coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खेताला चालकको भरमा धादिङको शव वाहन

धादिङ अस्पतालले संचालन गर्दै आएको शव वाहन। तस्बिर: शंकर/नागरिक

धादिङ अस्पतालको शव वाहन दुई वर्षदेखि खेताला चालककै भरमा छ। शव वाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव वाहन चलाउन परेको हो।  

आइतबार नीलकण्ठ–११ का एक पुरुषले झुण्डिएर आत्महत्या गरे। त्यसैदिन प्रहरीले घटनास्थलको सबै काम सक्यो। तर शव वाहन चलाउने चालक नभएकै कारण तत्काल शव उठाउन सकिएन। ५६ वर्षिय रामकृष्ण शाक्यको शव सोमबार दिउँसो पौने १ बजेमात्रै धादिङ अस्पताल ल्याइयो। त्यो पनि मृतककै आफन्तलाई चालक बनाएर।  

‘आइतबार बेलुका नै पोष्टमार्टमको लागि शव अस्पताल ल्याउन शव वाहन खोजियो, कतै पाइएन। धादिङ अस्पतालसँग शव बाहन माग्दा चालक छैन भन्नुभयो’, चालक बनेका बलराम शाक्यले भने, ‘नगर प्रहरीलाई साक्षी रोखेर बल्लतल्ल शव ल्याइयो।’ सोमबार दिउँसो ज्यामरुङबाट शव ल्याउँदा गोलाभङ्ज्याङसम्म पदम शाक्यले र त्यसपछि बलरामले शव वाहन चलाएर धादिङ अस्पताल पुर्‍याएका थिए।  

मृतकका आफन्तले नै चालक खोजेर शव वाहन चलाउनु परेको यो एउटा उदाहरण मात्रै हो। जव शव बोक्नुपर्छ अनि चालक खोजी गर्नु परेका थुप्रै घटनाहरु छन्। तर अस्पताल व्यवस्थापन समितिले चालकको चाँजो मिलाउन सकेको छैन।  

दुई वर्षदेखि कहिले अस्पतालकै एक्बुलेन्स चलाकले त कहिले मेडिकल सुरिटेन्डेन्ट चढ्ने गाडीका चालकले नै शव वाहन चलाउने गरेका छन्। एम्बुलेन्स चालक र मेसुका चालक पनि अनेकन बहानामा शव वाहन चलाउनबाट उम्किने गरेको पीडितहरु बताउँछन्।  

शव वाहन माग गर्दा अस्पताल प्रशासनले नै अनेक बहाना बनाएर टार्ने गरेको पाइएको छ। ‘शव वाहनको कुरा गर्दा सुरुमा आनाकानी गर्नुभयो, पछि थाहा भयो चालक नभएर पो त्यस्तो बहाना गर्नुभएको रहेछ’ ज्यामरुङका गणेश शाक्यले भने। कहिलेकाहीं त शव वाहन बिग्रिएको छ भनेर पनि पन्छिने गरेको पीडितहरुको गुनासो छ।

बाग्मती प्रदेश सरकारले शव वाहन दिएको करिब दुइ वर्ष भयो। अहिलेसम्म शव वाहन चलाउन चालक नियुक्त गरिएको छैन। अस्पतालका मेडिकल सुपरिटेन्डण्ट डाक्टर मधुकर दाहाल भन्छन्, ‘डेढ महिना अघिदेखि शव वाहन चालकको आवश्यकता सूचना गरियो। ८ जनाले फारम पनि भरेका छन्। तर व्यवस्थापन समिति सक्रिय नबन्दा पदपूर्ति गर्न सकिएको छैन।’

अस्पतालको शव वाहन अन्य चालकले चलाएर शव अस्पतालसम्म ल्याएको बारे आफूलाई जानकार नभएको डाक्टर दाहालले प्रतिक्रिया दिए। ‘शव वाहनको ड्राइभर छैन। अस्पतालको सेवा विस्तारको लागि म काठमाडाैं छु। कसले दियो, के गर्‍यो यस विषयमा जानकारी छैन’ उनले भने।  

बाग्मती प्रदेश सरकारले शव वाहन दिए पनि चालकको व्यवस्था नगरिदिँदा समस्या आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला पन्छिने गरेका छन्। शव वाहन चलाउन खेताला चालक खोजी गर्नुपरेको बारेपनि आफू जानकार नभएको उनले प्रतिकृया दिएका छन्। ‘अस्पतालको दुइ जना चालकमध्ये एउटा विरामी र अर्काे मेसु लिएर काठमाडौं गएको छ’, उनले भने, ‘जहाँसम्म शव वाहन आफन्तले चलाए भन्ने कुरा छ। त्यसरी पाइँदैन, नीति विपरित हो।’ सोमबार भने बाध्य भएर चालक खोजेर शव वाहन प्रयोग गरिएको उनले बताए।  

प्रदेश सरकारले शव वाहन दियो चालक दिएन भनेर पन्छिन खोज्नु अस्पताल व्यवस्थापन समितिको कमजोरी हो। आन्तरिक श्रोतबाट हुन्छ या अन्य कुनै ठाउँबाट श्रोत व्यवस्थापन गरेर शव वाहन चलाउन छुट्टै चालकको व्यवस्था गर्नुपर्ने जानकारहरु बताउँछन्।

प्रकाशित: १६ श्रावण २०७९ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App