१६ चैत्र २०८० शुक्रबार
समाज

वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ।

पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ। ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन्। प्रहरी वृत्त गौशालाबाट ओरालो झरेर वनकाली उद्यान हुँदै पशुपतिनाथ मूल मन्दिर छिर्ने भक्तजनलाई साउनको अन्तिम सोमबार आज दुर्गन्धले नाक थुन्न बाध्य हुनुपर्‍यो।  

राजधानीमा एक महिनाअघिदेखि नै फोहरसमेत उठ्न नसकेका बेला पशुपति क्षेत्र ढलले दुर्गन्धित बनेपछि हैजालगायत रोग फैलन सक्ने चिन्ता व्यक्त गर्छिन् चावहिलबाट दर्शनका लागि आएकी दर्शनार्थी अनुषा लामा। ढलको दुर्गन्धले कति भक्तजन त यो बाटोबाट फर्केर वैकल्पिक मार्ग प्रयोग गर्दै मन्दिर प्रवेश गरिरहेका छन्।   लामासँगै उनका दुई साथी सविना श्रेष्ठ र सपना तामाङ भने नाक थुनेर सडक पार गर्दै गरेको अवस्थामा भेटिए। साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा धेरै भीड हुने भएकाले घुमेर जाँदा दर्शन गरेर घर फर्कन ढिला हुने उनीहरुको भनाइ छ।

यस सम्बन्धमा प्रतिक्र्रिया लिनका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रवेश गर्दा कोषका पदाधिकारी र माथिल्लो तहका कर्मचारी कोही भेटिएनन्। कोष सञ्चालक परिषद् सदस्य अजुर्नप्रसाद बाँस्तोला आफैँ अध्यक्ष रहेको एउटा संस्थाको कार्यक्रममा भाग लिन गएका र अन्य कर्मचारी पनि सोही कार्यक्रममा सहभागी भएको  प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिन्छन्। वनकाली उद्यानअघिको ढलको समस्या क्रोनिक भएको उनको भनाइ छ।

साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड हुँदा पनि पशुपति क्षेत्रको व्यवस्थापनका लागि काम गर्ने कोषका कर्मचारी अर्कै कार्यक्रममा सहभागी हुँदा निःशुल्क भनिएको जुत्ता चप्पल कक्षमा समेत पैसा उठाइरहेको देखिन्थ्यो। विगतका सोमबार कोषका कर्मचारीले अनुगमन र रेखदेख गर्ने गरेकामा आज भने अर्कै कार्यक्रममा व्यस्त हुँदा भक्तजनलाई असहज भएको रामचन्द्र गुरुङ बताउछन्।

साउनको सोमबार पशुपति क्षेत्रमा हरितालिका तीज, बाला चतुर्दशी र महाशिवरात्रिमा जत्तिकै भक्तजन आउने दिन हो। अन्तिम सोमबार अन्य सोमबारभन्दा बढी भक्तजन पशुपतिनाथको दर्शनका लागि आउँछन्। भक्तजनका लागि राम्रो व्यवस्थापन नगर्दा दर्शनमा समस्या भएको भक्तजनले गुनासो गरेका छन्। साउनका यसअघिका चारैवटा सोमबार पशुपतिनाथ मन्दिर आएर दर्शन गरिसक्नुभएकी सुविज्ञा रानामगर पाँचौँ सोमबार कोषले राम्रो व्यवस्थापन नगरेको र  कोषका कर्मचारी र स्वयंसेवकले पनि विगतका सोमबार जति पशुपति क्षेत्रमा आज नदेखिएको गुनासो गर्छन्।  

कोषका सदस्यसचिव डा मिलनकुमार थापाले साउनको सोमबार परेकाले कोष सञ्चालक परिषद् सदस्यले नेतृत्व गर्नुभएको  संस्थाको कार्यक्रममा सबैलाई नजान निर्देशन दिएको जानकारी दिनुहुन्छ। वनकाली उद्यानअघिको ढलको समस्या समाधानका लागि भोलिदेखि नै काम गर्ने उनको प्रतिबद्धता छ।

घामले रोकेन भक्तजनलाई

साउनको टन्टालपुर घामले पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएका भक्तजनलाई रोकेन। साउनको पाँचौँ एवं अन्तिम सोमबार आज बिहान सवा ३ बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ। विगतका चार वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको कोषले जनाएको छ।  

साउनका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो। चौँथो र आज पाँचौँ एवं अन्तिम सोमबार भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ। भक्तजनलाई तीन वटा सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन। यसैगरी चौँथो र पाँचौँ सोमबारको टन्टलापुर घामले पनि भक्तजन डगमगाएनन्। छाता ओढेर भए पनि भगवान्लाई शुद्ध जलसहित पूजा, आराधना एवं दर्शन गर्ने धोकोले भक्तजन लाममा बसेका छन्।

साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन्। अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले ब्रत बस्ने गर्छन्। यसैकारण पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुली राससलाई जानकारी दिन्छन्।  

साउनको सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन्। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा विवाहित महिलाको मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

यसैगरी अविवाहित महिलाले सुयोग्य बर प्राप्त गर्ने विश्वास रहिआएको छ। यसै विश्वासका आधारमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ। विगतका सोमबार घर नजिकैका अन्य शिवालयमा पूजा, आराधना एवं दर्शन गरेका भक्तजन पनि आज अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमै दर्शन एवं पूजा आराधना गर्ने उद्देश्यले आएका छन्। कम्तीमा एउटा सोमबार भने पशुपतिनाथको दर्शन गर्ने चाहनाले पशुपति क्षेत्रमा धेरै भक्तजनको भीड लागेको हो।

 

देशभरका शिवालयमा भक्तजनको भीड

राजधानी एवम् देशभरका अन्य शिवालयमा पनि रातो एवम् हरियो पहिरनमा सजिएका महिला भक्तजनले भरिभराउ देखिन्छ। राजधानी भित्री सहर एवं वरिपरिका नगरपालिकाका साना, ठूला शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। ती शिवालयमा विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै पूजा, आराधना गरिरहेका छन्।  

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताउँछन्।  

घर घरमा प्राय महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजा आजा गर्छन्। यसवर्ष साउनमा पाँच वटा सोमबार परेको छ। साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको हो। पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ। विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार आज गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन्।

यसअवसरमा आज राजधानीको उत्तर पूर्वी भेगस्थित बालयन्त्रको पूजा आराधना हुने गोकर्णेश्वर महादेव मन्दिर, पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिर, डोलेश्वर महादेव मन्दिर, सन्तानेश्वर महादेव मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। यस अवसरमा वाग्मतीको मुहान क्षेत्र सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनानथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ। बोल बम यात्राको नामले चिनिने यो यात्रीलाई जल चढाउन पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोकाको व्यवस्था गरिएको कोषले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७९ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App