१६ चैत्र २०८० शुक्रबार
समाज

पशु विज्ञ केन्द्र उदयपुरलाई अत्याधुनिक भवन

नवनिर्मित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र भवन।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले सुविधासम्पन्न भवन पाएको छ। उदयपुर र खोटाङ २ जिल्ला हेर्ने अधिकार पाएको विज्ञ केन्द्रलाई सेवाप्रवाहलाई जनमैत्री र प्रभावकारी बनाउने उदेश्यले प्रदेश सरकारको सहयोगमा ३ तले सुविधायुक्त पक्की भवन निर्माण भएको हो।

त्रियुगा नगरपालिका १० बोक्सेस्थित सरकारी कार्यालय करिडोरको साविक पशु सेवा केन्द्रस्थलमै निर्मित नयाँ भवनको बिहीबार प्रदेश कृषिमन्त्री झलकसिंह दर्लामी मगरले एक कार्यक्रमबीच उद्घाटन गरे। मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक २ करोड ८२ लाख ९० हजार १ सय ५६ रुपैँया ९ पैसाको लागत इस्टीमेट रहेको भवन निर्माण व्यवसायीहरुबीचको प्रतिस्पर्धामा ३० प्रतिशत कम (बिलो) मूल्यमै निर्माण भएको हो।

पबित्रा निर्माण सेवा गाईघाटले उक्त भवन १ करोड ९८ लाख ७७ हजार ५ सय ८२ रुपैयाँ ९ पैसामा टेण्डर हालेर समय अगावै निर्माण सम्पन्न गरेको भेटनरी तथा पशु विज्ञ केन्द्र प्रमुख डा. अजय साहले बताए। उनका अनुसार २ वर्षभित्र अर्थात ०७९ असार ७ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी ०७७ असार १२ गते सम्झौता गरेको निर्माण कम्पनीले ३ महिनाअघि गएको चैत दोस्रो साता नै भवन बनाईसकेको हो।

चैतमा निर्माण सकिएकाले वैशाखमै हस्तान्तरण गर्ने तयारी गरे पनि स्थानीयतह निर्वाचन आएपछि हस्तान्तरण हुन बाँकी भवनको मन्त्री मगरले उद्घाटन गरेसँगै कालयलाई हस्तान्तरण भएको छ। चुनाव घोषणापछि वैशाख ३० गतेको स्थानीयतह चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सोही भवनमा राखिएको थियो। अपांगमैत्री अत्याधुनिक भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, सभाकक्ष, ३ वटै तलामा पुरुष तथा महिलाका लागि फरक–फरक शौचालय, खानेपानी र कर्मचारीकक्ष रहेका छन्।

त्यस्तै माथिल्लो तलालाई कार्यालय प्रमुखको निवासमा प्रयोग गरिने छ। भवन उद्घाटन गर्दै कृषिमन्त्री मगरले सेवाग्राहीले खोजेको सेवा सहज रुपले दिनका लागि प्रदेश सरकारले कार्यालयहरुलाई भवन र भौतिक संरचनायुक्त बनाउँदै लगेको बताए। प्रदेश सरकारले जनमैत्री र सेवाग्राहीमैत्री काम गर्न हरेक कार्यालयलाई भवन, यन्त्र उपकरण र मानव जनशक्तिलाई सबल र सक्षम बनाउदै लाने नीति लिएको भन्दै उनले कर्मचारीले पनि समयानुकल सेवा सहज गर्दै लानुपर्नेमा जोड दिए।

नेपाल कृषि र पशुमा निर्भर मुलुक भएकाले विज्ञ केन्द्रले यसमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। त्यसका लागि ग्रामिण स्तरसम्म सेवाको पहुँच पुर्‍याउँदै कृषि र पशुक्षेत्रको विकासमा समयानुकुल परिर्वतन गर्न प्रदेश सरकार लागिरहेको उनको भनाइ थियो। उदयपुर र खोटाङ दुई जिल्लाको सेवा गर्नुपर्ने भएकले जनताको काम छिटो छरितो गर्न सहयोग पुगोस् भनेर भौतिक संरचना र उपकरणहरुको जोहो गर्दै लगिएको उनले बताए।

आगामी दिनमा प्रत्येक जिल्लामा पशु विज्ञ सेवा सञ्चालन गर्ने गरी सरकारले योजना ल्याउने तयारी गरिरहेको मगरको भनाई थियो। १ नं. प्रदेश भौगोलिक विकटताले भरिएको हुनाले चुस्त र प्रभावकारी सेवा प्रदान गर्ने नीति अवलम्बन गर्न मातहतका सबै कर्मचारीलाई निर्देशन दिदै मन्त्री मगरले सेवा राम्रो भए नभएकोबारे बेलाबेलामा अनुगमन गर्ने बताए।

कार्यक्रममा उदयपुर प्रदेश २ (क) का सदस्य नारायण बुर्जामगरले पशु र कृषि कार्यालय सिधै किसानसँग जोडिने बताउँदै किसानको आधारभूत मूल्य मान्यतामा शिरोधार्य गरेर काम गर्न कर्मचारीलाई आग्रह गरे। 

प्रकाशित: २१ श्रावण २०७९ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App