coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

द्वन्द्वपीडितको गुनासो: न्यायका लागि बोलिदिने कोही भएनन्

कालिकोटको तिलागुफा नगरपालिका ३ भाटपानीका आनन्द पाण्डे बारीमा मकै गोड्दै थिए; भित्तामा ढुंगाले छोपेको बस्तु देखे। छोपिएको पोको खोल्नेबित्तिकै विस्फोट भयो। एक सातापछि होसमा आउँदा उनले आफूलाई काठमाडौंको वीर अस्पतालको बेडमा पाए। नेपालमा चलेको सशस्त्र द्वन्द्व सकिएपछि २०६७ साल असार २ गते भएको घटनाले उनका दुवै आँखाका दृष्टि गुम्यो नै; उपचारमा पनि लाखौैं खर्च भयो।

घाइते हुँदा पाण्डे १२ वर्षका मात्रै थिए। गाउँकै विद्यालयमा कक्षा ७ मा अध्ययन गर्थे। उनीसँग सशस्त्र द्वन्द्वको कुनै साइनो थिएन। त्यही द्वन्द्वले पाण्डेले अकल्पनीय घटना बेहोर्नुपर्‍यो। ‘सशस्त्र द्वन्द्वसँग मेरो कुनै साइनो थिएन। त्यही द्वन्द्वका कारण मैले आफ्नो दृष्टि गुमाएँ’, पाण्डेले भने, ‘मेरो बारीमा विस्फोटक पदार्थ राख्नेको पहिचान र राज्यले क्षतिपूर्ति दिएको भए द्वन्द्वको घाउमा केही मलम लाग्ने थियो।’

पाण्डेले सत्य निरूपण तथा मेलमिलाप आयोगमा निवेदन दिन खोजे। द्वन्द्वको समय (२०५२–२०६३) भित्र घटना नभएको भन्दै उनको उजुरी दर्ता गरिएन। ‘मेरो घटना सशस्त्र द्वन्द्वको समयमा नभए पनि बारीमा बम त द्वन्द्वकै क्रममा राखिएको हो नि’, उनले भने, ‘हाम्रो न्यायका लागि बोलिदिने अहिलेसम्म कोही भएनन्।’ पाण्डे जुडो र क्रिकेटका राष्ट्रिय खेलाडी हुन्। पारा ओलम्पिक कमिटीमा स्वर्णपदक विजेता पाण्डे दृष्टिविहीन क्रिकेट विश्वकप खेल्ने टोलीमा सहभागी थिए। २७ वर्षका पाण्डे अध्ययनलाई निरन्तरता दिन चाहन्छन्। पढ्नका लागि उनीसँग खर्चको जोहो गर्नुपर्ने ठूलो चुनौती छ। ‘राज्यले पढाइ, उपचार र रोजगार दिएमा मेरा लागि न्याय त्यही हुनेछ’, पाण्डेले भने, ‘मेरो राज्यसँग ठूलो अपेक्षा केही छैन।’

म्याग्दी बेनीका ६७ वर्षीय कृष्णलाल श्रेष्ठको खुट्टाको आधा भाग छैन। कृत्रिम खुट्टा उनको सहारा बनेको छ। तत्कालीन विद्रोहीले २०६० चैत ७ र ८ गते बेनी आक्रमण गरेपछि उनको जिन्दगीले नयाँ मोड लियो। बेनीमा दिनरातभर सुरक्षाकर्मी र माओवादीबीच भिडन्त भइरहेको थियो।

जिल्ला अदालतका कार्यालय सहायक कृष्णलालको चैत ७ गते रातिको ड्युटी थियो। ११ बजेतिर भिडन्त सुरु भयो। विद्रोही माओवादी उनको कार्यालयभित्र प्रवेश गरे। अदालतमै भिडन्त सुरु भयो। उनी अफिस कोठाको टेबलमुनि लुकेका थिए। चैत ८ गते बिहान भिडन्त केही कम भएको थियो। उनी शौचालय जाँदै थिए; सुरक्षाकर्मीले गोली बर्साउन थाल्यो। ‘तीनवटा गोली लागेपछि म कार्यालयको मूल ढोकामै ढलें। केहीबेरमै त्यहीं बम पड्कियो’, उनले भने, ‘गोली त लागेकै थियो; बमले खुट्टा पनि क्षत्विक्षत् बनायो।’

काठमाडौंमा तीन महिनाको उपचारपछि कृत्रिम खुट्टा राखेर उनी घर फर्किए। ‘यस्तो दुःखको भुमरीमा पनि मैले कहिल्यै हिम्मत हारिनँ’, अपांगता भएकाहरूको राष्ट्रिय सञ्जालसँगै १४ फोटो कथा बोकेर कर्णाली आएका कृष्णलालले भने, ‘मजस्तै अपांगता भएकाहरूका लागि अहिले प्रेरणादायी व्यक्ति बनेर काम गरिरहेको छु।’ उनको कृत्रिम खुट्टा बेलाबेलामा फेर्नुपर्छ। ‘किन्दा महँगो पर्छ। आम्दानीको स्रोत न्यून छ’, उनले भने, ‘सरकारले मेरा लागि आजीवन सहयोगी सामग्री उपलब्ध गराउनुका साथै जीवन निर्वाह भत्ता दिए हुन्थ्यो।’

म्याग्दीका सुरेन्द्र खत्री भारतीय सेनामा भर्तीका लागि आवश्यक कागजात बनाउन घर आएका थिए। दसबर्से सशस्त्र द्वन्द्व समाप्तिपछि भारतीय सेनामा भर्ना हुनका लागि समस्या थिएन। बा पनि भारतीय सेनामै भएकाले सुरेन्द्रले भर्नाका लागि प्राथमिक चरण पार गरिसकेका थिए। कागजात बनाउनका लागि घर आएका सुरेन्द्र २०६३ असार १२ गते बाख्रा चराउन गोठालो गए। जंगलमा एउटा प्लास्टिकमा बेरेर छाडिएको वस्तु खेलौना सम्झेर चलाउँदा पड्कियो। ‘विस्फोटका कारण हातका साथै शरीरका विभिन्न भागमा छर्राले ठूलो क्षति पुर्‍यायो’, उनले भने, ‘उपचारका क्रममा मेरा दुवै हातका नाडीमुनिको भाग काट्नु पर्‍यो।’ दुवै हात गुमाउँदा संसार नै सकिएको अनुभव गरिरहेका खत्रीलाई डेनिस डाउलिनले अस्ट्रेलिया पुर्‍याए। त्यहाँ उनले ड्राइभिङ र कम्प्युटर तालिम सिके। ‘मेरो अस्ट्रेलिया बसाइ नै जीवनको महत्वपूर्ण समय बन्यो’, खत्रीले भने, ‘दुनियाँमा कोही पनि अपांग छैनन्। हामीलाई अपांगताको महसुस गराउने हामीले बनाएका सबैको पहुँच नहुने भौतिक संरचना र सामाजिक दृष्टिकोण रहेछ।’

कालिकोटका आनन्द, म्याग्दीका कृष्णलाल र सुरेन्द्रजस्तै बर्दियाका अशोक सोडारी, गयाप्रसाद चौधरी, हेमराज थारू, पूर्वीरुकुमकी भगवती गौतम, रामकुमारी घर्ती, कास्कीका दुदराज अधिकारी, लीला गुरुङ, रुबन श्रेष्ठ, बाँकेकी कली परियार, रामरतन थारू र दोलखाका कृष्णबहादुर घिसिङ सशस्त्र द्वन्द्व र त्यसपछिका आफ्ना जीवनस्मृतिका कथा र फोटो बोकेर कर्णाली र सुदूरपश्चिम यात्रामा निस्किएका छन्। कर्णालीका सुर्खेत र कालिकोटसँगै सुदूरपश्चिमका अछाम, डोटी, डडेल्धुरा, कञ्चनपुर हुँदै कैलालीसम्म पुग्ने उनीहरूको योजना छ। ‘पछिल्लो पुस्ताले हामीले भोगेको द्वन्द्व महसुस गर्न सकोस्। फेरि यस्तो द्वन्द्व देशमा नहोस् र द्वन्द्वपीडितले न्याय पाऊन् भन्ने उद्देश्यले १४ युद्धका जीवित स्मृतिको यात्रा गराइरहेका छौं’, खत्रीले भने, ‘प्रदर्शनीमा हामीले भोगेका पीडा र समस्या, राज्यप्रतिका गुनासा र घटना विवरण शब्द, चित्र र अडियोमार्फत सुनाउने गरेका छौं।’

प्रकाशित: २५ भाद्र २०७९ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App