७ वैशाख २०८१ शुक्रबार
समाज

राजापुर नगरपालिकाले दिने सेवा अस्तव्यस्त

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले संवेदनशील क्षेत्रमा आफूखुसी गर्दा नगरपालिकाले दिने सेवा अस्तव्यस्त बन्दै गएको छ। तीन साता अघिदेखि स्वास्थ्यकर्मी आन्दोलित छन्।

त्यसअघि शिक्षकलाई राजनीतिक दलको आवद्धता विषयमा जानकारी गराउन प्रअलाई पत्राचार गर्दा नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत सुवेदी आलोचित भए। माओवादीको आधार क्षेत्र राजापुरमा नगर प्रमुख थारुले नेपाली काँग्रेसको उम्मेदवार भन्दा झिनो मत (४७) ले जित्दाको परिमाणको प्रतिशोध शाध्न पछिल्लो समय स्वास्थ्य कर्मचारी र शिक्षकविरुद्धमा लागिरहेको स्थानीयको आंकलन छ।

माओवादी निकट प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सहयोग लिएर संवेदनशील स्वास्थ्य र शिक्षक कर्मचारीलाई विभिन्न बहाना गरेर दुःख दिँदा दैनिक काम काज समेत अवरुद्ध हुँदै गएको गुनासो छ। समस्याको समाधान भन्दा जटिलता तर्फ उन्मुख गर्न नगर प्रमुख थारु र प्रशासकीय अधिकृत सुवेदी उद्दत देखिएको गुनासो छ। स्वास्थ्यकर्मीका माग सुनुवाई गर्ने भन्दै काठमाडौँ गएका नगर प्रमुख थारु दुई साताको काठमाडौँको बसाई सकेर फर्किएका छन्।

तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्यकर्मीको आन्दोलन वेवास्ता गर्दे हिँड्दा झन् समस्या उत्पन्न भएको छ। नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको ज्यादतिविरुद्धमा स्वास्थ्यकर्मी सामूहिक राजीनामा दिने तयारी रहेको छ। स्वास्थ्यकर्मी सामूहिक रुपमा आन्दोलन सुरु गरे यता प्रमुख प्रशासकीय अधिकृत सुवेदी कार्यालय नियमित नपुग्ने गरेको गुनासो छ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले माओवादी निकट लुम्बिनी प्रदेश कमिटिको सदस्य रहेको आरोप सुवेदीलाई लागेको छ। तर, सामाजिक सञ्जालमार्फत् कुनै पनि राजनीतिक दलको आवद्धता नभएको सुवेदीले यसअघि पुष्टि गरिसकेका छन्। तीन साताअघि कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीलाई कार्यविधि बिनै र स्वास्थ्य शाखासँग समन्वय नगरी धमाधम सरुवा निकाल्दा असन्तुष्ट स्वास्थ्य कर्मचारीको माग वेवास्ता गर्नाले लामो समयदेखि नियमित स्वास्थ्य जाँच समेत अस्तव्यस्त बन्दै गएको सेवाग्राही बताउँछन्।

नागरिकको प्रत्यक्ष सरोकार रहेको शिक्षक र स्वास्थ्य सेवामा बलजफ्ति गर्नुको मुख्य कारण माओवादीलाई सहयोग नगरेको कारण कम परिमाण ल्याएको भित्रि प्रतिशोध रहेको छ। स्वास्थ्य सेवाका करारका कर्मचारी निकालेर कार्यकर्ता र आफन्त भर्ना गर्न नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत सवेदीको भित्रि चाहानामा नियम विपरीत काम गर्ने गरेको आरोप छ।

लामो समयदेखि आन्दोलित स्वास्थ्यकर्मीको माग सुनुवाई नहुँदा नियमित दिने स्वास्थ्य सेवामा अवरोध सिर्जना भएको स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए। ‘स्वास्थ्य कर्मचारीको सरुवा भएर अस्तव्यस्त छ’ उनले भने, ‘के को रिस साध्न हो थाहा भएन।’ नगर प्रमुख थारु स्वास्थ्य कर्मचारीको माग सम्बोधन गर्ने र कार्यविधि बनाइ सरुवा गर्ने मौखिक सहमतिमा स्वास्थ्यकर्मीलाई भुक्काएर काठमाडौँ गए फर्के पनि मागको वेवास्ता गर्दा आन्दोलन लम्बिरहेको छ।

जसले गर्दा आम स्वास्थ्यकर्मीले नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत सुवेदी प्रति आश्वस्त छैनन्। स्वास्थ्य कर्मचारी माग सुनुवाई नगरेर नगरपालिका प्रशासनले विभिन्न सुत्र लगाएर जागिर खाने धम्की दिने गरेको नाम नखोल्ने शर्तमा पीडित स्वास्थ्य कर्मचारीले बताए। ‘कोरोना कहरमा जिउ र धनको वास्ता नगरी हामी सेवा गर्‍यो’ एक स्वास्थ्यकर्मीले भने, ‘आफू निकट कर्मचारीलाई ढोकै अघि सरुवा गर्ने, कार्यालय सहयोगीलाई १५ कोष टाढा फाल्ने।’

यस्तै गरी विकासको कामको जिम्मा पाएका निर्माण व्यवसायी नगरपालिकाले दुःख दिइरहेको गुनासो छ। निर्माण व्यवसायीले नियमित गर्ने विकासमा समेत राजापुरमा अवरोध हुने गरेको छ। नगरपालिकाले कार्यविधि बनाउन तदारुकता नदेखाएर प्रहरी लगाएर निर्माण सामाग्री ओसार पसारमा अवरोध गर्न नगर प्रमुख थारु र प्रशासकीय अधिकृत प्रहरीलाई दबाव दिइरहेको खुलेको छ।

शिक्षक राजनीतिमा लागेको आरोप लगाउँदै राजापुर नगरपालिका भित्रका प्रअलाई शिक्षकलाई राजनितिक आवद्धता खुलाएर पठाउन प्रशासकीय अधिकृत सुवेदीले पटक पटक पत्राचार गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत सुवेदी शाखा अधिकृत हुन्। नगरपालिकामा उपसचिवको दरबन्दीको व्यवस्था भएपनि राजनीतिक पहुँचको लामा समयदेखि राजापुर नगरपालिकामा कार्यरत छन्।

स्वास्थ्यकर्मीको असन्तुष्टि विषयमा जानकारी लिन खोज्दा व्यस्त भएकाले कुरा गर्न नसक्ने नगर प्रमुख थारुले बताए। नगर प्रमुख थारुले राजापुर नगरपालिकामा बढ्दै गरेको अस्तव्यस्तताको विषयमा सम्र्पक गर्न खोज्दा कहिले फोन नउठने र कहिले व्यस्त भएको जवाफ दिने गरेका छन्।

प्रकाशित: ९ भाद्र २०७९ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App