८ वैशाख २०८१ शनिबार
समाज

मानव बेचबिखनका दोषी ३४ वर्षपछि पक्राउ

जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहर भइ नौ वर्ष कैद सजाय तोकिएका एक व्यक्ति तीन दशकभन्दा बढी समयपछि पक्राउ परेका छन्। कैद तोकिएपछि ‘फरार’ रहँदै आएका मेलम्ची नगरपालिका–७ दुबाचौरका ६६ वर्षीय खम्मे भनिने जितबहादुर तामाङ ३४ वर्षपछि पक्राउ परेका हुन्।

फरार अपराधी खोजी अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई दुबाचौरस्थित घरबाटै पक्राउ गरेको हो। पक्राउपछि तामाङलाई सोमबार जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिव बुढाथोकीले जनाए।

अदातलबाट तोकिएको कैद भूक्तानीका लागि उनलाई जिल्ला कारागार चलान गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले तामाङलाई २०४५ चैत २९ गते दोषी ठहर गर्दै नौ वर्ष दुई महिना आठ दिन कैद सजायको फैसला तोकेको थियो। अदालतको अभिलेखमा तामाङ त्यतिबेलै अनुसन्धानको क्रममा चार महिना न्यायिक हिरासत बसेको देखिन्छ।

पुर्पक्षमा छुटेर बाहिरै बसेर मुद्दा लडिरहेका बेला अदालतले कैदको फैसला गरेपछि उनी फरार हुँदै आएका थिए। मुद्दा फैसला हुँदा तामाङ ३२ वर्षका युवा थिए। अभिलेखअनुसार अदालतले यो मुद्दामा तामाङसहित तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। यो मुद्दाका अन्य दोषी तामाङकी भाउजु बक्तु तामाङ र रेन्जेन तामाङलाई पाँच/पाँच वर्ष कैद तोकिएको छ।

उनीहरुले पनि तोकिएको कैद भूक्तान गरेका छैनन्। रेन्जेन अझै फरार छन्। ७५ वर्षकी बक्तु शारिरीक रुपमा अशक्त अवस्थामा घरमै फेला परेकी छिन्। हिँडडुलसम्म गर्न नसक्ने र बाहिर–भित्र गर्न अरुको सहयोग चाहिने उनलाई अशक्तताको कारण पक्राउ गर्न सक्ने अवस्था नरहेको जानकारी प्रहरीले अदालतलाई गराएको छ।

जिल्ला अदालतको फैसलापछि केही समय माथिल्ला अदालत धाएका तामाङ त्यसपछि दुबाचौरस्थित घरमै बस्दै आए। ‘प्रहरी आएका बेला पक्राउ दिनु भन्ने जान्नेसुन्ने र छिमेकीको सल्लाहमा घरमै बस्दै आएको थिएँ। यत्रो समय प्रहरीले कुनै खोजबिन गरेको थिएन,’ पक्राउपछि उनले प्रहरी र अदालतका कर्मचारीसँग भने, ‘भागेर, लुकेर बसेको होइन। सुरुदेखि घरमै थिए।’

अभियानअन्तर्गत अदालतबाट पुराना मुद्दाको अभिलेख झिकाइ अध्ययन गरेपछि मात्र तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ। सरकारवादी यो मुद्दाको जाहेरवालाको निधन भइसकेको पाइएको अदालतले जनाएको छ। 

प्रकाशित: २० भाद्र २०७९ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App