७ वैशाख २०८१ शुक्रबार
समाज

फेसबुकमा सन्देश पठाउँदै पैसा माग्दै

पोखरा महानगरपालिका–१८ आदर्शबस्तीका सुजन भण्डारी (१९) लाई शनिबार राती काका चेतनाथ भण्डारीको फेसवुकको म्यासेन्जरबाट सन्देश आयो। काकाले पठाएको सन्देशमा उल्लेख थियो–मलाई समस्या पर्‍यो, २५ हजार रुपैयाँ सापटि चाहियो।  

तर, काकाको सन्देश पाएपछि सुजनले आफूसँग पैसा नभएको जवाफ दिए। काकाले पैसा नभए ईसेवा आईडी र त्यसको पासवर्ड दिन भतिज सुजनलाई अनुरोध गरे। आफ्नो साथीसँग पैसा माग्नका लागि ईसेवा आईडी र त्यो पैसा निकाल्नका लागि त्यसको पीन चाहिने भन्दै उनले ईसेवा आईडी र पीन मागेका थिए। नभन्दै भतिज सुजनले अंकललाई ईसेवा आईडी र पीननम्बर दिए।

त्यसपछि चेतनाथको फेसवुक आईडी प्रयोग गरेर सुजनको ईसेवा आईडीमा पैसा माग्न थालियो। धेरैजनासँग पैसा मागेको सन्देश पुगेपछि नजिकका एकजना आफन्तले चेतनाथलाई के भएछ भनेर सोधपुछ। तर चेतनाथले आफूलाई त्यस्तो केही नभएको र पैसाको पनि समस्या नरहेको बताए। त्यसपछि मात्रै चेतनाथले आफ्नो फेसवुक आईडी ह्याक भएको पत्तो पाए। यता सुजनले पनि विहानपख काकालाई फोन गरेपछि मात्रै आफूले ईसेवा आईडी र पीन ह्याकरलाई दिएको मेसो पाए  उनका अनुसार आफ्नो आईडीबाट पटक–पटक गरेर एक लाख रुपैयाँ ट्रान्सफर भएको छ।

पोखरा–११ फूलबारीका कृष्ण दवाडीलाई पनि शनिबार बेलुका साथी मोतीसागर अधिकारीको अकाउण्टबाट म्यासेन्जरमा एउटा म्यासेज आयो। म्यासेजमा आईतबार विहान एउटा जुम मिटिङ भएकाले त्यो आईडीमा जोडिन आग्रह गरे। त्यसपछि उनले जुम आईडीको लिंक एकपटक खोलेर हेर्न र त्यो फेरी आफूलाई फरवार्ड गरिदिन आग्रह गरे। साथीले भनेपछि दवाडीले पनि त्यो म्यासेज अधिकारीलाई फरवार्ड गरिदिए। त्यहि फरवार्ड गरेको लिङ्क प्रयोग गरेर दवाडीको फेसवुक ह्याक गरेर दर्जनौं व्यक्तिलाई आफू समस्यामा परेको भन्दै पैसा मागेको पाईएको छ। त्यसरी मागेका मध्ये माछापुच्छ«े गाउँपालिका–८ का वडाध्यक्ष तथा पर्यटन व्यवसायी राम गुरुङले २५ हजार रुपैयाँ ईसेवामा पठाइदिएको दवाडीले बताए।

भण्डारी र दवाडीको जस्तै कास्कीमा फेसवुक आईडी ह्याक गरेर ठगी गर्ने समस्या बढ्दो छ। कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले दैनिक ३–४ वटा ठगिका केस यस्तै प्रकृतिका रहेको बताए। उनका अनुसार साउनमा मात्र साईबर ठगीका २९ वटा उजुरी परेका छन्। गत वर्ष भने २ सय ९७ वटा यस्ता उजुरी परेका थिए। त्यसपछि फेसवुक ह्याक भएको १२६ वटा, फेक फेसवुक आईडी बनाएको ९६ वटा, अश्लिल म्यासेज पठाएको ३६ वटा तथा म्यासेन्जरमा पैसा मागेर ठगी गरेको ३८ वटा उजुरी परेका थिए। उनका अनुसार यसरी ठगीमा पर्ने मध्ये १२७ जना पुरुष र १७० जना महिला रहेका छन्।

यसरी हुने ठगीमा नक्कली आईडी प्रयोग हुने गरेको छ। कसैको हराएको नागरिकता, लाईसेन्स प्रयोग गरेर बैंक अकाउन्ट र ईसेवा खोल्ने र अन्यको ह्याक गरेर जम्मा गरेको रकम सो अकाउन्टमा जम्मा गर्ने गर्दछन्। त्यसपछि सो रकम भारतबाट निकालिने गरेको पाइएको प्रहरीको भनाई छ। 

जनचेतनाको अभावका कारण साईबर ठगी हुने गरेको डिएसपी तिवारीले बताए। आफ्नो म्यासेन्जरमा आएको लिङ्क अरुलाई पठाईदिने, आफ्नो बैंक अकाउन्ट, ईसेवा आईडीलगायत आफन्त तथा साथीभाईले माग्दा दिने गर्दा ठगीमा पर्नेगरेको उनको भनाई छ। ‘मान्छेले जनचेतनाको अभावमा आफ्नो आईडी, पीन, ईसेवा, अकाउन्ट दिन्छन्। त्यहि प्रयोग भएर ठगी हुने गरेको छ,’ उनले भने। उनले साईबर ठगीबाट बच्न मान्छे आफै सचेत हुनुपर्ने बताए। कम्तिमा कोहि समस्यामा परेर पैसा मागेको भए फोन गरेर कन्फर्म गरेपछि मात्रै दिने बानी बसाल्नुपर्ने उनले बताए।

नक्कली आईडी प्रयोग गरेर बैंक अकाउन्ट र ईसेवा खोलिने तथा भारतबाट पैसा निकालिने भएकाले ठगी गर्ने पक्राउ गर्न मुश्किल हुने गरेको डिएसपी तिवारीले बताए। ठगीको अनुसन्धान गर्दैजाँदा अन्तिममा मजदुरी गर्नेहरु जो ठगीमा संलग्न नभएको तर उनीहरुको नागरिकता र लाईसेन्स प्रयोग भएको पाईने उनको भनाई छ। यद्दपी आफूहरुले अनुसन्धान गरेर दोषी पत्तालगाउने प्रयास जारी राखेको उनले बताए। ‘हामीले ठग पत्ता लगाउने प्रयास जारी राखेका छौं। केहिलाई पक्राउ गरेर मुद्धापनि चलाएका छौं। तर ठगिनबाट बच्न आफै सचेत हुनुपर्छ,’ उनले भने।

प्रकाशित: ५ भाद्र २०७९ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App