१६ चैत्र २०८० शुक्रबार
समाज

सप्तकोसी कटान: विद्यालयमा राखिएका बाढी पीडितहरु खसी-बाख्रा संकलन केन्द्रमा

फाइलतस्बिर

सातादिनअघि सप्तकोसीको बाँध फुटेर गाउँ पसेको बाढीले घर छाड्न बाध्य भएका बेलका नगरपालिकाका बिस्थापितहरुलाई विद्यालयबाट अन्यत्र सारिएको छ। बर्खे बिदापछि स्कुलको पठनपाठन सुरु भएकाले त्यहाँ आश्रय लिएका पीडितहरुलाई नगरपालिकाले अन्यत्र सार्ने व्यवस्था मिलाएको हो।  

कोसीको बाँध फुटेर गाउँ पस्दा डुबान र कटानले पीडित बेलका नगरपालिकाका ३, ८, ९ र २ नं. वडाबासी बिस्थापितलाई स्थानीय विद्यालयहरुमा ल्याएर राखिएको थियो। बेलका ३ को कोसी जनता माध्यमिक विद्यालय, ३ कै आधारभूत विद्यालय सातपत्रेमा राखिएका बिस्थापितहरुलाई बेलका ३ मै निर्माणाधीन खसी–बाख्रा संकलन केन्द्रमा सार्न थालिएको हो।  

तत्काललाई विद्यालयमा बसोबास गराइएका उनीहरुलाई स्कुलमा पढाई सुचारु गर्नुपर्ने भएपछि अन्यत्र सार्न विद्यालय परिवारले नगरपालिकालाई अनुरोध गरेपछि सारिएको हो। स्कुल खुल्ने भएपछि मान्छे हटाउन अनुरोध गरे अनुसार पीडितहरुलाई नगरपालिकाले अन्यत्र सुरक्षित लगेर कोठा खाली गरिदिएकाले पढाई सुचारु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले बताए। अध्यक्ष बस्नेतका अनुसार साउन १८ गतेदेखि पढाई सुचारु गर्नुपर्ने भएकाले त्यहाँ राखिएका पीडितहरुलाई नगरपालिकाले सार्दैछ।  

कक्षा १२ सम्म पठनपाठन हुदै आएको कोसी जनता माविमा विद्यार्थी संख्या अनुसार भवन अभाव भएकाले पनि बाढीपीडित राख्ने ठाउँ नभएको बस्नेतले बताए। उनले पीडितहरु राखिएकाले सोमबारसम्म कठिनले पठनपाठन गराउनु परेको तर, मंगलबारसम्ममा धेरैजसोलाई सारिसकेकाले पढाउन सहज भएको बताए। ‘झण्डै १२ सय विद्यार्थी रहेको हाम्रो स्कुलमा उसै पनि भवन र कक्षा कोठाको अभाव छ’ अध्यक्ष बस्नेतले भने ‘भएका कोठामा पनि बाढीपीडित राख्नु परेपछि पढाउनै नसक्ने भएर हटाउन नगरलाई आग्रह गरेका हौँ।’

बुधबारभित्र सबै पीडितलाई स्कुलबाट सारिसक्ने नगरपालिकाले बचन दिएको बस्नेतले बताएका छन्। भर्खंर स्कुल चलेको र बर्खायाम भएले अहिलेलाई त्यति कठिन नभए पनि सबै विद्यार्थी आउँन थालेपछि कोठा अभाव हुने बस्नेतले बताए। विद्यार्थीको चाप बढ्दै गएकाले थप भवन निर्माण गर्नुपर्ने आवश्यक्ता भए पनि सरकारले त्यसप्रति चासो नदिएको गुनासो पनि उनले व्यक्त गरे।  

बेलका नगरप्रमुख अशोक कार्कीले तत्काललाई सुरक्षित गर्न विद्यालयमा राखिएका पीडितहरुलाई वडा नं. ३ कै कन्तेचौरीस्थित ‘खसी–बाख्रा संकलन केन्द्र’मा स्थानान्तरण गरी सुरक्षित गरिएको बताए। कार्कीले स्कुलको पठनपाठन सुचारु गर्नुपर्ने भएपछि बालबालिकाको शैक्षिक अधिकार हनन हुन नदिन त्यहाँ राखिएका बाढी पीडितहरुलाई कन्तेचौरीमा निर्माणाधीन भवनमा सारिएको बताए। दुईवर्षदेखि बेलका नगरपालिकाले कन्तेचौरीमा खसी–बाख्रा संकलन केन्द्रस्थल बनाईरहेको र त्यहाँ हालसम्म ४ वटा भवन बनिसकेकाले त्यहीँ उनीहरुलाई सुरक्षित गरिएको कार्कीले बताए। कोसी माविसँगै सातपत्रेस्थित आधारभूत विद्यालयमा राखिएका पीडितहरुलाई पनि कन्तेचौरीमै सारिएको मेयर कार्कीले बताए। उसो त कन्तेचौरी र वडा नं. २ स्थित बान्डाँडास्थित रेडक्रस भवनमा पनि बाढीपीडितलाई राखिएको छ।  

अघिल्लो दिन मात्र घट्नास्थलको अनुगमन निरीक्षण गरेर फर्केको जिल्लास्थित बिपत व्यवस्थापन समितिसहितको सरोकारवालाहरुको टोलीले विद्यालय सुचारु हुने भएपछि कोठा खाली गर्न आग्रह गरेको थियो। टोलीमा सदस्य जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र्र फुयालले कोसी मावि र सातपत्रे आविमा राखिएका बाढीपीडितलाई अन्यत्र स्थानान्तरण गरेर विद्यालय खाली गर्न सुझाएको बताए। उनका अनुसार कोसी जमाविमा ५४ घरधुरी परिवारका ३९ बालबालिका र १ सय ३७ महिलासहित २ सय ६० जना रहेका थिए। जसमा ६० वर्षमाथिका बृद्धबृद्धा ८५, सुत्केरी ५, गर्भवति ३ र अपाङ्गता भएकाहरु ४ जना थिए।  

सातपत्रेस्थित आधारभूत विद्यालयमा १८ घरधुरी परिवारका ३५ महिलासहित ६७ जना रहेको पाइएको एसपी फुयालले बताए। त्यहाँ सुत्केरी १, बृद्धबृद्धा ४ र बालबालिका ७ जना रहेका थिए। कन्तेचौरीस्थित खसी–बाख्रा संकलन केन्द्रमा २६ महिला, ४५ पुरुष, १३ बालबालिका, १२ बृद्धबृद्धा, गर्भवति तथा सुत्केरी १–१ जना र अपाङ्गता भएका २ जनालाई राखिएको फुयालले बताएका छन्। विद्यालयमा राखिएका पीडितलाई पनि ल्याएपछि खसी–बाख्रा संकलन केन्द्रका लागि निर्मित ४ वटा भवन भरिएर केन्द्र परिसरमा टेन्ट टाँगेर बिस्थापितलाई आश्रय दिने काम भईरहेको उनले बताए।  

उता बेलका २ को बान्डाँडास्थित रेडक्रस भवनमा ११ घरधुरी परिवारका २७ महिलासहित ५० जनालाई आश्रय दिइएको छ। एसपी फुयालका अनुसार कोसी बाँध फुटेर बस्तीतर्फ बाढी पसेपछि बिस्थापित भएका बेलकाका २, ३, ८ र ९ नं. का गरी १ सय ९ परिवारका २ सय ४४ महिला, २ सय ४३ पुरुष गरी ४ सय ८७ जनालाई हाल अस्थायी बसोबास गराइएको छ। जसमा सुत्केरी ९ जना, गर्भवति ५, अपाङ्ता भएका ९, किशोरकिशोरी १ सय २७ जना, ५ वर्षमुनिका बालबालिका ६१ र ६० वर्षमाथिका १ सय ४ जना रहेका छन्।  

कतिपय बिस्थापितहरु भने पानीको सतह बढ्दै गएपछि घर, अन्नपात र चौपाया गाईबस्तु बचाउन भन्दै फर्कदै गरेका छन्। पानीको सतह घट्दै गए पनि मंगलबार दिउँसो २ बजेसम्म कोसीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार ८ सय ७२ क्युसेक रहेको कोसी व्यारेजलाई उद्धृत गर्दै एसपी फुयालले बताए। व्यारेज प्रमुख अमित यादवलाई उद्धृत गर्दै उनले बताए अनुसार ५६ मध्ये २२ वटा ढोका खुल्ला राखिएको छ।

प्रकाशित: २४ श्रावण २०७९ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App