coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

३९ वर्षदेखि डुबानको चपेटामा धनगढी

फाइल तस्बिर

सामान्य झरी पर्दा पनि धनगढी डुबानमा परेका तस्बिरहरूले सामाजिक सञ्जाल भरिन्छन्। बस्तीमा पसेको बाढीले निकास नपाउँदा घरभित्रै पानी छिरेको तस्बिर र भिडियो फेसबुक, ट्विटर, टिकटकलगायतमा बग्रेल्ती भेटिन्छन्। यो ठाउँका लागि डुबान अत्यन्त जटिल समस्या बनेर रहेको छ। धनगढीको डुबान हालसालै निम्तिएको समस्या भने होइन। २०४० सालयता धनगढीले डुबानको समस्या झेल्दै आएको छ। विभिन्न संघसंस्थाले सार्वजनिक गर्ने तथ्यांकले यसलाई पुष्टि गर्छ। ३९ वर्षदेखि डुबानको समस्या बेहोरिरहेको धनगढीलाई व्यवस्थित गर्नतिर सम्बन्धित निकाय तत्पर नहुँदा समस्या बर्सेनी बल्झिँदो छ।

सुदूरपश्चिमकै प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्र धनगढी निकै लामो समयदेखि डुबानको चपेटामा पर्दै आए पनि सम्बन्धित निकायले समस्या समाधानका लागि पहलकदमी नलिँदा धनगढीवासी सास्ती भोग्न बाध्य छन्। थोरै झरी पर्दा पनि धनगढीका १९ वटै वडाका गरी ७१ वटा गाउँटोलले बाढी तथा डुबानको सामना गर्नुपर्ने बाध्यता छ। धनगढी उपमहानगरपालिकाद्वारा प्रकाशित विपद् व्यवस्थापन समाहित स्थानीय अनुकूलन कार्ययोजनामा ३९ वर्षदेखि धनगढी डुबानको चपेटामा पर्दै आएको उल्लेख छ। तथ्यांकअनुसार उपमहानगरपालिकामा विगत ३९ वर्षदेखि धनजनको क्षति हुनेगरी पटकपटक गरेर ५० पटक सानाठुला बाढीका घटनाहरू भएका छन्। मोहना नदी, घुराहा, घुरही नदी, सुकुटी, कैलाली नाला, रातोपुल नाला, बेहडी–ज्योति स्कुल नाला, जिप्रका नाला, सेतोपुल नालालगायत खोला तथा नालामा आएको बाढीले धनगढीका गाउँ तथा बस्ती डुबाउने गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले तयार पारेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९’ को प्रतिवेदनमा भनिएको छ, ‘कैलाली जिल्लामा प्रभावकारी विपद् प्रतिकार्य आवश्यक छ। तर हालसम्म विभिन्न निकायमा सामग्रीहरूको अभाव छ।’

२०४० सालदेखि हालसम्म धनगढीमा बाढीले बगाउँदा १४ जनाले ज्यान गुमाइसकेको तथ्यांकले देखाउँछ। सबैभन्दा बढी २०४२ सालमा वडा १४ मा रहेको शिवताललगायत टोलमा आएको बाढीले १२ जनाको ज्यान लिएको थियो। २०४३ सालमा वडा ४ को कैलाली नालामा आएको बाढीले एक जना र २०७४ सालमा वडा १६ को घसिटा टोलमा आएको बाढीले एक जनाको मृत्यु भएको तथ्यांकमा देखाइएको छ। 

२०४० सालयता धनगढीमा ५ हजार २५९ घर डुबानमा परे भने ११६ वटा घर तथा गोठमा बाढी र डुबानले क्षति  पुर्‍याएको तथ्यांकमा उल्लेख छ। बाढी र डुबानका कारण धनगढी ७ सय ९३ घरधुरी विस्थापित भइसकेको विपद् व्यवस्थापन समाहित स्थानीय अनुकूलन कार्ययोजनामा उल्लेख छ। यस्तै बाढीले धनगढी क्षेत्रको १ हजार ६५ बिघा खेतीयोग्य जमिन कटान गरेको तथ्यांक धनगढी उपमहानगरपालिकासँग छ।

धनगढीका केदार टोल, शिवटोल, पार्वती टोल, वसन्त टोल, शान्तिनगर, शिवताल, वैयाबेहडी, तिल्के ताल, जागृति टोल, सन्तोषी टोल, कैलाली नाला, विकास टोल, शान्तिटोल, नवदुर्गाटोल, आदर्श टोल, शिक्षानगर, ऐश्वर्या टोल, राधाकृष्ण, अनामनगरटोल, जुगेडा टोल डुबान तथा कटानको चपेटामा छन्। त्यसैगरी बंगरा गाउँ, कुडासैनी, सरस्वती, लालीगुराँस, शिवटोल, वनदेवी टोली, गैरीताल, भट्ट टोल, श्रीलंका, कालिका टोल, मुक्त कमैया शिविर, घुइँयाघाट, देवपुर टोल, घोडसुवा खोला टोल, डि गाउँ पनि त्यस्तै समस्याले ग्रसित छन्। डुबान तथा कटानको चपेटामा रहेको अन्य गाउँटोलमा तरबरिया, सुर्मीटोल, झिमुवाटोल, घसेटी टोल, सरौटा, दीपनगर टोल, दमौलिया टोल, नुक्लिपुर टोल, सैनिक बस्ती, तुल्सीबारी टोल, पूर्व ललितपुर टोल, खेदा टोल लगाएत छन्। यसरी डुबान तथा कटान भोग्दै आएका जम्माजम्मी ७१ वटा गाउँटोल धनगढी उपमहानगरपालिकामा छन्।

उपमहानगरपालिकाले विगत वर्षहरूमा झैँ यस वर्ष पनि बाढी तथा डुबान भएमा धेरै क्षति हुने आँकलन गरेको छ। विगतमा जस्तै ठुलो बाढी आए यस उपमहानगरपालिकाका ४ हजार ८ सय ६१ घरधुरीका करिब २२ हजार मानिस विस्थापित हुन सक्ने आँकलन गरिएको छ। यस किसिमको तथ्यांक बाहिर आइरहँदा पनि धनगढी उपमहानगरपालिकासहित कैलालीका १३ वटै स्थानीय तहमा खोज, उद्धार तथा राहत सामग्री अभाव रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले तयार पारेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९’ को प्रतिवेदनमा भनिएको छ, ‘कैलाली जिल्लामा प्रभावकारी विपद् प्रतिकार्य आवश्यक छ। तर हालसम्म विभिन्न निकायमा सामग्रीहरूको अभाव छ।’  

वर्षौंदेखि त्यही ठाउँमा बाढी र डुबान हुँदै आएको भए पनि त्यसको निराकरणका लागि धनगढी उपमहानगरपालिकाले अहिलेसम्म त्यस्तो ठोस कदम चाल्न नसकेको सामाजिक अगुवा श्याम महरा बताउँछन्। डुबान र कटान क्षेत्रलाई बचाउन तथा कम क्षति हुने खालका कार्यक्रम ल्याउन नसक्दा  वर्षेनी धनगढीवासीले बाढी र डुबानसँग जुध्नुपर्ने अवस्था रहेको उनले बताए। ‘धनगढी उपमहानगरपालिकाले विगत ३९ वर्षदेखि डुबान र कटानको क्षेत्र पहिचान गरे पनि त्यसलाई बचाउन दीर्घकालीन योजना ल्याउन नसक्नु गैरजिम्मेबारीपन हो,’ महराले भने, ‘दीर्घकालीन कार्यक्रम ल्याएर त्यसको न्यूनीकरणका लागि देखिनेगरी काम गरेको देखिएन।’

धनगढीमा रहेका नालाहरू वर्षेनी साँघुरिँदा वर्षात्को पानी आफ्नै बेगमा बग्न नपाएपछि डुबानको समस्या झेल्नुपरेको उनको तर्क छ। 

प्रकाशित: २९ असार २०७९ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App