१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

औषधि खरिदमा खेलाची

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशिल मानिएको औषधि खरिदमा बैतडीका स्थानीय तहले खेलाची गर्दै आएका छन्।

विश्व स्वास्थ्य संगठनबाट प्रमाणित औषधिहरु नियमानुसार खरिद गर्नु पर्ने भए पनि यहाँका स्थानीय तह मापदण्ड विपरित औषधि खरिद गर्दै आएका छन्।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार स्थानीय तहहरुले नियम विपरीत औषधि खरिद गरेको देखिएको छ। स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत स्थानीय तह मनपरी गर्न थालेका हुन्। आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तहहरुले सार्वजनिक खरिद नियमावली विपरीत औषधि खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क) अनुसार औषधि खरिद गर्नुपर्ने भए पनि प्रक्रिया बेगर खरिद गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

औषधिको गुणस्तर र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित खरिद गरिएका औषधिले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भए पनि स्थानीय तहले यसमा ध्यान दिन सकेका छैनन।

सुर्नया गाउँपालिकाले प्रक्रिया बेगर ४५ लाख १३ हजारको औषधि खरिद गरेको छ भने शिवनाथ गाउँपालिकाले २० लाख ७२ हजार बराबरको औषधि खरिद गरेको छ।

यस्तै पञ्चेश्वर गाउँपालिकाले सार्वजनिक खरिद नियमावली विपरीत १७ लाख ६२ हजार ६ सय ९९ रुपैयाँको औषधि खरिद गरेको छ भने पुर्चौडी नगरपालिकाले २० लाख रुपैयाँ बढीको औषधि खरिद गरेको छ। सिगास गाउँपालिकाले १५ लाख ८५ हजार  रुपैयाँ मुल्यको औषधि प्रक्रिया बेगर खरिद गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले औषधि खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्न सुझाव दिएको छ। यस्तै तोकिएकै गुणस्तर अनुसार औषधि भए नभएको एकिन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्न समेत सुझाव दिएको छ।

प्रकाशित: १४ भाद्र २०७९ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App