८ वैशाख २०८१ शनिबार
समाज

श्रीलंका टापुमा सप्तकोशीले निरन्तर कटान गर्दा वस्तीका बासीन्दा जोखिममा

सप्तकोशीले सुनसरी बराहक्षेत्र वडा नं. ६ र ९ को श्रीलंका टापुमा गरिरहेको कटान। तस्बिर: अमर/नागरिक

सप्तकोशी नदीले निरन्तर कटान गर रहँदा सुनसरी बराहक्षेत्र वडा नं. ६ श्रीलंका टापुका नोकुल मण्डलको घरको आँगनमा पुग्न अब ५० मिटर हाराहारी मात्र बाँकी छ।  सप्तकोशीको पश्चिमी भङ्गालोले निरन्तर वस्तीतर्फ कटान गरि रहँदा उनले घर पश्चिमतर्फ सार्ने तयारी गरेका छन्।  

सप्तकोशी नदीले चार दिनअघि धार परिवर्तन गरि उदयपुरको बेलकाका पाँचवटा वडाको मानववस्तीमा प्रवेश गरेको बेला सुनसरी बराहक्षेत्र श्रीलंका टापुमा पनि निरन्तर कटान गर्दा वस्तीका बासीन्दा जोखिममा छन्। पश्चिमी भङ्गालोले झन्डै दुई किलोमिटर उत्तर–दक्षिण वस्तीतर्फ कटान गरि रहेको छ। ‘एउटा सानो घर पश्चिमतर्फ सारि सके, अब अर्को पनि चाँडै नै सार्छु,’ उनले भने, ‘अब भने यो अन्तिम घर सराई हुनेछ।’ अहिले कोशीको पश्चिम भङ्गालो कुदि रहेको स्थानमा मण्डलको नम्बरी जग्गा पर्छ। त्यो जग्गा २०३६ सालताका कोशीले धार परिवर्तन गरेर बग्न थालेपछि ऐलानी जग्गा ओगटेर पश्चिमतर्फ सारे।  

‘त्यतिबेला कोशी बगेको स्थानभन्दा झन्डै दुई किलोमिटर पश्चिम सारिएको थियो। अहिले त आँगन छेउमै आई सक्यो,’ उनले भने, ‘अब पश्चिमतिर सर्ने अन्तिम विकल्प छ। अब सर्ने स्थानभन्दा अरु चाँहि सर्ने ठाउँ छैन।’ सुनसरीको बराहक्षेत्र वडा नं. ६ र ९ को आधा–आधा भागमा विभाजित भएर बनेको दुई वडामा आठ सय घरका तीन हजारभन्दा बढी जनसंख्या छ।  

मधेशको आदिवासी चन्दवंशी लगायत सबैखाले जातजाती पहाडका राई, लिम्बु, वाहुन क्षेत्री, मगरको बसोबाँस भएको वस्ती सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बिचमा अवस्थित छ। पछिल्लो समय सप्तकोशीले धार परिवर्तन गरेर उदयपुरको बेलकाका पाँचवटा वडामा प्रवेश गरेपछि भने उत्तरबाट समेत घेरिएको छ। श्रीलंका टापुका बासीन्दाको नम्बरी जग्गा अहिले सप्तकोशीको पश्चिमी भङ्गालो कुदिरहेको स्थानमा पर्छ। उनीहरुको आफ्नो नम्बरी जग्गाबाट पश्चिमतर्फको ऐलानी जग्गा जुन श्रीलंका टापुको नामले चिनिन्छ, त्यहाँ सरेका थिए। खोलाभन्दा करीव डेढ किलोमिटर पश्चिमतर्फ सरेका स्थानीय बासीन्दा फेरि सर्नैपर्ने बाध्यता सृजना भएको छ।  

‘केही समयअघि सम्म त वस्तीभन्दा पूर्व र पश्चिमबाट नसक्दा उत्तरबाट सहजै जहाँ पनि जान सकिन्थ्यो, अब त उत्तरबाट पनि घेरियौ,’ श्रीलंका टापुका घयामराज राईले भने, ‘श्रीलंका टापुका बासीन्दालाई कहिल्यै शान्ति नहुने भो।’ उनले वस्ती जोगाउन तटबन्ध बाँधि दिने पटक–पटक आश्वासन दिने गरेपनि कहिल्यै पूरा नभएको बताए।  

हिउँदमा पूर्व र पश्चिम दुवैतिरका लामालामा वलौटै बगरको बिचमा रहने र वर्खाका बेला पानीले घेरिन्छ र टापुको रुप धारणा गर्दछ। अब भने बर्खाको बेला उत्तरबाट पनि घेरिएको छ। ‘अब त हामीलाई सवैतिरबाट खोलाले खेदायो,’ अर्का स्थानीय सीताराम उरावले भने।  

श्रीलंका टापुका बासीन्दालाई कोशी पूर्व आउनभन्दा उदयपुरको बेलकामै आउँजाउँ गर्न सहज हुन्छ। त्यही भएर श्रीलंका टापुका बासीन्दालाई सम्पूर्ण व्यवस्थापन गर्ने वचन दिर्दै सुरक्षित स्थानमा बस्न उदयपुरको बेलका नगरपालिकाले आग्रह गरेको छ। 

‘हाम्रो दायित्व नागरिकहरुलाई जोगाउने हो, त्यही भएर वस्ती वस्तीमा गएर सुरक्षित स्थानमा बस्न आग्रह गर्दा पनि मानि रहेका छैनन,’ बेलका नगरपालिकाका मेयर अशोक कार्कीले भने, ‘अहिलेसम्म सप्तकोशी वस्तीमा प्रवेश गर्दा एउटा कुखुरा पनि मरेको छैन, तर स्थानीयले जुन ढंगले सुरक्षित स्थानमा बस्न अटेर गर्न थालेका छन, अब कोशीले निरन्तर कटान गर्दा बढी खतरा छ।’

पाँच दशक अघि कोशीका किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला   श्रीलंका टापु थिएन। कोशी  पूर्वी र पश्चिम भँगालो भएर बग्ने गरेकोमा अब उत्तरबाट समेत बग्न थालेकाले  बिचमा कतै पनि सजिलै आउँजाउँ गर्न नसक्ने टापु बन्न पुगेको छ।

प्रकाशित: २२ श्रावण २०७९ १६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App