coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मसुरिया क्षेत्रमा फेरि आइपुग्यो बाघ!

फाइल तस्बिर।

अन्तर्राष्ट्रिय जैविक मार्ग वसन्ता करिडोरको सहायक मार्ग हसुलिया–वेनौलीहुँदै मसुरिया क्षेत्रमा पाटेबाघ आइपुगेको हो। हरेक वर्ष भदौ पहिलो साता मात्रै मसुरिया क्षेत्रमा देखिने पाटेबाघ यसपालि भने एक महिना अघि नै देखिएको छ।

भारतको दुधुवा नेशनल पार्क तथा अन्तर्राष्ट्रिय जैविक मार्ग वसन्ता क्षेत्रमा बर्खे पानीको डुबानका कारण अग्लो भू–भाग र आहारा खोज्दै बाघ मसुरिया क्षेत्रमा आइपुगेको संरक्षणका क्षेत्रमा काम गरिरहेका तथा सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए।

उनले भने, ‘अन्य वर्षहरुमा पाटेबाघको आउने समय भनेको भदौ पहिलो साता हो। तर, यसपालि भने एक महिना अघि नै पाटेबाघ मसुरिया क्षेत्रमा आइपुगेको छ।’ भारतको दुधुवा नेशनल पार्क र सँगै जोडिएको अन्तर्राष्ट्रिय जैविक मार्ग बस्दै आएको बाघ त्यहाँ डुबान हुन थालेपछि ओभानो जमिन खोज्दै हरेक वर्ष मसुरिया क्षेत्रमा आउने गरेको बताउँदै उनले भने, ‘यसपालि भने त्यस क्षेत्रमा बढी डुबान भएका कारण बाघ एक महिना अघि नै ओभानो जमिन खोज्दै यहाँ आइपुगेको हुनसक्छ।’

मोहना नदी पारि रहेको मोहनपुर क्षेत्रबाट हसुलिया र धनगढी उपमहानगरपालिकाको सीमा क्षेत्रमा रहेको सहायक कोरिडोर भएर बाघ असार ३१ कैलारी गाउँपालिका–२ करमदेव सामुदायिक वन र गौरीगणेश सामुदायिक वन क्षेत्रमा रहेको प्रत्यक्षदर्शीलाई उध्रृत गर्दै सापकोटाले भने, ‘त्यपछि बाघ घुम्दै गौरीगंगा नगरपालिका–३ राजीपुर र बालुवागडाको बीचमा रहेको ठूलोवर क्षेत्रमा देखियो।’ ठूलोवर क्षेत्रमा बटुवालाई झम्टन खोजेको बताउँदै उनले भने, ‘बालुवागडाबाट राजिपुर फर्कदै गरेका दुई जना बटुवालाई बाघले झम्टन खोजेपछि उनीहरुले रुख चढेर ज्यान जोगाएका थिए।’

बाघ आएको खबर पाएपछि संरक्षणकर्मीसहितको टोली गएर अध्ययन गरेको उनले बताए। उनले भने, ‘त्यो क्षेत्रमा बाघको ठूलठूला पाइला भेटिए।’ अहिले बाघ अण्डैया–तालबन्द–राजघाट करिडोरमा रहेको उनले बताए। ‘बाघको हिँड्ने बाटो भनेकै अण्डैया–तालबन्द–राजघाट हुँदै कहिले काहीँ चिसापानीसम्म पुग्ने गर्छ,’ उनले भने, ‘बाघलाई अवरोध भएमा कहिले पुनः त्यहीबाट फर्कन्छ नभएर चिसापानीबाट राजमार्ग कटेर टीकापुर क्षेत्रहुँदै पुनः दुधुवा नेशनल पार्कमै फर्कन्छ।’

पाटेबाघ प्रायः सिकार खेल्न तथा डमरु हुर्काउन यस क्षेत्रमा पछिल्ला ३÷४ वर्ष यता नियमित आउने गरेको उनले बताए। उनले भने, ‘भदौमा आउने बाघ अण्डैया–तालबन्द हुँदै कान्द्रा–राजघाट क्षेत्रमा ८÷१० दिन बस्ने गरेको पाइएको छ। तर, अहिले आएको यो बाघ पनि अण्डैया–तालबन्द हुँदै रजेगडासम्म पुगेको छ, जसले गर्दा हामी त्यही भदौको पहिलो साता आउने बाघ यसपटक चाँडै आएको हुनसक्ने अनुमान लगाउन थालेका छौं।’

कैलालीमा बाघको मुख्य क्षेत्र बसन्ता र कञ्चनपुरको लालझाडी क्षेत्र भए पनि पछिल्लो समयमा बसन्ता क्षेत्रमा बाघको बाटोमा अवरोध आउनु र मसुरिया क्षेत्रमा वनको अवस्था सप्रिनुले पनि सहायक मार्ग हुँदै मसुरिया क्षेत्रमा पछिल्लो वर्षहरुमा बाघ टहलिन थालेको उनले बताए। पहिले घना जंगल रहेको र वसन्ता जैविक मार्गको वैकल्पिक मार्गका रुपमा रहेको मोहनपुर–मसुरिया मार्ग जोडिने सामुदायिक वनको हैसियन सप्रिएकाले यो क्षेत्रमा बाघको ‘मुभमेन्ट’ बढिरहेको उनी बताउँछन्।

‘हसुलियाहुँदै मसुरियाको जंगल भनेको बाघको पुस्तौनी बाटो पनि हो,’ उनले भने, ‘यो बाटो भएर धेरैपटक बाघ ओहोर दोहोर गरिरहेको रेकर्ड हामीसँग छ।’ यो क्षेत्रमा वर्षौदेखि बाघ रहेको बताउँदै उनले भने, ‘मसुरिया क्षेत्रमा वर्षौदेखि बाघ बसोबास गर्दै आएको भए पनि बीचमा जंगल मासिँदा बाघ आउन छाडे पनि पछिल्लो समयमा यो क्षेत्रमा जंगलको हैसियत सप्रिदै जाँदा पुनः बाघ लयमा फर्कन थालेका छन्।’

वसन्ताको सहायक जैविक मार्गका रुपमा रहेको मसुरिया क्षेत्रमा मुख्यगरी तीन ठाउँमा बाघको बसोबास क्षेत्र रहेको बताउँदै उनले भने, ‘चुरेसँग जोडिएको राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अण्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको भए पनि वनको अवस्था बिग्रिएसँगै बाघ केही समयका लागि बाहिरिएको थियो। अहिले पुनः फर्किएको छ।’

चोरी सिकारीले बाघलाई केही असुरक्षा हुने भए पनि संरक्षणकर्मी र सामुदायिक वनले समुदायमा जनचेतना जगाउँदा बाघलाई केही हदसम्म सुरक्षित वासस्थान तथा विचरण गर्ने स्थान सामुदायिक वनहरु बनेको उनको भनाइ छ। भारतको दुधुवा नेशनल पार्कतिर बाघको संख्या बढ्नु तथा आहाराको खोजीमा बाघ बसन्ता कोरिडोरको सहायक मार्गका रुपमा रहेको वरपरका सामुदायिक वन हुँदै मसुरिया क्षेत्रमा आउने गरेको विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले बताए।

उनले भने, ‘कैलाली पुस्तौदेखि बाघको बासस्थान रहेको र केही वर्षदेखि वन अतिक्रमणसँग जनघनत्व बढ्न थालेपछि असुरक्षित बनेका बाघ पुनः सामुदायिक वनले जंगलको अवस्था सुधारेका कारण सुरक्षित बासस्थानको खोजीमा बाघ निकुञ्ज बाहिरको सामुदायिक वनहरुमा देखिन थालेका छन्।’ सुदूरपश्चिम प्रदेशमा भने अहिले १९ वटा बाघ रहेका छन्

 सन् २०१८ को बाघ गणनाअनुसार सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा बाघ रहेका छन् भन्े दुई वटा बाघ लालझाडी र वसन्ता जैविक मार्ग तथा आसपासका सामुदायिक वनमा देखिने गरेका थिए। पछिल्लो समयमा बाघको संख्यामा वृद्धि भएको हुनसक्ने आँकलन गरिए पनि बाघ गणना (२०२२)को परिणाम भने आइसकेको छैन।

प्रकाशित: २ श्रावण २०७९ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App