१९ मंसिर २०७९ सोमबार
समाज

दूरका नागरिकलाई घरदैलोमै सेवा

बागलुङ नगरपालिकाले बानपा-११ रायडाँडाको घुम्ती सेवा शिविरमा अपाङ्गता परिचय पत्र बनाउन आएका नागरिक। तस्विरः संगम/नागरिक

जिल्लाको बागलुङ नगरपालिका-११ रायडाँडा ओखलेका खगेश्वर पाध्याले आफ्नो परिवारका तीन जना शारिरीक अपाङ्गता भएका सदस्यहरुको परिचय पत्र गाउमै बनाउने मौका पाए। नेपाल सरकारले महिला विकास कार्यालय मार्फत वितरणको गरेका अपाङ्गता परिचयपत्र खिचेर नगरपालिका/गाउँपालिकाले नै परिचयपत्र वितरण गर्ने नीति बनाएपछि उनी अलमलिएर बसेका थिए। 

बागलुङ नगरपालिका कार्यालय गाउँमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गरेपछि उनको समस्या गाउँमै समाधान भएको छ। ‘घर परिवारमा हामी जम्मा चार जना छौं, दुईटा छोरा र श्रीमती अपाङ्ग छन्,’ उनले भने,‘यही परिचय पत्र पनि बागलुङ बजार पुगेर बनाउनुपर्छ भन्दा निकै अप्ठ्यारोमा परेर बसेका थियौं। अहिले गाउँमै आएर बनाईदिएपछि सजिलो भयो।’

आफै उमेरले ६७ वर्ष पार गरेका पाध्याले आफूसहित अन्य तीन जनाको पेटका लागि समेत बिहान बेलुकाका छाक जोहो गर्नु्पर्छ। त्यसैले पनि पालिका मुकाम रहेको बागलुङ बजारमा आएर सेवा लिन सजिलो छैन। ‘पहिलै नै पनि अपाङ्ग भएको श्रीमती अहिले पुरै सहारा बिना चल्न सक्दैन, दुई जना जवान छोरा दुईटै अपाङ्ग छन्। मलाई त यीनीहरु र आफ्नो लागि छाक टार्ने जोहो गर्दैमा ठिक्क छ। बजारमा पुगेर सेवा लिने त परको कुरा भयो,’ उनले भने। पाँच वर्ष अगाडिसम्म अनकन्टार रहेको रायडाँडाको अहिले बस्ती बस्तीमा मोटरबाटो पुगे पनि यात्राका लागि सहज छैन। बागलुङ नगरपालिकाले गाउँमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गरेपछि पाध्या जस्तै अन्य थुप्रै नागरिकले गाउँमै सहज सेवा पाए।

बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बागलुङ नगरका ग्रामिण वडाका नागरिकलाई वडामै पुगेर एकीकृत सेवा प्रदान गर्ने निर्णय गरेपछि त्यसको सुरुवात बानपा-११ रायडाँडाबाट गरिएको छ। ६ प्रकारका सेवाहरु गाउँमै एकै ठाउँबाट प्रदान गर्ने गरी सञ्चालन गरिएको शिविरबाट बागलुङ नगरको ‘कर्णाली’ भनेर चिनिएको रायडाँडा धरै नागरिकले सहज सेवा लिन पाए। उपभोक्ता अभिमुखीकरण तथा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, स्वास्थ्य शिविर, माटो परीक्षण, वित्तीय साक्षरता अभिमुखीकरण र बालमैत्री नगर घोषणा अनुशिक्षण कार्यक्रम एक साथ वडामै सञ्चालन गरिएको बागलुङ नगरपालिका-११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए।

‘भौगोलिक रुपमा विकट भएकाले यहाँका नागरिकलाई मुकामसम्म पुगेर सेवा लिनका लागि निकै गाह्रो छ, वडा कार्यालयमै आउनका लागि पनि अप्ठ्यारो छ,’ गौतमले भने,‘विभीन्न खालका कागजातहरु नपुग्दा उपभोक्ता समितिले पटक पटक दुःख पाउने खर्च पनि बढ्ने गरेकाले गाउँमै आएर उपभोक्तालाई प्रशिक्षित पनि गर्ने र योजना सम्झौता गरेर बैंक खाता पनि यही खोल्ने व्यवस्था मिलायौं।’ शिविरमा सञ्चालित अपाङ्गता परिचयपत्र वितरण, स्वास्थ्य शिविर र माटो परीक्षणबाट नागरिकले लाभ पाएको उनले बताए। ‘यहाँबाट बागलुङ बजार झरेर सेवा लिनु परेको भए नागरिकको ठूलो रकम खर्च हुन्थ्यो,’ उनले भने,‘नगरपालिकाले दायित्वबोध गरेर सेवा यही ल्याएपछि यहाँका नागरिकलाई ठूलो राहत भयो।’

बागलुङ नगरपालिकाले पहिलो चरण अन्तर्गत बानपा-११ रायडाँडा र बानपा-१० भकुण्डेमा घुम्ती सेवा शिविर सम्पन्न गरेको छ। शिविरमा योजना सम्झौता बैंक खाता सञ्चालन र उपभोक्तालाई अभिमुखीकरण गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रसाकिय अघिकृत पुरुषोत्तम सापकोटाले बताए। ‘उपभोक्ता समितिमा बस्नेहरुलाई कहिले कागजात नपुगेर नगरपालिकाबाट कहिले बैंकबाट काम नभई फर्किनुपर्ने समस्या हुन्थ्यो,’ उनले भने,‘अहिले सबै वडा तहमा गरिने भएपछि सजिलो भएको छ। काम कसरी गर्ने भन्ने विषयमा उपभोक्ताई अभिमुखीकरण पनि गरेका छौं।’ पहिलो दिन रायडाँमा ८ योजना सम्झौता भयो।

स्वास्थ्य शिविरबाट एक सय ४४ जनाले सेवा लिए। उनीहरुमध्ये ४३ जना महिलाको पाठेघर सम्बन्धी जाँच र उपचार गरिएको थियो। पाँच जनलाई क वर्गको रातो, १५ जनालाई ख वर्गको निलो र ६ जनालाई ग वर्गको २ जनालाई घ वर्गको गरी २८जनालाई अपाङ्गता परिचयपत्र रायडाँडामा वितरण गरिएको छ। दोस्रो दिन भकुण्डेमा सञ्चालित शिविरमा १६ योजना सम्झौता भए। स्वास्थ्य शिविरबाट एक सय ५१ जनाले सेवा लिएकोमा ६७ जनाको पाठेघर सम्बन्धी समस्याको परीक्षा गरिएकोमा दुई जनालाई आङ् खस्ने समस्या समाधानका लागि रिङ प्रेसरी लगाईएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।

 भकुण्डेमा १५ जनालाई रातो, १० जनलाई निलो र ५ जनालाई पहेंलो अपाङ्गता पचियपत्र वितरण गरियो। भकुण्डेको शिविरमा उपस्थीत हुन नसकेका भकुण्डे गलुवाका चन्द्रकला थापा र देउरालीका यामबहादुर थापालाई नगरउपप्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, अधिकृत युक्तप्रसाद सुवेदी लगायतको टोलीले घरमै पुगेर परिचय दिए। स्थानीय तह निर्माण हुँदा गाउँ गाउँमा सिंहदरबारको नारा लगाई पनि पहिलो चोटी गाउँमा सिंहदरबारको महसुस गरेको शिविरमा आएका स्थानीयले बताए। ‘गाउँ गाउँमा सिंहदरबार भन्ने सुनिन्थ्यो,’ भकुण्डेका नरबहादुर थापाले भने,‘पाँच वर्षसम्म कता थियो सिंहदरबार थापा पाईएन। अहिले गाउँमै सेवा पाउँदा बल्ल सिंहदरबार गाउँमा आएको महसुस भयो।’  

नगरपालिकाले सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट उपभोक्ता समिति, अपाङ्गता भएका व्यक्ति र महिलाहरु बढी लाभान्वित भएको नगरउप्रमुख राजु खड्का बताउँछन्। ‘घुम्ती सेवा शिविर अत्यन्तै प्रभावकारी देखियो,’ उनले भने,‘जो नागरिकले नगरको सेवामा सहज पहुँच पाएका थिएनन् उनीहरुले सेवा पाए।’ गत साउन १५ गतेको कार्यपालिका बैठकले बजार क्षेत्रमा पर्ने १ देखि ४ नम्बर वडा बाहेक अन्य १० वटा वडामा घुम्ती सेवा शिविर सञ्चालन गर्ने बागलुङ नगरपालिकाले निर्णय गरेको थियो। भदौ महिनाभरीमा बागलुङ नगरपालिकाको वडा नम्बर ५ देखि १४ सम्म सबै वडामा घुम्ती सेवा शिविर सञ्चालन हुने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए।

‘नागरिकले पाईरहेको समस्यालाई कम गर्ने उद्देश्यले बजार बाहिरका ग्रामिण वडाहरुमा गाउँमै गएर योजना सम्झौतादेखि अन्य सेवाहरु प्रदान गर्ने निर्णय गरेका हौं,’श्रेष्ठले भने, ‘यसबाट नागरिकले सहज सेवा पाउँछन् र नगरपालिकाले पनि नागरिकका समस्या नजिकबाट बुझ्ने अबसर पाउँछ।’ आफूहरु निर्वाचित भएपछि नागरिकलाई सहज र सरल सेवा दिनका लागि नगरपालिकाबाट विभिन्न अभियान सञ्चालन गर्ने काम भैरहेको नगरप्रमुख श्रेष्ठले बताए।

प्रकाशित: १ भाद्र २०७९ २०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App