८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

हतियार खरिदमा यस्तो ‘डिल’

दीपक भट्ट।

मुलुकमा आर्थिक मन्दी बढेका बेला सरकारले नेपाल प्रहरीलाई हतियार खरिद गर्नुका पछाडि राजनीतिक दललाई समेत प्रभाव पार्ने एक व्यक्ति रहेको खुलेको छ। विभिन्न व्यापार व्यवसायमा संलग्न रहेका दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारीसमक्ष यसअघि ‘डिल’ गरेको भिडियो सार्वजनिक भएपछि अहिले पनि उनैको चलखेल रहेको खुलेको हो।

बिहीबार एक टेलिभिजनबाट प्रसारित भिडियो क्लिपमा भट्टले यसअघि हतियार खरिद गराउन सरकार, संसद्, विपक्षी दलका नेता, छिमेकी देश र आवश्यक परे अरू जोकोहीलाई मिलाउन सक्ने भन्दै डिल गरेको सुन्न सकिन्छ। तर व्यवसायी भट्टले नेपाल प्रहरीको हतियार खरिदमा आफू संलग्न नभएको बताएका छन्।

‘मेरो कुनै संलग्नता छैन, त्यो भिडियो कसरी आयो, कहाँबाट आयो, अहिले मलाई जानकारी छैन,’ भट्टले भने। त्यतिबेला प्रहरी प्रधान कार्यालयले १२ बोर प्रयोग नगर्ने भनेर रोकेको थियो। अहिले त्यही हतियार किन ल्याउन खोजियो भन्ने थाहा छैन,’ पूर्वडिआइजी मल्लले भने। नेपाल प्रहरीका एक अधिकारीका अनुसार हतियार आवश्यक रहेको कुरा कहीँबाट छिप्दैन तर ल्याउने प्रक्रिया र पारदर्शितामा प्रश्न उठेको छ।

‘स्थानीय तहको निर्वाचनमा नेपाली सेनाबाट हतियार सापटी ल्याउनुपरेको तथ्य छ तर त्यही तथ्यलाई टेकेर आधुनिक हतियार ल्याउन नचाहनुमा राजनीतिक शक्ति केन्द्रको दबाब हो भन्ने सहजै बुझ्न सकिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

हाल सरकारले ८४ करोड रूपैयाँ बजेटमा इटालीबाट १ हजार थान ९ एमएम पिस्तोल, त्यसमा लाग्ने १० लाख ३० हजार राउन्ड गोली, १२ बोरको १ हजार १ सय ५० थान सटगन र त्यसमा लाग्ने २ लाख छर्रा, ३ लाख राउन्ड रबर बुलेट (गोली), अश्रुग्यासका २५ हजार सेल खरिद गर्ने गरी प्रक्रिया अघि बढाएको छ।

आर्थिक मन्दी लागेको बेला तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले हतियार खरिदका लागि मन्त्रालयबाट रकमान्तर गरिदिएका थिए। प्रहरी प्रधान कार्यालयले आवश्यक भएकै कारण हतियार खरिद गर्न लागेको जनाएको छ।

प्रहरीले २०७१ सालपछि कुनै पनि हतियार खरिद गरेको छैन। लामो समयदेखि खरिद नगरिएकाले प्रहरीलाई हतियार आवश्यक रहेको जनाइएको छ। ‘नेपाल प्रहरीका लागि हतियार आवश्यक छ। त्यही भएर खरिद गर्न लागिएको हो,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने।

विभिन्न समारोहको सुरक्षा व्यवस्था, विभिन्न प्रहरी कार्यालयको प्रयोजनको आवश्यकता, प्रहरीको तालिम र भिड नियन्त्रण, हुलदंगा नियन्त्रण, विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि हतियार आवश्यक रहेको प्रहरीले जनाएको छ।

‘तराई आन्दोलन चलिरहेका बेला प्रहरीले पहाडी जिल्लाको प्रहरी कार्यालयहरूमा रहेका हतियारलाई ल्याएर प्रयोग गर्नुपरेको थियो, अहिले पनि नेपाल प्रहरीसँग कति हतियार छ भनेर बताउनचाहिँ मिल्दैन तर अहिलेको आवश्यकता हो। प्रहरीले त्यही आवश्यकताका आधारमा हतियार खरिद प्रक्रिया अघि बढाएको हो,’ डिआइजी राईले भने।

प्रकाशित: ३१ असार २०७९ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App