१२ आश्विन २०७९ बुधबार
समाज

आश्रममा बिराट सन्नाटा, ‘हमर त जिनगीके दीप मुझा गेलै’

तीन दशकदेखि आश्रममा भान्से जितनी राम।

लहान नगरपालिका–१४ बस्तिपुरको खुट्टीखोलाको पश्चिम डिलमा १२ विघा क्षेत्रफलमा फैलिएको ‘आश्रम’ छ। चारैतिर रुखविरुवाले  घेरिएको आश्रमकोबीचमा कच्ची र पक्कि घरहरु छन्। 

कति घर निर्माण भैसकेका छन् भने कति निर्माणाधिन छन्। बीचमा फुसको छानो भएको दलान छ। समाजवादी नेता प्रदीप गिरिको अधिकत्तम समय यसै दलानमा राखिएको आराम कुर्सीमा सुभचिन्तकसँग विचार मन्थन गर्दै बित्थ्यो। अब यो आराम कुर्सी गिरि टोलाउँदै खाली रहनेछ। आश्रममा छाएको बिराट सन्नाटा कायमै रहनेछ।

आइतबार आश्रम पुग्दा दलानमा बाँधिएकी गाई पनि शोकमा डुबेको अनुभूति हुन्थ्यो। रुखविरुवाले भरिएको आश्रममा चराचुरुंगीको चिरबिर पनि सुनिएन। लाग्थ्यो प्रकृति पनि शोकमा डुबेको छ। र, प्रकृतिप्रेमी प्रदीपप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैछ।  

बाल्यकालदेखि गिरिकै रेखदेखमा हुर्केकी जितनी राम आश्रममा ३० वर्षदेखि मेस सम्हाल्दै आएकी छिन्। उनले प्रदीपलाई बुवा भनेर पुकार्थिन्। प्रदीपले पनि उनलाई छोरीको दर्जा दिएका थिए। सानैमा बुवा गुमाएकी जितनीको पालनपोषण प्रदीपले नै गरेका थिए। आश्रम बसाइको दौरान प्रदीपको खानकीको सम्पूर्ण जिम्मा जितनीकै हुन्थ्यो। प्रदीप पटकपटक चिया पिउन रुचाउँथे। आश्रमकै काँचो मेवा र अन्य फल खान रुचाउँथे। सबैको जोहो गर्ने जिम्मा जितनीकै हुन्थ्यो।  

बुबा(प्रदीप) आउँदा रुखविरुवा, गाईबस्तुदेखि हामी सबैको मुहार उज्यालिन्थ्यो जितनी भन्छिन्,‘सबै खुसी हुन्थ्यौं। उहाँ सबैको कुरा सन्नुहुन्थ्यो। हामी समस्या सुनाउँथ्यौं, उहाँ सामाधान गरिदिनुहन्थ्यो, उनी भन्छिन्,‘आश्रमका कामदारलाई कहिल्यै कामगर्ने सरह व्यवहार गर्नुभएन। उहाँ आफ्नो परिवारको सदस्य जस्तै सबैलाई बराबर माया गर्नुहुन्थ्यो, उनले भनिन्।’

बिरामी पर्दा तुरुन्त उपचार गराइदिनुहुन्थ्यो। दुद्य, फलफूल खान भन्नुहुन्थ्यो। ‘सानैमा बुवा गुमाएपनि उहाँले(प्रदीप)बुवा नभएको कहिल्यै महसुस हुन दिनुभएन’ डम्म भरिएको आँशु चितनीको आँखाबाट थपक्क चुहियो,‘आब हमर पालनपोषण के करतै, केकर भरोसे जिनगी जिबै(अब मेरो रेखदेख कस्ले गरिदिन्छ, मँ कस्को भरोसा जिन्दगी बाँच्नु )? हमर त जिन्गी अन्हार भ गेलै(मेरो जिन्दगी अन्धकार भैसक्यो), उनी भक्कानिन्।’

अब कसले आश्रमलाई सम्हाल्छन् ? कस्ले हामीलाई सम्हाल्छन्?  हमर त जिनगीके दिया मुझा गेलै (मेरो त जिन्दगीको दीप नै निभ्यो) उनले भनिन्,‘आब केना क जिबै हौ बाउ(अब कसरी बाँच्नु बाबु)।’

प्रदीप गिरिको निधनको खबर पाएदेखि रुँदारुँदा जितनीको आवाज बसिसकेको छ। उनी बोल्न नसक्ने भैसकेकी छिन्। बोल्यो कि खोकी लागिहाल्छ। उनी रुँदारुँदा बिरामी परिसकेकि छिन्। बिरामी अवस्थामा पनि उनी आफूलाई सम्हाल्दै आश्रमको हेरचाह गरिरहेकि छिन्। गाईबस्तुको रेखदेख देखि फूलवारी र खेत पनि अहिले उनैले हेर्दैछिन्।

बुवाको आश्रमप्रति निकै प्रेम थियो जितनी भन्छिन्,‘यहाँ आएपछि उहाँ सुकुन महसुस गर्नुहन्थ्यो। यतीसम्मकी उहाँले हामीसबैलाई राखेर भन्नुभएको थियो,‘मरेपछि मेरो दाहसंस्कार यसै आश्रममा गरिदिनु। ‘आश्रममा रहेको पाकैरको रुख मुनी मेरो दाहसंस्कार गरेर मन्दिर बनाइदिनु‘ सम्झदै जितनीले भनिन्,‘बुवाको सबै इच्छा पूरा भयो तर अन्तिम इच्छा पूरा हुन सकेन्। न हामीले उहाँको मुख हेर्न पायौं न उहाँले अफुले रोजेको स्थानमा बिलिन हुन पाउनुभयो, उनले भनिन्।’

जितनी आश्रममा दैनिकजसो १० जनाको खाना पकाउँथिन। कहिलेकाहीँ अलिक बढी जनाकालागि पनि पकाउनुपर्दा उनको जाँगर कम हुँदैन्थ्यो। तर, प्रदीप गिरिको निधनको खबर पाएदेखि उनको जाँगर मेरेको छ। चुल्हो बलेको छैन्। यस्तो दुःखद क्षण जितनीले कहिल्यै अनुभूति नरेको बताउँछिन्। मैले आफ्नो बुवा गुमाउँदा जति मन फाटेको थिएन त्यती अहिले फाटेको छ उनी भक्कानिदै भनिन्,‘मेरा लागि जन्मदिने बुवाभन्दा प्यारो प्रदीप बुवा हुनुहुन्थ्यो। उहाँको अन्तिम दर्शन नपाउँदाको दुःख जिवनभर रहन्छ।’

प्रदीपका बालसखा कुमुदरञ्जन बराल भन्छन्, ‘अन्तिम संस्कार त जन्मथलोमै हुनुपथ्र्यो। उहाँको उत्कट इच्छाको कदर सबैले गर्न सक्नुपथ्र्यो, उनले भने,‘ गरिएन, यो दुःखद हो।’

बस्तीपुरकै साहित्कार धिरेन्द्र प्रमर्षि प्रदीप गिरिलाई सम्झदै भने,‘समाजवाद उहाँको चिन्तनमा होइन, जीवनमा थियो।’ सिरहा जिल्लाकै सबैभन्दा ठूलो जमीन्दार भन्न मिल्ने सम्भ्रान्त परिवारका सदस्य प्रदीप गिरिले गाउँकै कथित पानी नचल्ने खट्टर चमारको छोरालाई पाँच दशकअघि नै भान्से राख्नुभएको थियो प्रेमर्षि भन्छन्,‘ यो काम छुआछुत विरुद्धको कुनै सर्वोच्च अन्तर्राष्ट्रिय सम्मेलनमा भाषण गर्नुभन्दा हजारौँ गुणा बढी प्रभावकारी थियो।’  

कुनै पनि चुनावी हत्कण्डा नअपनाइकनै घोर प्रतिकूल अवस्थामा पनि उहाँले चुनाव जित्नुको पछाडि उहाँको सादगी, निश्छलता, भुइँमान्छेहरूसँगको बस–उठ, इमान्दार फक्कडपन जस्ता गुणले बढी काम गरेको प्रेमर्षिको बुझाई छ। ‘उहाँ सुकिला–मुकिलाभन्दा थिचिए–मिचिएका व्यक्तिको, माटाका मानिसका नेता हुनुहुन्थ्यो, उनले भने।’

तर बस्तीपुर वरिपरिका डोम–चमार–मुसहरलगायतका पीँधका मान्छेले आफ्नो प्रिय प्रदीप बाबुको बिमारी बारे समेत राम्रोसँग थाहा पाउन सकेनन् उनी भन्छन्,‘प्रदीप दाइका लागि धित मर्नेगरी ईश्वरसँग स्वास्थ्यलाभको कामनासमेत गर्ने अवसर पाएनन् उनीहरु।’ ‘हो, उहाँको पार्थिव शरीरको अन्तिम दर्शनसम्म गर्न पाइन्छ भन्ने आस अवश्य राखेका थिए उनीहरु तर काठमाडौँ आर्यघाटमै अन्तिम संस्कार गरिएकाले उनीहरुको यो आस पनि मरेको छ, उनले भने।’

राजधानीमा देश–विदेशका मानिसले श्रद्धाञ्जलि दिन पाउने भनेर यहाँ अन्तिम संस्कार गरिएको र बस्तीपुरको आश्रममा संस्कार गर्दा सीमित घेरामा बाँधिने कुरामा प्रेमर्षि विमती राख्दै भन्छन्,‘ प्रदीप दाइ सीमितताकै विस्तृति हुनुहुन्थ्यो।’  

विचारवान देश–विदेशका शुभचिन्तकले उहाँलाई विचारकै आधारमा श्रद्धाञ्जलि दिने हो उनी भन्छन्,‘ राजधानीमा दिनभरि पार्टी कार्यालयमा राखेर भोलिपल्ट उहाँको पार्थिव शरीर बस्तीपुर लाँदा दुवै उद्देश्य पूरा हुन्थ्यो। स्वयं प्रदीप दाइकै पनि इच्छा थियो– आश्रमकै विभिन्न प्रजातिका रुख–बिरुवाकाबीच आफ्नो अन्तिम संस्कार होस् भन्ने, उनले प्रष्ट्याए।

प्रदर्शनबाट सदा टाढा रहेर प्राकृत भावमा रमेका प्रदीप दाइको अन्तिम संस्कारलाई प्रदर्शनको प्रक्रिया बनाइयो। देशबाट निष्ठाको जिन्दगी र माटोको राजनीतिलाई समूल नष्ट हुनबाट जोगाउन सबैले सुन्ने प्रदीप दाइको कुरालाई उहाँको मृत्युपछि यसरी अनसुना गरिएकोमा उनले दुःख व्यक्त गरे।

आश्रमसँग प्रदीपको गहिरो प्रेम थियो। यहाँ उनले पीँधका मानिसलाई रोजगार दिएका छन्। यहाँ ५५ वर्षीया जितनी राम झण्डै तीन दशकदेखि भान्से छिन्। सफिद मियाँ दम्पती र उनकी बुहारी पनि आश्रममै काम गर्छन्। सफिदका छोरा पनि प्रदीपसँगै बस्दै आएका थिए। ५० वर्षीय गम्भीरमान लामा २०३७ सालदेखि नै प्रदीप गिरिसँग छन्।  

भारतका जयप्रकाश नारायणसँग प्रभावित भएर गिरिले चार दशकअघि पर्ती जमिनमा रुखबिरुवा रोपेर आश्रम स्थापना गरेका थिए ।  

प्रदीप गिरिको आश्रम। तस्विरहरुः मिथिलेश /नागरिक

 

 

प्रकाशित: ५ भाद्र २०७९ २१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App