८ वैशाख २०८१ शनिबार
समाज

बालेनले भने: चाहेको यत्ति हो

महानगर अभियानमा जुट्दै समर्थन

त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेर पार्किङका लागि बनाइएको भूमिगत स्थानबाट सामान हटाउँदै महानगरको टोली। तस्बिर: प्रसन गुरुङ/नागरिक

‘महानगरको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ।’ राजधानीमा रहेको एक निजी पसल सञ्चालकले आफ्नो मूलढोकामा टाँसेको सूचनामा उल्लेख भएको व्यहोरा हो यो। यही सूचनाको तस्बिर शुक्रबार समाजिक सञ्जालमा भाइरल बन्यो। यही तस्बिरलाई फेसबुकमा पोस्ट गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले लेखिहाले, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्। यो कुरालाई पहिलेदेखि नै व्यावहारिक रूपमा प्रयोग गर्नुभएकाहरूप्रति महानगर आभारी छ।’ महानगरको अहिलेको अभियानलाई साथ दिने सबैलाई धन्यवाद दिँदै बालेनले नियमको पालना गरिदिन र महानगर व्यवस्थित बनाउन सबैलाई आग्रह गरेका छन्।

महानगरको अभियान र आग्रहले सकारात्मक संकेत देखाएको छ। यसको एउटा उदाहरण शुक्रबार त्रिपुरेश्वरमा देखियो। यहाँस्थित राहदानी विभागमा जाँदा जोरपाटीका सुमन घिमिरेले बाइक राख्ने ठाउँको अभावमा पटकपटक थुप्रै दुःख बेहोरे। पार्किङको व्यवस्था नहुँदा कार्यालयछेउमै बाइक  

अड्याउँदा कतिपटक त बाइक ढलेको र एकपटक ट्राफिक जरिवानासमेत तिरेको उनको अनुभव छ। तर शुक्रबार भने घिमिरे खुसी देखिन्थे। ‘आज पनि बाइक पार्किङमा समस्या भोगियो,’ उनले भने, ‘अबदेखि चाहिँ यो समस्याबाट मुक्ति मिल्ने विश्वास लिएको छु।’

अनधिकृत रूपमा बनाइएका संरचना हटाउँदै आएका काठमाडौं महानगरको टोलीले शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेर पार्किङका लागि बनाइएको भूमिगत स्थान खाली गरेपछि घिमिरे खुसी भएका हुन्। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर पार्किङको सुविधा नहुँदा सेवाग्राहीले नजिकैको गल्लीहरूमा कष्टपूर्ण तरिकाले सवारीसाधन राख्नुपर्ने बाध्यता छ। विभागमा पार्किङ प्रयोजनका लागि बनाइएको बेसमेन्ट अब सोही प्रयोजनमा आउने भएपछि सेवाग्राहीले उक्त समस्या भोग्न नपर्ने देखिएको छ।

नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसहितको टोली शुक्रबार दिउँसो राहदानी विभाग पुगेर अनुगमन गर्नुका साथै बेसमेन्टमा राखिएका कार्यालयीय सामग्रीलगायत अन्य संरचना हटाएको छ। ‘सरकारी निकाय आफैं पनि सचेत हुनुपर्नेछ,’ काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘अब यस्तै अवस्था रहेका अन्य सरकारी तथा निजी संस्थाले अन्य प्रयोजनमा रहेका बेसमेन्ट पार्किङ प्रयोजनका लागि आफैं खालि गर्ने विश्वास लिएका छौं।’

यसैबीच राहदानी विभागले पनि शुक्रबार नै प्रेस विज्ञप्ति जारी गरेर राहदानी आवदेकहरूका लागि होल्डिङ एरियाका रूपमा रहेको बेसमेन्ट आइतबारदेखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा खुला गरिएको बताएको छ। ‘काठमाडौं महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएसँगै आइतबारदेखि यो स्थान सेवाग्राहीको पार्किङका लागि प्रयोग हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘राहदानीका लागि सकभर आवश्यक मान्छे मात्र आइदिन र विभागबाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन अनुरोध गर्छौं।’ विभागको निर्णयसँगै अबदेखि त्यो क्षेत्रमा भिडभाडमा केही कमी आउने महानगरपालिकाले जनाएको छ। ‘यहाँ मात्र होइन, हामीले बेसमेन्ट खालि  

गराएका धेरै ठाउँमा सर्वसाधारणले बिस्तारै सहजता महसुस गर्नेछन्, ‘काठमाडौं महानगरपालिकका प्रवक्ता नवीन मानन्धरले भने, ‘सर्वसाधारणका लागि सहर सहज बनाउने अभियानमा महानगर लागेको छ।’  

उनले भनेजस्तै सोमबारबाट महानगरले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानले शुक्रबारसम्ममा धेरै फड्को मारेको छ। सुरुमा नयाँ बानेश्वरबाट सुरु भएको यो अभियान काठमाडाैं मल, आरबी कम्लेक्स, दरबारमार्ग, अल्फाबिटा हुँदै राहदानी विभागसम्म आइपुगेको छ। ‘यो चर्चामा आएका स्थान मात्र हुन्,’ उनले भने, ‘बेसमेन्टमा रहेका थुप्रै पसल धमाधम हट्दै गएका छन्।’ अझ राहदानी विभागले त नक्सा पास नगरी भवन बनाएको महानगरपालिकाले बताएको छ। एक अर्बभन्दा बढीको लागतमा अघिल्लो वर्ष तयार भएको यो भवनको नक्सा पास नै नरहेको महानगरले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नहुने उल्लेख छ। यो विषयमा अध्यन टोली बनाएर प्रक्रिया अगाडि बढाउने प्रवक्ता मानन्धरले बताए।

यसैबीच काठमाडौं जिल्ला अदालतले पार्किङको विषयमा महानगरले मागेको जानकारी बुझाएको छ। महानगरका प्रवक्ता मानन्धरले अदालतबाट जवाफ आएको बताउँदै त्यसबारे सम्भवतः आइतबार बस्ने बोर्ड बैठकमा छलफल हुने बताएका छन्। त्यस्तै अदालतको ‘स्टे अर्डर’का कारण रोकिएको नर्भिकको विषयमा पनि अहिले केही भन्न नमिल्ने मानन्धरले बताए। ‘अहिलेसम्म अदालतमा पेसी चढेको छैन,’ उनले भने, ‘हामी अदालती प्रक्रिया कुरेर बसेका छौं।’  

समर्थन र विरोध  

अनधिकृत संरचना हटाउने बालेनको कार्यलाई लिएर दलका ठुला भनिएका नेताहरूले आफ्नो प्रस्ट धारणा नराखेछि दोस्रो तहका नेताहरूले यसको पक्ष र विपक्षमा बोल्न थालेका छन्। पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले मेयर साहलाई आफ्नो समर्थन रहेको बताएकी छन्। सामाजिक सञ्जालमा शुक्रबार स्टाटस लेख्दै उनले समर्थन गरेकी हुन्। ‘मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन,’ उनले लेखिकी छन्, ‘म सधैं तपाईंसँग हुनेछु। अहिले गरिरहेको काम गर्दै जानुहोला।’

उनले यसो भने पनि विगतमा उनकै सहकर्मी रहेका नेकपा एमालेका नेता महेश बस्नेतले भने बालनेकोे कार्यको विरोध गरेका छन्। ‘बालेन साहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? नेता बस्नेतले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो नक्सा पासअनुसार घर निर्माण नगरेको भएर या दोस्रो हामीसँग नजिक भएर या फोटो लिएका कारण ?’ नेता बस्नेतले पहिलो कारण हो भने जायज भएको र नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्ने बताए। उनले दोस्रो कारण हो भने त मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने बताएका छन्।

बस्नेतले विरोध गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अनधिकृत संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका हुन्। तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने थापाको भनाइ छ।

त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले महानगरको अभियानको प्रशंसा छन्। उनले बिहीबार बानेश्वरस्थित अल्फाबिटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा नक्सा देखाउँदै गरेको तस्बिर राख्दै ‘वेल डन’ ट्विट गरेका छन्।

प्रकाशित: ११ भाद्र २०७९ ००:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App