१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुपः एक वर्षमा १ सय ६९ जनाद्वारा देहत्याग

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ तिलौरीको २ किशोरीले २०७८ फागुन ६ गते दिउँसो ३ बजेतिर विषादी सेवन गरे। १८ वर्षीया संगीता थारु र १७ वर्षीया बसन्ती रैदासले विषादी सेवन गरेका थिए।

संगीताको अर्को दिन फागुन ७ गते कपिलस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। बसन्तीको फागुन ८ गते बिहान युनिभर्सल मेडीकल कलेजका उपचारकोक्रमा मृत्यु भयो। प्रहरीले एकै पटक दुई जना किशोरीले किन विष खायो त्यसको कारण अझै नखुलेको बताएको छ ।

उता २०७९ वैशाख १९ गतेदेखि घरबाट हराएका शिवराज नगरपालिका– ९ रमु्वादहका २५ वर्षीया आरती थारु र उनको २ वर्षको छोरा अबिरन थारु घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनको एक रुखका झुण्डिएको अवस्थामा फेला परेका थिए। अगैको रुखमा एउटै चुन्नीमा झुण्डिएको अवस्थामा दुबै जना मृत फेला परेका थिए।

परिवारिक कलह र झैझडाले आरतीले आफू र आफ्नो छोरासहित आत्महत्या गरेकी हुन्। माथिका दुई आत्महत्याका घटना प्रतिनिधि घटना मात्र हुन्। जिल्लामा दिनहुँ जसो अहिले आत्महत्या हुने गरेको छ। कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप देखा परेको हो। एकपछि अर्को गर्दै कपिलवस्तुका विभिन्न स्थानमा आत्महत्या गरी प्राणत्याग गर्नेहरु दिनहुँ बढिरहेका छन्।

आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १ सय ६९ जनाले आत्महत्या गरेका छन्। जसमा महिला ८६ र पुरुष ८३ छन्। गत वर्ष आत्महत्या गरेको संख्या जिल्लामा अहिलेसम्मकै उच्च रहेका प्रहरीले जनाएको छ।

२०७७/०७८ मा  १ सय ५१ जनाले आत्महत्या गरेका थिए। २०७७/०७७ मा १ सय ३० जनाले आत्महत्या गरेका थिए। १ सय १७ जना झुण्डिएर ४६ विष सेवन, हामफालेर २ जना, हतियार प्रयागे गरी एक जाले आत्महत्या गरेका हुन्।

१६ वर्षमुनीका १२ जना, १६ देखि २५ वर्षका ७० जना, २६ देखि ३५ वर्ष उमेरका २७ जना, ३६ देखि ४५ वर्षका १८ जना, ४६ देखि ६० वर्षका ३४ जना, ६० वर्ष माथिका ८ जनाले आत्महत्या गरेका थिए। बदलिदो सामाजिक संरचना र परिवेशसँगै आत्महत्याको क्रम पनि बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ।

कोरोनाका कारण बढ्दो निराशले गर्दा मानसिक रोगी भइ आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको छ। बढ्दो महँगी, बेरोजगारी, बदलिदो सामाजिक परिवेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय अनुसार अधिकांश व्यक्तिहरु आर्थिक विपन्नताका कारण आत्महत्या गर्ने गरेका छन्। प्रेममा असफल भएपछि पनि आत्महत्या गरेको पाइएको छ। घरमा श्रीमान् श्रीमती बीच सँधै हुने झैझगडा, विवादले गर्दा नै अधिकांशले आत्महत्या गरेको पाइएको छ। केही वर्ष यता वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै त्यसले केही नकारात्क असर समेत देखाएको छ।

विदेशमा रहेका श्रीमानले श्रीमतीको नाममा पैसा पठाउने तर तीनका श्रीमतीहरु अन्धाधुन्ध खर्च गर्ने र पर पुरुषसँग लाग्ने गरेको समेत भेटिएको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए। ‘विदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कैयौँ महिलाले आत्महत्या गरेको भेटिएको छ,’ उनले भने ‘पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताको विषय छ।’

सामाजिक परिवेश तीव्ररुपमा बदलिरहेको अवस्थामा पुरातन शोच लादन खोज्ने, इच्छा र आकांक्षा पूरा नहुँदा, पारिवारिक कलह, आवेग लगायतका मिश्रित कारणहरुले आत्महत्या गरेको घटनाको अनुसन्धानका क्रममा पाइएको उनले बताए।

स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले आत्महत्यालाई समाजमा व्यक्तिगत समस्याको रुपमा लिइएको बताए। उनले आत्महत्या समाजिक समस्या भएकाले यसलाई सबैले गम्भीररुपमा लिनुपर्ने बताए। जुनसकै कारणले गरेको आत्महत्याको संख्या बढ्दै जानु ठूलो सामाजिक समस्या रहेकोले यस विषयमा सामाजिक सचेतना कार्यक्रम चलाउनु पर्ने उनी बताउँछन्।

‘समाजमा आत्मविश्वास जागाउने खालको कार्यक्रम गर्न जरुरी छ’ उनले भने। बदलिदो सामाजिक परिवेशमा बढ्दो गरिबीका कारण अधिकांश विपन्न व्यक्तिहरुमा आर्थिक अवस्था कमजोर भएपछि उनीहरुले आत्महत्या गर्ने गरेको कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे बताउँछन्।

केही व्यक्तिहरुमा मानसिक यातनाका कारण नैराश्यता पैदा हुँदा पनि विष सेवन गरी अथवा झुण्डिएर आत्महत्या गर्ने गरेका उनको भनाइ छ। विष सेवन गर्दा अधिकांशले मेटासिट नामक विषादिको प्रयोग गर्ने गरेको प्रयाप्त पोष्टमार्टम रिर्पोटहरुमा देखिएको उनले जानकारी दिए।

जिल्लाका कतिपय विषादी बिक्रेताले गैर किशानलाई थारै पैसाको लाभका लागि समेत विषदी बिक्री गरेकोले पनि विष सेवनबाट आत्महत्या गर्नेको संख्या बढी रहेको स्थानीयबासी बताउँछन्। कतिपयले भारतमा गएर विषदी खरीद गरी सेवान गरी आत्महत्या गरेको प्रहरीले बताएको छ।

हरेक वर्ष आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि हुनु र झन् त्यसमा पनि महिला र युवाहरुको संख्या बढी हुनुमा समाजमा एउटा चिन्ताको विषय बनेको समाजशास्त्री हरिराज शर्मा बताउँछन्। प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढी प्रयोग गरिनुले पनि अहिले आत्महत्याको घटना बाढएको उनले बताए।

अभिभावकले बालबालिकामा दबाव दिँदा, किसान ऋणमा डुब्दा, दाइजोका कारण मानसिक यातना भोग्दा पनि समाजमा आत्महत्या गर्नेहरुको संख्या बढिरहेको हुँदा सामाजिक क्षेत्र बाट नै यसको न्यूनीकरण गर्न सकिने उनले बताए। बढ्दो जनसंख्या र परिर्वतित समाजमा आफ्नो आवश्यक्ता र चाहना पुरा गर्न नसकेपछि बढेको आत्महत्या अहिले एउटा ठूलो खोजको विषय बनेको उनले बताए। पारिवारिक झै झगडा, गरिबी र रोगबाट दिक्क मान्दै आत्महत्या गर्नेको संख्या त्रासदीपूर्ण तरिकाले बढेपछि यहाँ चिन्ता बढेको छ।

प्रहरीद्वारा देशभर विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै

सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवसमा रुपमा मनाइँदै आएको छ। सोही अवसरमा भदौ २५ गते शनिबार देशको ७७ वटै जिल्लामा प्रहरीले विश्व आत्महत्या रोकथाम दिवस मनाउन लागेको हो।

नेपाल प्रहरीको कार्ययोजना २०७९ अनुसार देशभर दिवसका अवसरमा आत्महत्या न्यूनीकरणका लागि भदौ २५ गते कार्यक्रम गरिने योजना रहेको प्रहरी उपरीक्ष बस्नेतले बताए।

देशभर बढ्दै आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचीत गराउन कार्यक्रम गर्न लागिएको उनले बताए। आत्महत्या मृत्युदरलाई न्यूनीकरण गर्न र सेचतना फैलाउन विद्यार्थीहरुको सहभागीतामा बृहद र्‍याली र सझा गरिने उनले बताए।

प्रकाशित: २४ भाद्र २०७९ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App