प्रसिद्ध तीर्थस्थल तिम्बुङ पोखरी क्षेत्रमा आउने–जाने पर्यटक तथा तीर्थालुका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खाना तथा आवास शुल्क निर्धारण गरेको छ। खाना तथा आवाससहितका शुल्कमा एकरुपता कायम गर्न गाउँ कार्यपालिकाको बैठकले सापेक्ष रुपमा मूल्य निर्धारण गर्ने निर्णय गरेको सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघा लिम्बूले जानकारी दिए।
उनका अनुसार तत्कालका लागि आवास, खाना र चियाको मूल्य निर्धारण गरिएको छ। निर्धारित मूल्य अनुसार धाम क्षेत्रदेखि अथिति गृह सम्मको क्षेत्रमा सादा खाना (दाल, भात, तरकारी) को मूल्य जनही ३ सय रुपैयाँ र चिया प्रतिकप ३० रुपैयाँ कायम गरिएको छ। अथिति गृहमा भने आवास शुल्क जनही एकसय रुपैंया तिनुपर्ने हुन्छ।
यस्तै नुनथलादेखि तावानागी–ठूलो भञ्ज्याङ–पाङ्द्वा–माबुसम्मको क्षेत्रमा भने खानाको जनही ३ सय ५० रुपैयाँ र चिया कपको ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। तिम्बुङ पोखरी क्षेत्रको अधिकांश भाग ताप्लेजुङ केही पाँचथरको क्षेत्र समेत समेटिएको छ। सिदिङ्वा गाउँपालिकाले भने वडा नं १ कालिखोलामा क्षेत्रमा तिम्बुङ पोखरी रहेको भन्दै सार्वजनिक सूचनामार्फत् नै सो क्षेत्रमा आउने–जाने पर्यटकका लागि आवास खानासहितको सेवा शुल्क निर्धारण गरेको छ।
तिम्बुङ पोखरी केही वर्षयता धार्मिक तथा प्रकृति मन पराउने पर्यटकका लागि गन्तव्य स्थल बन्न थालेको छ। तिम्बुङ पोखरी नेपाल–भारत सीमानादेखि करिब १ किलोमिटर भित्र नेपालतर्फ रहेको छ। यसको नामकरणसँग खास विशेषता पनि जोडिएको छ। लिम्बू भाषाको तिम्बकबाट अपभ्रंश भएर तिम्बुङ नाम रहन पुगेको भनाइ व्यापक रहेको छ।
यो पोखरी विशाल छ। लिम्बू भाषामा ते भनेको बन्दुक र बुङ भनेको पड्एिको आवाज भन्न अर्थ लाग्ने जानकारहरु बताउँछन्। पोखरीभित्र बेला–बेला बन्दुक पड्केजस्तो आवाज आउने गरेकाले नै यस पोखरीको नाम तिम्बुङ रहन पुगेको बताइन्छ। तिम्बुङ पोखरी समुद्र सतहबाट करिब ४ हजार ४ सय मिटरको उचाइमा रहेको छ। तिम्बुङ पोखरी क्षेत्रमा सिदिङ्वा धाम, ढङ्ढङे झरना, कालीपोखरी, हात्ती ढुङ्गालगायतका रमणीयस्थलहरु रहेका छन्।
तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनाैँ पोखरी रहेका छन्। यो क्षेत्रबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ। तिम्बुङ पोखरीप्रति आस्था राख्नेहरुले अदम्य, अद्भूतर पवित्रताको स्रोतका रूपमा लिन्छन्। यसको दर्शन तथा भ्रमणमा कुनै जात, धर्म तथा लिङ्गको रुपमा भेदभाव छैन। तर, मनमा पाप, लोभ, ईश्र्या, द्वेष तथा हिंसा गर्ने मनसाय बोकेको मान्छे गए उनीहरुका लागि भने शुभ नरहने मान्यता रहि आएको छ।
प्रकाशित: ४ भाद्र २०७९ ०९:३६ शनिबार