८ वैशाख २०८१ शनिबार
समाज

नर्भिक अस्पताल र महानगरबीच जग्गा खाली गर्ने सहमति

नर्भिक अस्पताल र काठमाडौं महानगपालिकाबीच मंगलबार दिउँसो अस्पतालले लिजमा लिएको जग्गा छिटो भन्दा छिटो खाली गर्ने सहमति भएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्राविधिक तथा इन्जिनियरहरुको सल्लाह अनुसार अस्पताल र महानगरबीच भएको सहमतीमा अस्पतालले केही समय लिएर लिजमा लिएको जग्गामा भएका अक्सिजन प्लान्टलगायतका सबै पूर्वाधार हटाउने कुरा उल्लेख गरिएको जानकारी दिए।

सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा प्रयोग गरिरहेको ८ आना सरकारी जग्गामा बनाइएको टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिएका थिए। उनको निर्देशनअनुसार महानगरका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले २४ घन्टा भित्र जग्गा खाली गर्नू भनी सूचना जारी गरे।

यता नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार बिहान अस्पतालले बनाएका भौतिक संरचना २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली गर्न नपर्ने जानकारी दिएका थिए।

उनले २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै सिंहले उक्त सम्झौता सार्वजनिक गरे। ‘नर्भिक अस्पतालले खाली गर्नू भनेको जग्गामा टहराहरु बनाएर नियम अनुसार नै अक्सिजन प्लान्टदेखि बिजुली, पानी जस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ भइरहेको छ’, उनले पत्रकार सम्मेलनमा भनेका थिए।

नेपाल सरकारसँग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको भन्दै अस्पताललाई जग्गा हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर साह मंगलबार निर्देशन पालन भए नभएको हेर्न आँफै नर्भिक अस्पताल पुगेका थिए।

प्रकाशित: २४ श्रावण २०७९ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App