१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरका ९ सय ५० परिवारले गाउँ ब्लकको लालपुर्जा पाउँदै

गाउँ ब्लकको जमिनको लालपुर्जा वितरण गर्दै मेयर बस्नेत र उपमेयर राई।

नापी कार्यालय उदयपुरले ‘गाउँ ब्लक’मा बसोबास गर्दै आएका घरधुरी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्न थालेको छ। त्रियुगा नगरपालिका १३ हवाईफिल्ड, गाईघाटस्थित नापी टोली नं. १ को कार्यालयबाट पुर्जा दिन थालिएको हो।

सोमबार आयोजित एक कार्यक्रमका बीच त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा गाउँ ब्लक लालपुर्जा वितरणको औपचारिक सुरुवात गरे। जसअनुसार सोमबार मात्र २ सय ११ घरधुरीले लालपुर्जा पाएका छन्। जसमा साविक भूमरसुवा गाउँ विकास समिति भइ हाल त्रियुगा नगरपालिका ७ मा पर्ने चुहाडे क्षेत्रबासीले जमिनको स्वामित्वस्वरुप लालपुर्जा पाएका छन्।

वर्षौदेखि भोगचलन गर्दै आए पनि गाउँ ब्लकमा परेकाले जग्गाधनीहरु पुर्जाविहीन अवस्थामा थिए। उनीहरुलाई नापी कार्यायलले प्रचलित ऐन नियम अनुसार लालपुर्जा दिएको नापी शाखा उदयपुरका प्रमुख लालबाबु यादवले बताए। यादवका अनुसार २०२८ सालमा नापी गरेको निस्सा भए पनि लालपुर्जा नपाएको जमिनलाई ‘गाउँ ब्लक’को परिभाषाभित्र सरकारले राखेर थप प्रक्रिया अपनाएर पुर्जा दिने गरेको छ।

गाउँ ब्लकको जमिन वर्षौँदेखि भोगचलन गर्दै आए पनि स्वामित्व नपाइएका किसानहरु लालपुर्जा पाएपछि जग्गाधनी परिभाषाभित्र समेटिने भएका छन्। जग्गा नापी गर्ने क्रममा नापजाँच भइ नक्शांकन गरिए पनि विविध कारणले लगत नउठेर दर्ता रेकर्ड हुन छुटेको जमिनलाई गाउँ ब्लकमा राखेर अहिले पुर्जा दिइएको यादवले बताए।

नापी हुनुअघि र नापीको समयदेखि भोगचलन गर्दै आएका जमिनको लालपुर्जा पाएपछि स्थानीयले विधिवत रुपमा स्वामित्व प्राप्त गरेका छन्। वर्षौंदेखि भोगचलन गर्दै आएको तर, स्वामित्व नहुँदा पुँजी परिचालन गर्न नपाएका किसानहरु लालपुर्जा पाएपछि कारोबार गर्न खुल्ला भएको त्रियुगा ७ का वडाध्यक्ष अम्बर दनुवारले बताए।

वडाध्यक्ष दनुवारका अनुसार पुर्जा पाउनेहरुसँग न्यूनतम ५ धुरदेखि अधिकतम १ कठ्ठासमम जमिन रहेको छ। सोमबार २ गते पुर्जा वितरण कार्य थालेको नापीले आउँदो १३ गतेसम्म निरन्तरता दिने जनाएको छ। जसमा ९ सय ५० घरधुरी परिवारले जग्गाधनी पुर्जा प्राप्त गर्ने कार्यालय प्रमुख यादवले बताए। उनका अनुसार ३ गते साविक भुमरसुवा वडा नं. ५ र ६ नंं. को पुर्जा वितरण गरिने छ भने ४ गते भुमरसुवाकै १, २ र ३ गते बाँड्ने कार्यक्रम राखेको नापीले छुट सबै पुर्जाहरु ५ गते वितरण गर्नेछ।

त्यस्तै ६ गते साविक गाईघाट गाविस अन्तर्गत गाउँ ब्लक जमिनको पुर्जा वितरण गरिनेछ। ६ गते गाईघाट ५-ग र ७-ख को जमिनको पुर्जा वितरण गर्ने कार्यतालिका तय गरेको नापीले ७ देखि १० गतेसम्म साविक देउरी गाविस मातहत गाउँ ब्लकको लालपुर्जा वितरण गर्ने जनाएको छ। जसअनुसार देउरी ६ र ७ वडालाई ८ गते, ८ र ९ नं. वडालाई ९ गते र १० गते देउरीका छुट सबै पुर्जाहरु वितरण गरिनेछ।

त्यसैगरी ११ देखि १३ सम्म साविक जोगीदह गाविसमातहत गाउँ ब्लकको पुर्जा वितरण गरिनेछ। वडा नं. १, २, ३ र ४ को पुर्जा ११ गते, ५, ६, ७ र ८ का लाई १२ गते तथा ९ नं. वडाबासी किसान र छुटेका सबै पुर्जा १३ गते वितरण गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख यादवले बताए। गाउँ ब्लकको जमिनको स्वामित्व दिन सरकारले न्यूनतम शूल्क प्रति लालपुर्जा १ सय रुपैँया राजश्व तोकेको यादवले बताएका छन्।

प्रकाशित: २ श्रावण २०७९ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App