१२ आश्विन २०७९ बुधबार
समाज

अन्तरजातीय मिलनको सुन्दर परिवार

अशोक सिंह दम्पतीको तीन पुस्ता  तस्बिर:नागरिक

पूर्व–पश्चिम राजमार्गको निर्माणका क्रममा भारतको पटनाबाट प्राविधिक इन्जिनियरका रूपमा अशोक सिंह नेपाल आएका थिए। २०२६ सालमा नेपाल आएका सिंह लहान हुँदै धनगढीमाई नगरपालिकाको मुसहरनियाँ गाउँमा बसेका थिए।

मुसहरनियाँमा बसेका बेला सोही ठाउँकी शशीकला चौहानलाई सिंहले देखे। कसहाको मेलामा साथीभाइसँग गएका बेला सिंहले चौहानलाई देखेपछि मनमनै मन पराए ।

सिंहले चौहानलाई मन पराएको कुरा साथीभाइलाई सुनाए। सिंहले चौहानलाई मन पराए पनि विवाहको प्रस्ताव राख्न उनलाई चार वर्ष लाग्यो। २०३० सालमा सिंहले स्थानीय साथीमार्फत चौहानको परिवारसमक्ष विवाहको प्रस्ताव राखे। तर शशीकलाका बाबु रामबहादुर गौतमले सिंहको प्रस्ताव ठाडै अस्वीकार गरे। आमा चौहान थरकी भएकाले शशीकला पनि चौहान लेख्छिन्। उनका बुवाले बिहेको प्रस्ताव अस्वीकार गरे पनि सिंहले हरेस खाएनन्। उनले विवाहको प्रस्ताव पुनः शशीकलाका दाजु अशोक गौतमसँग राखे। उनले भने सिंहको प्रस्ताव स्वीकार गरे।  

त्यतिबेला अन्तरजातीय विवाह यहाँको समाजले कल्पना पनि गर्दैनथ्यो। साथीमार्फत राखेको विवाहको प्रस्तावलाई चौहानको परिवारले स्वीकार गर्दा सिंह कम्ता खुसी भएनन्। भारतीय मूलका सिंह र रैथाने चौहान (पहाडी) समुदायबीचको मागी विवाहले यस क्षेत्रमा त्यो बेला हल्लीखल्ली नै मच्चियो। विगत सम्झँदै सिंहले भने, ‘मैले पठाएको विवाह प्रस्ताव स्वीकार भएको जवाफ पत्याउन निकै गाह्रो प¥यो। कारण पहिलोपटक शशीकलाका बुवाले ठाडै अस्वीकार गरिसक्नुभएको थियो। त्यो जमानामा पनि मधेसी समाजमा उदार र आधुनिक सोच राख्ने परिवार थिए ।’

सिंह र शशीकलाबीच अन्तरजातीय मात्र नभई अन्तर सामुदायिक विवाह भएको हो। ४९ वर्षअघि यो विवाहले यस भेगमा मात्र नभई पटनासम्ममा तरंग उत्पन्न गरेको थियो। ‘जातपातको कुरा हाम्रो दिमागमै आउँदैन,’ सिंह भन्छन्, ‘२०३० सालदेखि गोलबजारमा घर बनाएर बसिरहेको छु। यहाँका सबै जातजातिसँग उत्तिकै राम्रो र घनिष्ठ सम्बन्ध छ। यो समाजमा जातीय विभेद छैन ।’

सिंह परिवारका दुई छोरा र एक छोरी छन्। एउटा छोराले तामाङ परिवारमा विवाह गरेका छन् भने अर्कोले क्षेत्री परिवारमा। छोरीले माझी परिवारमा विवाह गरेकी छन्। सिंह भन्छन्, ‘सम्धिको परिवारसँग हाम्रो सुमधुर सम्बन्ध छ। उहाँहरूको चाडपर्वमा हामी जान्छौं, हाम्रोमा उहाँहरू आउनुहुन्छ। जातीय समुदायको हिसाबले मात्र नभई सांस्कृतिक रूपमा पनि हाम्रो सम्बन्ध प्रगाढ छ। हाम्रो परिवार इन्द्रेणीजस्तै विभिन्न जातको संगम हो ।’

सिंह दम्पतीका दुई छोरा विकास र विवेक तथा एक छोरी शिखा छन्। विकासको विवाह धनुषाको तल्लो गोदार निवासी सुनिता अधिकारीसँग भएको हो। विकास र अधिकारीबीच २०६० सालमा मागी बिहे भएको सिंहले बताए। यी दुवैका छोरा सिद्धार्थ सिंह अहिले १५ वर्षमा हिँड्दैछन्। कान्छो विवेकले गोलबजार नगरपालिका डोहटियाकी सुशीला लामासँग प्रेम विवाह गरेका हुन्। उनी २०५४ सालमा सुशीलासँग प्रेम विवाहमा बाँधिएको सिंह परिवारले बतायो। ‘हाम्रो परिवारमा विभिन्न जाति, धर्म, संस्कृति मान्ने सदस्य छन्, जसले यो परिवारलाई फूलबारी, इन्द्रेणीको जस्तो सुन्दर बनाएको छ,’ सिंहले भने ।

सिंह परिवारका जेठो छोरा विकास जागिरे छन्। उनकी पत्नी सुनिता काठमाडौंमै उद्यमी छिन्। कान्छो छोरा विवेक भारतमा जागिर गर्छन्। विवेककी पत्नी सुशीला गोलबजारमा सासूससुराको सहारा बनेकी छन्। इन्द्रेणी जस्तो परिवारमा सिंह खुसी छन्। तर कहिलेकाहीं भने विगत सम्झेर उनको आँखा रसाउँछ। कारण, भारतीय सहर पटनाको रैथाने जमिनदार परिवारसँग टाढा बस्नुपर्दाको पीडा। सिंहकी पत्नी शशीकला पटनाको ससुराली घर यसरी सम्झिन्छिन्, ‘नोकरचाकर (कामदार) ले भरिएको पटना सहरको आलिसान महलमा प्रवेश गर्दा चकित परें ।’

प्रेमका लागि सुखसयल त्यागेका सिंहले असल पति र कुशल पिताको जिम्मेवारी निर्वाह गरेको शशीकलाको अनुभूति छ। भारतीय सहर पटनाको समृद्ध परिवार सिरहाको गोलबजार बस्नुको पछाडि सिंह यसो भन्छन्, ‘त्यो बेला यहाँको शान्ति, सुरक्षा र सामाजिक सद्भावले मलाई लोभ्यायो ।’ त्यो बेला गाउँका रूपमा रहेको यो ठाउँ सहरीकरणतर्फ पाइला चाल्दै थियो।  

त्यो बेला भारतको विहार राज्यमा शान्ति, सुरक्षाको अवस्था नाजुक रहेको सिंह सम्झन्छन्। सिंहले विवाहपछि पाहुना जस्तै घर जाने र एकदुई साता परिवारसँग बसेर गोलबजार फर्किने गरेको बताए। ‘जहाँ सद्भाव र शान्ति हुन्छ, त्यो समाज समृृद्ध हुन बेर लाग्दैन। परिवार पनि समाजजस्तै हो,’ सिंह भन्छन्, ‘जुन परिवारमा सद्भाव र मिलाप हुन्छ त्यो परिवारलाई समृद्ध बन्न बेर लाग्दैन ।’

गोलबजार नगर, जहाँ धेरै जातजाति, संस्कृति, धर्मका मानिसको बसोबास छ। अलगअलग भाषा, धर्म, संस्कृतिका मानिसको संगम गोलबजार सामाजिक सद्भावको हिसाबले बलियो छ। जसका कारण यहाँको सामाजिक विकास तीव्र गतिमा अघि बढ्दैछ। सिंहले भने, ‘जहाँ मिश्रित जातजाति, धर्मसंस्कृति मिलेर बसेको छ त्यो समाज तुलनात्मक रूपमा समृद्ध हुन्छ। परिवार पनि त्यस्तै हो ।’  

गोलबजार सहरसँग सिंह परिवारको सद्भाव, संस्कार, बसोबासको मात्र साइनो छैन, स्वरूपको समेत साइनो छ। अर्थात् जसरी इन्देणीको सातै रङ गोलबजारको सामाजिक संरचनामा भेटिन्छ, त्यस्तै रङ सिंह परिवारमा। गोलबजारमा मुख्यतः कपडा र सुन चाँदी किन्न धनुषाको ढल्केवरदेखि उदयपुरको कटारी र सिन्धुलीसम्मका ग्राहक ओइरिन्छन्।

व्यापारी जति मधेसी समुदायका ग्राहक र उपभोक्ता अधिकतम पहाडी समुदायका, यो गोलबजारको व्यापारिक हैसियत र परिचय हो। यहाँ जातीय सद्भावको नमुना बसोबासमा मात्र होइन, व्यापारमा पनि उस्तै छ। जसका कारण यो सहर समृद्धितर्फ उक्लँदै छ। यहाँ तामाङ, यादव, साह, महतो, क्षेत्री, बाहुन, लामा, मगर जातिको मिश्रित बसोबास छ। थरीथरीका जातिको बसोबास भएको गोलबजारमा सिंह परिवार पनि चौहान, अधिकारी, लामाको मिश्रणले इन्द्रेणीजस्तै बनेको छ ।

प्रकाशित: ४ भाद्र २०७९ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App