१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फोहोरबाट ‘राजनीति’ कसले अलग्याउने?

फोहोरको सहज व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसकेको छ। तर फोहोरमा मिसिएको ‘राजनीति’ नअलग्गिएकाले व्यवस्थापन झनै जटिल बन्दै गएको छ।

जेठ अन्तिम साता गरिएको सहमति कार्यान्वयनमा उदासीनता देखिएको भन्दै भदौ १ देखि फोहोर फाल्न नदिने बन्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिको निर्णयसँगै फोहोर व्यवस्थापनमा फेरि कालो बादल देखा परेको हो।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बन्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ देखि सधैंका लागि उपत्यकाको फोहोर त्यहाँ फाल्न नदिने घोषणा गरेसँगै यसमा फेरि राजनीति मिसिएको महसुस गरिएको छ। ‘महानगरले कुहिने र नकुहिने फोहोर अलग गराउन त सक्छ,’ सामाजिक सञ्जालमा उद्धव धिताल लेख्छन्, ‘तर फोहोरमा मिसिएको राजनीतिचाहिँ उसले कसरी अलग गराउला? रातारात भएका सहमति रातारात तोडिने रोगले फोहोरलाई नराम्रोसँग गिजोलेको उनको बुझाइ छ।

धितालको जस्तै बुझाइ छ, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको पनि। ककनी र धुनिबेंसीका प्रमुखसँग कुराकानी गरेर समस्या समाधानमा अगाडि बढेको समयमा आएको यो समाचार ‘बुझी नसक्नु’ रहेको मानन्धर बताउँछन्। ‘फोहोरमा के भइरहेको छ, बुझिसक्नु छैन,’ उनले भने, ‘जबसम्म यसको सही उपचार हुँदैन, तबसम्म समस्या बल्झिरहन्छ।’ जेठमा गरिएको सहमतिका आधारमा बजेटसमेत छुट्याएर काम अगाडि बढिरहेको समयमा अवरोध ल्याउन नहुने उनी सुनाउँछन्। लगातारको आन्दोलनका कारण लामो समय फोहोर नउठेपछि जेठको अन्तिम साता सहरी विकासमन्त्री, काठमाडौं महानगरपालिकाका मेयर र सरोकारवाला स्थानीयबीच लगातर सहमति भएको थियो।

सरकार विगतमा आफूले गरेका वाचाबाट चुकेका कारण काठमाडौं र बन्चरेडाँडाबीच फोहोरको ‘कनेक्सन’ भदौ १ गतेदेखि सधैंका लागि टुट्ने सरोकार समितिका संयोजक श्रीराम ढुंगाना बताउँछन्। गत जेठ २७ गते भएको सहमति पालनातर्फ सरकार अघि नबढेकाले आफूहरू यस्तो निर्णयमा पुग्न बाध्य भएको उनी बताउँछन्।

जेठमा भएको पहिलो सहमति सहरी विकासमन्त्री रामकुमारी  झाँक्री र काठमाडौं महानगरका मेयर बालेन्द्र साह, प्रभावित क्षेत्र धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको थियो।

त्यसैगरी अर्को सहमति जेठ २७ गते बन्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानासहितको टोलीसँग भएको थियो।

स्थानीयको माग राखेर अवरोध गर्ने कामलाई कतिपयले राजनीति भने पनि आफू त्यो मान्न तयार नभएको उनी बताउँछन्। ‘हाम्रा मागप्रति बरु अरूले राजनीति गरेका छन्,’ उनी भन्छन्, ‘हामी त स्थानीयको समस्याका लागि लडेका हौं।’ ढुंगाना त्यस क्षेत्रका नेपाली कांग्रेसका अगुवा पनि हुन्।

ढुंगानाले फोहोरमा आफूहरूले राजनीति नगरेको दाबी गरे पनि शनिबार नेपाली कांग्रेसका प्रवक्ता एवं नुवाकोटका नेता प्रकाशशर ण महतको महानगरका मेयरप्रति राखेको भनाइले यसमा बल पुर्‍याएको कतिपय अनुमान गर्छन्। महतले शनिबार मात्रै काठमाडौंका मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउने सम्झौता त गरे तर अहिले सिसडोलको अवस्था बेहाल रहेको गुनासो गरेका थिए।

नेपाल प्रेस युनियन कैलाली शाखाले नवौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई असार १४ गते बधाई दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले काठमाडौंकै मेयर साहले पनि अहिले काम गर्न नसकेको कुरा जनतासामु प्रमाणित हुन थालिसकेको सुनाए। ल्यान्डफिल साइट रहेको नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ फोहोरमा राजनीति मिसिएको स्वीकार गर्छन्। ‘फोहोरमा राजनीतिसँगै महानगरको ढिलासुस्तीले समस्या आएको छ,’ उनी भन्छन्, ‘फोहोरलाई साझा समस्याका रूपमा लिँदै यसमा राजनीति मिसिन नदिन सबै पक्ष सजग हुनु जरुरी छ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोर मैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्। साउन १४ गते नै काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका थिए। उनले फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैलाभित्रकै गिरोहले यसलाई ठुलो कुरा बनाइरहेको बताए।

के हो त समाधान?

स्थानीय तहले नै अब फोहोर मैलालाई स्रोतबाटै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको भनाइ छ। मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोर मैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको पनि बताए।

सहरी विकासमन्त्री मेटमणि चौधरीको पनि मन्त्री श्रेष्ठको जस्तै धारणा छ। उनले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन्। मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको जानकारी दिए। उनले ल्यान्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौंभित्रै मल, बिजुली, ग्यासलगायत वस्तु उत्पादन गर्ने बताए। सिसडोलवासीले आफूलाई फोहोर व्यवस्थापनको उचित काम नभए भदौबाट फोहोरको गाडी ल्यान्डफिल साइटमा जान नदिने चेतावनी दिएको समेत बताए। ‘बन्चरेडाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘अब यसको ठाउँमा फोहोरबाट मल, बिजुली, ग्यास बनाउने अर्को प्रोजेक्टको खोजी गरौं।’

प्रकाशित: २१ श्रावण २०७९ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App