coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

कालिकोटमा विश्व स्तनपान सप्ताह मनाइएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ। यसको सुरुवात विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा सन् १९९० देखि भएको हो।

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ।

स्तनपान गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो मानिन्छ। स्तनपानले बालबालिकामा लाग्ने रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ। स्तनपानले आमलाई गर्भ निरोधकको रुपमा समेत काम गर्छ। शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोतका रूपमा आमाको दूध रहेको छ।

आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता वृद्धि हुने जिल्ला अस्पताल कालिकोटका डा. रत्नबिर सुनारले बताए। आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन्। आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ।

आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्ने खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताए। यसरी शिशु आमाको दूध नियमित स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँछन्।

स्तनपानले शिशुमा इम्युनिटी पावर बढाउन एकप्रकारको खोपकै काम गर्ने विज्ञहरु बताउँछन्। स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप रहेको र शिशु जन्मेको १ घण्टा भित्रदेखि ६ महिनासम्म स्तनपान मात्रै गर्नु राम्रो हुने भएकाले यसलाई जनचेतनामूलक तरिकाले प्रचार प्रसार गरिएको बताइएको छ।

साथै शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न समेत स्तनपानले सहयोग पुग्ने आमाहरुको भनाइ छ। जिल्लाका विभिन्न स्थानीय तहमा विगतका वर्ष भन्दा हाल स्तनपान गर्नेहरुको संख्यामा वृद्वि भएको जिल्ला अस्पताल कालिकोटका तथ्यांक शाखा अधिकृत लंकबहादुर बमले बताए।

प्रकाशित: २० श्रावण २०७९ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App