४ वैशाख २०८१ मंगलबार
समाज

लिम्बू समुदायका जनप्रतिनिधिलाई सम्मान, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

किरात याक्थुङ चुम्लुङको ३४औँ स्थापना दिवस अवसरमा चुम्लुङ इलाम शाखाले जिल्लाका जनप्रतिनिधि र विद्यार्थीलाई सम्मान गरेको छ।

सदरमुकाममा आयोजित समारोहमा चुम्लुङले गत वैशाखको स्थानीय तह निर्वाचनमा लिम्बू समुदायबाट निर्वाचित पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई सम्मान गरेको हो। २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरबाट सर्वोत्कृष्ट हुने र गरिब तथा जेहेन्दार यही समुदायका छात्र/छात्रालाई पनि छात्रवृत्ति वितरण गरिएको छ।

सम्मानित हुने जनप्रतिनिधिमा माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बू योङहाङ, इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी लिम्बू, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ र चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू योङहाङ रहेको चुम्लुङका जिल्ला सचिव राम योङहाङले जानकारी दिए।

यसैगरी, किरात याक्थुङ चुम्लुङ सहयोग याक्थुङ कोषबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र देउमाई नगरपालिकाको खान्द्रुङ माविका दीपेन लिम्बू र छात्रा चुलाचुलीको जनता माविकी मौलिका जबेगूलाई १०/१० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ।

किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोष गरिब तथा जेहेन्दार छात्रवृत्ति खान्द्रुङ माविकै दीपिका फागो र माङसेबुङ १ को महेन्द्रोदय माविका अप्सन योङहाङ लिम्बूलाई दिइएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले बताइन्। यो छात्रवृत्ति ५/५ हजार रुपैयाँको छ।

किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोष, गरिब तथा जेहेन्दार छात्रवृत्तिबाट इलाम नगरपालिका ११, सोयाकको बालकन्या माविकी छात्रा श्रेया येक्तेन लिम्बू (बेबिसा) लाई प्रदान गरिएको छ। यो छात्रवृत्ति पनि १० हजार रुपैयाँको छ। चुम्लुङले इलाम ११, सोयाकस्थित किरात याक्थुङ फक्ताङलुङ साप्थिम्गेन मान्जुम्भोलाई पनि सम्मान गरेको छ।

प्रकाशित: १८ भाद्र २०७९ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App