२३ श्रावण २०७९ सोमबार
समाज

बगर खेतीले फेरिँदै मुसहरको जीवन

फाइल तस्बिर

सधैँको उपेक्षा, अभाव र उत्पीडनको जाँतोमा पिसिँदै आएका मधेसका मुसहर अब आफ्नै मेहनतले उभिन लागेका छन्। ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने पराले झुपड बस्तीका मुसहरले पछिल्ला केही वर्षयता आफ्नै पौरख र मेहनतले आयआर्जन र सञ्चय बढाएका छन्। महोत्तरीको गौशाला नगरपालिका–८ बेलगाछीका मुसहरको मेहनत अहिले अरुको लागि दृष्टान्त बनेको छ।

कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेसा बनाउँदै आएका महोत्तरी जिल्लाका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन्। बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर अहिले ६२ घरपरिवारका मुसहरको मेहनतले हराभरा देखिएको छ। केही वर्ष पहिलेको बगरमा फलफूलका बिरुवा हुर्कदैछन्। बारीमा मौसमअनुसारका तरकारीका लहरा लहलहाएका देखिन्छन्। 'हजुर',  यसपालि वैशाखी तरकारी नै रु २० हजारको बेचिएछ', बस्तीका हेमन्ती सादा मुसहरले भने, 'घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ।' हेमन्ती नदीउकास बगरमा नगरपालिकाले उपलब्ध गराएको एक कट्ठा जग्गामा दिनरात नभनी नङ्ग्रा खियाउछन्।  चार वर्षअघि सुरु गरिएको बगर खेती कार्यक्रमले यसअघि कुपोषणले दुब्लो जस्तो देखिने  बालबालिका हरियो सागसब्जी खान थालेपछि शारीरिकरुपमा पनि हृष्टपुष्ट देखिन थालेका छन्।

हेमन्तीजस्तै बस्तीका बुद्धुु, चहेन्द्र, बिल्टु,  सौखीया, फुलो र नथुनीयाँ  सादा पनि बगरमै आफ्नो मेहनत खन्याइरहेका भेटिन्छन् । 'हजुर, यो खेतीले हाम्रो बानी पनि सुधारेछ', बगरमा  फलेको भिण्डी टिप्दै भेटिएकी फुलो सादा भन्छन्, 'पहिले बनी (मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न) गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त तरकारी बेचेर पैसा हात पर्न थालेपछि रक्सी खाएर लड्ने हाम्रो बस्तीमा भेटिन छाडेका छन्।' खेतीले आर्जन र सञ्चय गर्ने बानी बसेपछि फजुल खर्च हुन छाडेको त्यहाँका मुसहरहरू बताउँछन्।  

पहिले रक्सी खाएर मातेर लड्ने आफ्ना बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ। बगर खेती सुुरु गरेयता दुई–चार हजारको गर्जो टार्न कुनै मालिक (मुसहरले आफूले मजदुरी गर्ने अन्य समुदायकालाई मालिक भन्छन्) गुहार्नु नपरेको बुद्धु बताउछन्। आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैँचोमा बिहेवारी, मरनहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ।

नदीउकास बगरको करिब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार सङ्ख्याको आधारमा एक कट्ठादेखि तीन कट्ठासम्म उपलब्ध गराइएको छ। सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास (महोत्तरी) को सहकार्यमा २०७५ सालमा थालिएको बगर खेतीले केही वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बेलगाछी बस्तीका अन्य समुदाय बताउँछन्।

हरियो सागसब्जी र तरकारी राम्रो उब्जेपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ। अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दङ्ग छन्। 'बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ', मनकामना महिला समूह ‘ख’ मा आबद्ध पसुलिया सादा खुसी हुँदै भन्छन्, 'अब लाग्छ, हाम्रा दुःखका दिन गए, दुई-चार पैसा सबैसँग छ।'

बगर खेतीमा मुसहरलाई अभिप्रेरित गर्दै सामुदायिक विकास तथा पैरवी मञ्चले चारवटा समूह गठन गरेको छ। जसमा बस्तीका सबै घरपरिवारका महिला संगठित गरिएका छन्। समूह बैठकमा बगर खेती गरिएको बालीको अवस्था, नानीहरु विद्यालय गए/नगएकाबारे समीक्षा र समूह बचतबारे छलफल हुने गरेको छ। यस्ता बैठकमा बस्तीका गर्भवती छोरीबुहारी, सुत्केरी र ससाना नानीबारे पनि चासोपूर्वक छलफल हुने गरेको लालीगुराँस ‘क’ समूहकी पानवती सादा बताउ िछन। लालीगुराँस र मनकामना ‘क’ र ‘ख’ नाउँका चारवटा समूहमा बस्तीका सबै घरका महिला संग िठत छन्।

कृषि मजदुरी नै जीवन गुजाराको पेसा भएका मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर दुईतिर भार बनाएर काँधमा बोकिने काम) काममा अब्बल मानिन्छन्। माटोसँग खेल्नु दैनिकी नै भएका मुसहर समुदाय आफ्नो गुजाराबाहेकका अन्य सामाजिक गतिविधिमा हम्मेसी देखिँदैनन्। यद्यपि पछिल्ला दिनमा क्रमशः आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यो समुदायको पनि चासो बढ्दै जाँदा पछिल्लो पुस्ताका नानी विद्यालय जान थालेका छन्।  

बगर खेती सुुरु गरिएयता रकम सञ्चय गर्नसँगै मुसहर समुदायमा बालवालिका विद्यालय पठाउने, बिरामी हुँदा अस्पताल जाने, हरियो सागसब्जी खाने र आफ्ना आवश्यकताका कुरामा सम्बन्धित निकायमा पैरवी गर्ने  बानी बढेको बेलगाछीका अन्य समुदायका बासिन्दा बताउँछन्। मुसहर बगर खेतीमा लागेपछि बस्तीमा हुने गरेका अन्य सामाजिक गतिविधिमा सरिक हुन थालेका गौशाला–८ का बासिन्दा त्यहाँका सामाजिक, राजनीतिक कार्यकर्ता काशी महतो बताउछन्।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा रु पाँच लाख खर्चेर नदीउकास बगरलाई सम्याउने, गर्‍हा बनाउने र परिवारपिच्छे जग्गा बाँडीदिएपछि मुसहर बगर खेतीमा लागेका हुन्। अहिले नदीउकास बगरमा भाण्टा, परवल, लौका, फर्सी र अन्य तरकारीका बेला र बिरुवा मुसहरको श्रमले लर्‍हाएका छन्। ढुङ्ग्यान र बलौटे ठाउँ हराभरा भएको छ। मुसहरले सुुरु गरेका बगर खेतीलाई गौशाला नगरपालिकाले आव २०७६-७७ देखि नै सहयोग गर्दै आएको छ।

बगर खेतीमा लागेका मुसहरले आफूहरुले नङ्ग्रा खियाएको जग्गा सोनी खोलाले बर्खामा कटान गर्ने  र बालुवा थुपारेर हैरान खेलाएको गुनासो गर्ने गरेका छन्। नगरपालिकाले जग्गा सुरक्षाका लागि तटबन्धका कार्यक्रम सञ्चालन त गरेको छ, तर खोलाको शिरानमै पक्की तटबन्ध भए दिगो सुरक्षा हुने मुसहर बताउँछन्।

यसअघि नगरप्रमुख भएका शिवनाथ महतोले मुसहर समुदायको उत्थानका लागि थाल्नुभएको प्रयत्न अहिलेको नगर नेतृत्वले पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। गौशालाका यसपालि निर्वाचित नगरप्रमुख डा दीपेन्द्र महतोले बगर खेतीलाई अझ व्यवस्थित र सुरक्षित बनाउन सहयोग जारी रहने बताए।  

प्रकाशित: २१ श्रावण २०७९ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App