coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'अझै पूरा भएन किसान नेता भीमदत्तको सपना'

६९औँ स्मृति दिवस

आज साउन १७ गते अर्थात् सहिद भीमदत्त पन्त किसानका लागि बलि चढेको दिन। भू–स्वामित्व र उपयोगका लागि बलि चढेको ६९ वर्ष पुगिसक्दा पनि पश्चिम नेपालका भीमदत्त पन्तको सपना अझै पूरा हुन सकेको छैन।

‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्दै ठालुहरुको विपक्षमा र किसान अधिकार तथा समानताका लागि लड्दा लड्दै बलि चढेका किसान नेता भीमदत्तको सपना अनुसार किसानले अहिलेसम्म जमिनको स्वामित्व पाउन सकेका छैनन्। थुप्रैपटक भूमि आयोग गठन भए पनि राजनीतिक खिचातानीका कारण भूमिहीन, सुकुमबासी, गरिब किसानले जग्गाको स्वामित्व पाउन नसकेका हुन्।

भीमदत्त पन्तले आजभन्दा ६९ वर्ष अघि किसानका बारेमा उठाएका आवाज अहिलेसम्म पनि पूरा हुन नसकेको भन्दै सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकराज पन्तले भने,‘जतिबेला पूरै देश कृषिमा आधारित थियो, त्यही बेला भीमदत्तले किसानको हक अधिकारका बारेमा उठाएको आवाज अहिलेसम्म पूरा हुन सकेको छैन।’

माटोसँग खेलिरहेका वर्गको अधिकार रक्षाका लागि भीमदत्त पन्तले त्यो बेला बोलेका कुरा अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ। उनले भने, ‘खेतीपाती गर्ने किसानको अहिले पनि २/४ कठ्ठा जमिन छ, त्यो पनि आफ्नो नाममा छैन। तर, जसले खेतीपाती गर्दैन उसैको बिघाका बिघा जमिन छन्। त्यही असमानताका विरुद्ध भीमदत्त लडेका थिए।’

भूमिको स्वामित्व र उपयोगका लागि किसान नेता पन्तले थालेका कदमहरुले हालसम्म पनि पूर्णता पाउन नसकेको बताउँदै नेपाल किसान संघका केन्द्रीय सदस्य प्रकाश देउवाले भने, ‘कतिपय किसान संघ संस्थाहरुले हालसम्म समेत भीमदत्त पन्तका नारालाई अँगालेर आन्दोनल अगाडि बढाइरहेका छन्, तर उनको त्यो सपना अहिलेसम्म पूरा हुन सकेको छैन।’

थुप्रै पटक भूमि आयोग गठन भए पनि त्यसले समयमै काम गर्न नसक्दा किसान अहिलेसम्म जमिनको मालिक हुन नसकेको उनले बताए। ‘वास्तविक किसानसँग थोरै जमिन छ, तर त्यो जमिनको स्वामित्व छैन,’ उनले भने, ‘यसका लागि सरकारले समयमै गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व लिएको अढाइ महिनामै राष्ट्रिय भूमि आयोग गठन गरेर ७७ वटै जिल्लामा काम अगाडि बढाएको बताउँदै राष्ट्रिय भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले भने, ‘भूमिहीन किसानका लागि थुप्रैपटक निवेदन संकलन भए पनि यसपटक भने काम सुरु भइरहेको छ।’

यसअघि २०५७ सालमा पनि भूमिहीन किसानका लागि भनेर जग्गा नापजाँचको काम गरिएको बताउँदै उनले भने, ‘यसपालि भने हामीले कैलालीका सवा लाख भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जासहितको जग्गा वितरण गर्दैछौँ।’

नेपाली किसान आन्दोलनका महान सहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका कोखबाट वि.स. १९८३ मंसिर १० गते जन्मेका हुन्। उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाई स्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो।

पन्त सामन्ति संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने महान व्यक्ति पनि थिए। पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोेही नाम हो।

उनले ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो–यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए। किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। वि.स.२०७२ फागुन १९ गते सरकारले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो।

प्रकाशित: १७ श्रावण २०७९ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App