८ वैशाख २०८१ शनिबार
समाज

विवाहअघि नै सिकलसेल जाँच गर्न अनिवार्य

पश्चिम तराईमा सिकलसेल रोगले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको छ। तर, पछिल्लो समयमा थारु जातिलाई मात्र नभइ अन्य समुदायका मानिसमा यो रोग देखिएको पछिल्लो खोज र अनुसन्धानले पत्ता लागेको छ।

सिकलसेल पछिल्लो समय सबै समुदायका मानिसमा बल्झिदैँ गएको तथ्य सार्वजनिक भएको छ। थारु जातिमा बढी देखिएको छ भने अन्य जातिमा कम देखिएको पाइएको छ। सिकल सेल/थालासेमीया वंशाणुगत रगत जन्य रोग हो।

बुवाआमा दुवैबाट सिकलसेलको जीन बच्चामा सर्ने भएकोले विवाह अघि नै विचार पुर्‍याए यस रोगलाई निवारण गर्न मद्दत पुग्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। ‘जिल्लामा गरिएको नमुना परीक्षणमा १७.६ प्रतिशत थारु समुदायमा देखिएको छ’ प्रमुख गिरीले भने, ‘मधेसी समुदायमा ४ प्रतिशत देखिएको छ।’

असार १७ देखि २४ गतेसम्म जिल्लामा १ हजार ९ सय ९२ जनाको सिकलसेल तथा थालेमियाको स्क्रिनिङ्ग गरिएको जसमा १ हजार ८ सय ३४ जनाको जाँच गर्दा १ सय ९९ जना सिकलसेल र ६८ जना थालेसेमिया केस देखिएको प्रमुख गिरीले प्रस्तुतिकरणमा जानकारी दिए।

यस रोगलाई निवारण गर्न रोग बढी देखिएको समुदायले विवाह गर्नु अघि जाँच गरेर मात्र गर्नुपर्ने प्रमुख गिरीको भनाइ छ। सिकलसेल रोगसँग टाइफाइड, बाथरोग, बाथज्वरो र हेपाटाइटिस रोको लक्षणहरु मिल्दो जुल्दो भएको कारण डाक्टर पनि झुक्किने गरेको जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताए।

‘यस रोगको पहिचान गर्न रगत जाँच गर्नुपर्छ’ जनस्वास्थ्य निरीक्षक चौधरीले भने,‘सिकल सेल रोग समुदायबाट  कम गर्न व्यापक जनचेतना फैलाउनु पर्छ।’ स्वयसेविका, अगुवा र जनप्रतिनिधिले आ–आफ्नो स्थानबाट यस रोग बारे समुदायमा जनचेतना फैलाउन पर्छ। वंशाणुगत रोग भएको कारणले विवाह गर्नु अघि जाँच गरी सोच विचार गरी गर्नुपर्छ।

यदि जाँचपछि विवाह गर्ने अवस्था भए गर्ने र विवाह गर्न नमिल्ने अवस्था भएमा गर्नु हुँदैन। ‘यदि बुवाआमा दुवैलाई यदि यो रोगबाट ग्रसित छन्’ जनस्वास्थ्य निरीक्षक चौधरीले भने,‘जन्मिने बच्चा यो रोगको शिकार भएर जन्मिन्छ।’

त्यसैले यस रोगलाई न्यूनिकरण गर्न विवाह अघि नै चेकजाँच गर्नुपर्ने सञ्चारकर्मीसँग सिकल सेल तथा थालेसेमिया रोग सम्बन्धी शनिबार गरिएको अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक चौधरीले पटक पटक दोहोर्‍याए।

प्रकाशित: २५ असार २०७९ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App