७ वैशाख २०८१ शुक्रबार
समाज

पोखरामा निजी शौचालय सार्वजनिक रुपमा प्रयोग

महानगरपालिका र निजी साझेदारीमा सञ्चालित सार्वजनिक शौचालय प्रयोगको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य।

पोखरामा महानगरपालिका र निजी साझेदारीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ। पोखरा महानगरपालिकाको पहलमा निजी शौचालयलाई सार्वजनिक शौचालयका रुपमा सञ्चालनमा ल्याइएको हो। पोखरा महानगरपालिका/निजी साझेदारीमा सञ्चालित सार्वजनिक शौचालय सञ्चालनको बिहीबार एक औपचारिक कार्यक्रम गरेर शुभारम्भ गरिएको छ।

पोखरा न्यूरोडस्थित सिटी स्क्वायर बैंक्यूटको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गरेर पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले शुभारम्भ कार्यक्रमको उद्घाटन गरे। योसँगै अब पोखराको बजारमा हिड्ने बटुवाले सार्वजनिक शौचालयका अभावमा शौच गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ।

यसअघि सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न बजार आएका बटुवाले शौच गर्न नपाउने अवस्था थियो। बजारमा सार्वजनिक शौचालय नहुनु, होटल तथा रेष्टुरेण्टले शौचालयमा ताल्चा लगाएर राख्ने र होटल तथा रेष्टुरेण्टमा बसेर खाएमात्र शौचालय प्रयोग गर्न दिने गर्दा बटुवालाई दिसा/पिसाब लाग्दा हैरानी खेप्नुपर्ने बाध्यता थियो। महानगरपालिका र नीजि साझेदारीमा हाल पोखरामा ३२ ठाउँमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ।

यसलाई थपेर एक सयको संख्यामा पुर्‍याउने महानगरको योजना रहेको जनाइएको छ। गत असारमा माग गरिएको आवेदनका आधारमा छनौट गरिएका ३२ ठाउँमा बिहीबारदेखि सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारतीले जानकारी दिए।

उनका अनुसार पोखराका बजारका प्रमुख ठाउँहरुमा रहेका बैंक तथा वित्तीय संस्था, होटल, रेष्टुरेण्ट, व्यापारीक प्रतिष्ठान, व्यक्तिगत भवनमा रहेका शौचालयलाई एक वर्षसम्म सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने सम्झौता भएअनुसार बिहीबारदेखि खुल्ला गरिएको छ। तोकिएका शौचालय बाटोमा हिड्ने जोकसैले प्रयोग गर्नसक्ने उनले बताए। शौचालय प्रयोग गरेवापत प्रयोगकर्ताले शुल्क तिर्नु नपर्ने उनले जानकारी दिए।

तर महानगरले भने ती शौचालयको सरसफाई र त्यसका लागि आवश्यक पर्ने सरसफाईका सामग्रीसमेत उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। यस्तै शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर–निजी साझेदारीमा सञ्चालित शौचालय एक वर्षका लागि मात्र भएको बताए। त्यसबेलासम्म महानगर आफैंले सार्वजनिक शौचालय निर्माण गरिसक्ने उनले दाबी गरे।

'हामीले महानगरको बोर्ड बैठकबाट सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरिसकेका छौं। अहिले महानगर–निजी साझेदारीमा सञ्चालित शौचालय हामी आफैंले सार्वजनिक शौचालय निर्माण नगरुञ्जेलसम्मका लागि मात्र हो’, उनले भने। उनका अनुसार महानगरका ३३ वटै वडामा प्रत्येकमा एउटा शौचालयका दरले सार्वजनिक शौचालय निर्माण गरिनेछ। 'बजार क्षेत्रमा भने आवश्यकताका आधारमा शौचालय संख्या थपिनेछ’, उनले भने।

उनले सार्वजनिक शौचालय निर्माणका लागि सूर्य नेपाल, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न प्रतिष्ठित कम्पनीलगायतले चासो देखाइरहेको तथा उनीहरुसँग छलफल भइरहेको बताए। सार्वजनिक शौचालय प्रयोग गर्न दिने सम्झौता गरेको सिटी स्क्वायर बैंक्यूटका तर्फबाट बोलेका उमेश पराजुलीले जनतालाई सहज होस् भनेर नीजि शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने सम्झौता गरेको बताए।

'जनसेवाका लागि उत्तरदायी बन्न सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्नका लागि हामीले आवेदन दिएका थियौँ। महानगरले योग्य ठानेर मौका दिएकोमा धन्यवाद’, उनले भने। उनले महानगरलाई जनताप्रति उत्तरदायी बनेर काम गर्न सो अवसरमा सुझाव दिए।

प्रकाशित: १६ भाद्र २०७९ १४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App