७ वैशाख २०८१ शुक्रबार
समाज

दार्चुला बाढी अपडेट: पाँच जनाको मृत्यु,६ जना बेपत्ता

दार्चुलामा बाढी र पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण महाकाली नदी र लस्कु नदीमा आएको बाढीमा परेर २ जना र पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।  

लस्कु नदीमा आएको बाढीका कारण महाकाली नगरपालिका–१ बस्ने मानमती कार्की र महाकाली नगरपालिका–२ बस्ने नन्दराम बोहराको मृत्यु भएको छ। त्यस्तै नौगाड गाउँपालिका–२, सल्लामा खसेको पहिरोले घर बगाउँदा स्थानीय जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै लस्कु नदीमा आएको बाढीमा परेर महाकाली नगरपालिका–४ की सरस्वती लुहार र उनका पति, महाकाली नगरपालिका–३, डुङ्ग्रीका धनसिंह कार्की, उनका छोराहरु दीपक कार्की र दिनेश कार्की तथा महाकाली नगरपालिका–२ मैखोलीकी मानमती शाहू बेपत्ता भएका छन्। उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

यस्तै बाढी र पहिरोका कारण दार्चुलामा १४ घरमा पूर्ण क्षति भएको छ भने  घरमा आंशिक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्याङ्कले जनाएको छ। यस्तै बाढीका कारण महाकाली नगरपालिका–२ स्थित माइकेश्वरी आधारभूत विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने वडा नम्बर ४ बाङ्गेबगडस्थित दशरथ आधारभूत विद्यालयको भवनमा भने आंशिक क्षति पुगेको छ। छपारी जाने झोलुङ्गे पुल र लास्कु खोलामा रहेको मोटरेवल पुल बाढीले बगाएको छ। लास्कु खोला नजिकै पार्किङ गरी राखिएका ७ वटा सवारी साधन पनि बाढीले बगाएको प्रहरीले बताएका छन्।

प्रकाशित: २५ भाद्र २०७९ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App