७ वैशाख २०८१ शुक्रबार
समाज

ईन्द्रजात्रा: टोलटोलमा ठड्याइयो 'यम द्य'

इन्द्रजात्राको पहिलो दिन बुधबार भक्तपुरको सुकुलढोको टिबुक्छेंमा ठडाइएको यम द्य।

टोलटोलमा यम द्य (देवता) ठड्याउने क्रमसँंगै भक्तपुरको ईन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ। जात्रा हप्ता दिनसम्म मनाइने चलन छ।  

जत्राको पहिलो दिन नगरका टोलटोलमा यम द्य (देवता) का रुपमा ससाना लिंगोहरु ठडाइएका छन्। स्थानीयहरु यसलाई यम द्य (ईन्द्र देवता) उठाइएको भन्दछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी ईन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन यहाँं यसरी नै यम द्य (ईन्द्र देवता) उठाइन्छ। जात्राको पहिलो दिन भक्तपुर नगरपालिका क्षेत्रका २१ टोलमा २१ वटा यस्ता लिंगोहरु उठाइएको बताइएको छ। तर पनि प्रत्येक वर्ष यो संख्या घट्दो छ।  

स्थानीय टोलबासी नै मिलेर यसरी यम द्य ठडाउने परम्परा यहाँं प्रत्येक वर्ष चल्दै आएको छ। परम्परा अनुसार स्थानीय टोलबासीले यम द्य विहान उठाएका हुन्। करिब २० देखि ३० हात अग्लो भएका यम द्यहरु नगरका ठाउँठाउँंमा ठड्याइएका हुन्। 

नगरको सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायतका ठाउँंठाउँमा यस्ता लिंगो उठाइएका छन्।  स्थानीयका अनुसार पहिलापहिला नगरका ३२ टोलमा ३२ वटा यस्ता लिंगो उठाइन्थे। तर यी उठाउने गुठी (समूह) लगायतका निश्क्रियताका कारण यो संख्या निरन्तर घटिरहेको जनाइएको छ। पहिला यसैका लागि श्रोत भए पनि अहिले नहुँंदा यो चलन घटदै गएको बताइन्छ।  

टोलटोलमा उठाइएका यस्ता यम द्यलाई दैनिक साँंझ पूजाआजा गर्ने चलन छ। साँंझ विशेष गरी महिलाहरु आरती दिई पूजाआजा गर्न पुग्छन्। यो क्रममा नगरभरिको वातावरण नै उल्लासमय हुन्छ।  

स्थानीय जात्राप्रेमी कृष्ण प्रजापतिका अनुसार यम द्य ठड्याइएको पाँचौ दिन मु पात्र (मुख्य कलाकार) लाई नगर परिक्रमा गराउने क्रम सुरु हुन्छ। साथै यही दिनहरुमा यामता (दियो लिएर हिड्ने) घुमाइन्छ। जात्राको अन्तिम तीन दिन नगरका छुटाछुटै स्थानहरुबाट दैनिक मुपात्र (राक्षस रुपी मानिस) र यामता (दियो लिएर हिडने) निस्केर नगर परिक्रमा हुन्छ।  

जात्राको अन्तिम दिन पुलुकिसी (ऐरावत हाती) जात्रा हुन्छ। यो ईन्द्रजात्राको आकर्षण हो। भक्तपुर नगरको बुलुचाबाट निक्लने हातीरुपी पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ। त्यो दिन पुलुकिसी जात्रा हेर्न नगरभर ठूलो भीड लाग्ने गर्दछ।

इतिहासविद् डा वीरेन्द्रप्रसाद कायष्ठका अनुसार यन्हपुन्ही (इन्द्रजात्रा) को अर्थ इन्द्रको जात्रा हो। उनका अनुसार परापूर्वकालमा एक दिन स्वर्गलोकका राजा ईन्द्र आफनो आमाको पूजाका लागि मत्र्सलोक (पृथ्वी) मा पारिजात फूल लिन आएका थिए। यो क्रममा बगैंचाबाट पारिजात फूल चोर्दा उनी पक्राउमा परे। यसरी पक्राउ परेका इन्द्रलाई बाँंधेर राखियो। पछि इन्द्रको बाहन पुलुकिसी (ऐरावत हाती अर्थात पुलुकिसी ) चढेर ईन्द्रलाई लिएर स्वर्गमा फर्के। यही कथालाई लिएर जात्रा मनाउन थालिएको उनको भनाई छ।

प्रकाशित: २२ भाद्र २०७९ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App