन् भने १० बालबालिका छन्। गएको तीन वर्षमा रोल्पामा २ सय २३ जनाले  आत्महत्या गरेको तथ्याङ्क छ।  

चिकित्सकका अनुसार मानसिक समस्या बढ्दै गएपछि आत्महत्या दर पनि बढेको हो। मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैङ्गीक हिंसा लगायतका कारणले हुने आत्महत्या बढीरहँँदा तीनै तहका सरकारहरुका अंगहरु मौन छन्। बालबालिकाले पनि आत्महत्या गर्न थाले पछि मानसिक समस्याका बारेमा बुझेकाहरु चिन्तित बनेका छन्।

रोल्पामा अधिकार सहितको बजेट सक्ने स्थानीय सरकारहरु मानसिक स्वास्थ्यका विषयमा कहिल्यै छलफल समेत गर्ने गर्दैनन्। विकास भनेको सडक हो भन्ने बुझेका जनप्रतिनिधिहरु स्वास्थ्यका विषयमा चासो राख्ने गर्दैनन्। आत्महत्या रोकथामका लागि सरकारी स्तरबाट सचेतना कार्यक्रमलाई तीव्रता दिनुपर्ने, हरेक वडामा एकजना मनोविमर्शकर्ता राख्नुपर्ने चिकित्सकहरु बताउँछन्।  

रोल्पा अस्पतालका डा.आधार वली आत्महत्याको मूख्य कारण मानसिक समस्या नै भएको बताउँछन्। ‘पछिल्लो समय बच्चाले समेत आत्महत्या गर्न थालेका छन्।’ डा. वलीका अनुसार मानसिक समस्या वा देखासिकिले पनि आत्महत्यामा प्रोत्साहन गरेको छ। अभिभावक र परिवारले पनि ध्यान दिँदैनन्। ‘जिल्लामा मानसिक रोग विषेशज्ञ नभएका कारण कहिले कसो शिविर सञ्चालन गरेमा राम्रो हुने थियो। मनोविमर्श प्रदान गर्ने तर्फ पनि ध्यान दिनुपर्छ।’

मानसिक स्वास्थ्य पनि समस्या हो भन्ने बुझाइ नभएका कारण पनि समाधान हुने गरेको छैन। राष्ट्रिय मानसिक स्वास्थ्य रणनिति तथा कार्ययोजना, २०७७ ले मानसिक स्वास्थ्यलाई सबैको सहज, सुलभ र समान पहुँचको लागि पाँच वर्षको कार्ययोजना बनाएको छ। जसमा आत्महत्या रोकथामको लागि पनि  कार्ययोजना समावेश गरिएको छ। नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजा अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर किशोरीहरूमा मानसिक स्वास्थ्य समास्या देखिएको छ। नेपालमा प्रजनन उमेर समूहका महिलाहरुको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको छ। यसले नेपालमा महिलाको मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै भयावह रहेको देखाउँछ।

रोल्पा अस्पतालका डा. आधार वलीले ‘धेरै पोष्टमार्टम आत्महत्या र भवितव्य मृत्युको आउँछ। झुण्डिएर मरेका १३ वर्षको बालकको समेत पोष्टमार्टम गर्नुपरेको छ। आत्महत्या दर बढ्न थालेको छ।’ उनी भन्छन्, ‘समयमै यसलाई न्युनीकरण गर्न मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ भने स्कुल शिक्षामा ध्यान दिँदा राम्रो हुन्छ। काउन्सिलिङको तालिम धेरैलाई दिएर परिचालन गर्नुपर्छ। त्यस्तै मदिरा र लागू औषध नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ।’  

डा. वली तत्कालिन माओवादी द्धन्द्धको असरले पनि स्थानीयहरुमा मानसिक समस्या रहेको बताउँछन्। ‘द्धन्द्धको असर अहिले पनि बाँकी छ। उतीबेला हिंसामा परेका, आँखै अगाडि आफन्त मारिएका अनि बेपत्ताका कतिपय परिवारमा आज पनि मानसिक समस्या छ।’ उनी भन्छन् ‘स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई समस्याका रुपमा बुझ्दै मनोबिमर्शकर्ता मार्फत सेवा सुरु गर्नु पर्छ।’

प्रकाशित: २५ भाद्र २०७९ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App