८ वैशाख २०८१ शनिबार
समाज

तुइनको भरमा दैनिकी, जोखिम मोल्दा सधैं डर

महाकाली नदीमा लगाइएको तुइन तर्दै व्यास क्षेत्रका स्थानीय। तस्बिरः प्रेम/नागरिक

बुधबार दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको छ। बुढाथोकी बुधबार भारत गर्वाधारबाट सामान लिएर नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएका थिए।

नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर अथवा तुइन नै चुँडिएर नदीमा खसेर बर्सेनि धेरैले ज्यान गुमाएका छन्। पुन नहुँदा दार्चुलाको उत्तर क्षेत्रका बासिन्दा जोखिम मोलेर ज्यानमारा तुइनको भर पर्नु पर्ने बाध्यता रहेको छ।

गत वर्षको साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामीको बेपत्ता भएका थिए। स्थानीयका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि जयसिंह नदीमा खसेर बेपत्ता भएका हुन्।

पुल नहुँदा तुइनको भरमा रहेका स्थानीयको बर्सेनि ज्यान जाने गरेको छ। तुइनलाई विस्थापन गरी कमसेकम झोलुङ्गे पुल नबनाउँदासम्म तुइनबाट खसेर वा तुइन चुँडिएर नदीमा बेपत्ता हुने अथवा मर्ने क्रम रोकिने देखिँदैन।

भौगोलिक रूपमा विकट व्यास गाउँपालिकाका नागरिक अहिले पनि तुइनमार्फत आवतजावत गर्न बाध्य छन्। दैनिक उपभोग्य सामग्रीको लागि यहाँका बासिन्दा तुइन तरेर भारतीय बजार जाने गरेका छन्। महाकाली नदीमा झुण्डिएको तुइनमाथि ताङ्लो अड्याएर स्थानीय बासिन्दाले वर्षौदेखि सामान ओसारपसार गर्दै आएका छन्। यस क्षेत्रका विद्यार्थी, गर्भवती महिला, वृद्धवृद्धा वा अशक्त बिरामी यही तुइनमार्फत वारपार गर्नुको विकल्प नभएको सुन्सेराका सोभानसिंह खातीले बताए।

तुइनको भरमा नदी वारपार गर्दै आएका स्थानीय सधै मनभित्र डर  बोकेर भारतीय मार्ग तथा बजारको प्रयोग गर्दै आएका छन्। सदरमुकाम खंलगा आवतजावत तथा  खाद्यान्न आपूर्तिमा  सहजता ल्याउन तुइनलाई विकल्पको रुपमा प्रयोग गरिएको भएपनि अब यो  नियती नै बनेको छ।  नेपाल भारत सीमावर्ती बजार  धारचुला आवतजावत तुइनको भरमा गरिन्छ।

फलामे तार खोला वारिपारि लगाइएको हुन्छ। त्यही तारमाथि डोरी अर्थात् स्थानीय भाषामा ताङ्लो प्रयोग गरिएको हुन्छ। घर नजिक बजार नहुँदा यहाँका स्थानीय बासिन्दा दिनहुँ त्यही तुइनको सहारामा जोखिम मोलेर वारपार गर्दै आएका छन्। प्रहरीका तथ्यांकअनुसार, नेपाल भारत सीमाको महाकाली नदीमा तुइन तर्दा २०७२ असारदेखि २०७५ असार मसान्तसम्म १५ जनाले ज्यान गुमाए भने दर्जन बढी बेपत्ता भएका छन्।

दार्चुलाको उत्तरी क्षेत्र दुम्लिङ रिठान, मालघाट मल्लो मालघाट माथिल्लो तथा वडा नं ५ को डोकट र नाजीमा अहिले पनि तुइन यथावतै छन्। भारतको धारचुलाबाट डेढ घण्टा लगाएर पुगिने मालघाटमा नेपालतिर बाटो राम्रो नहुँदा यस क्षेत्रका अधिकांश बासिन्दा तुइनको प्रयोग गर्ने गर्छन्। भारतको धारचुला छिर्ने बित्तिकै मोटर बाटोको सुविधाका कारण भारतीय बाटोमा नेपाली परनिर्भर हुनुपरेको हो। हिउँदमा नदीको बहाव कम हुँदा त जेनतेन तुइन तर्न सहज हुन्छ तर, बर्खामा भेल बढेसँगै भने यो झन् झन् कठिन हुँदै जान्छ। भारतबाट जाँदा जिल्ला सदरमुकाम खलङ्गा मोटरमा एक घण्टामै पुगिन्छ तर, स्वदेशको गोरेटो नाप्दा छ सात घण्टा लाग्दछ, त्यही सुविधाको लोभमा स्थानीय बासिन्दा जोखिम मोलेर भए पनि तुइन चढ्ने गरेका छन्।

स्थानीय उत्पादनले तीनदेखि बढीमा छ महीना पनि राम्रोसँग खान नपुग्ने यहाँका जनतालाई उतैको भर पर्नुपर्ने बाध्यता वर्षौदेखि कायम छ। वर्षौदेखि नेपाल–भारत जोड्ने पुल बनाउने सम्झौता गरे पनि ४ ठाउँमा मात्र झोलुङ्गे पुल निर्माण गरिएको छ। भारतीय बाटोबाट सहजै रुपमा जिल्ला सदरमुकाम पुगेर ओहोर दोहोर गर्न सकिने भएकाले नेपालको पैदल मार्गको प्रयोग कमैले गर्ने गर्छन्। 

भारतको बाटो प्रयोग गर्दा यहाँका स्थानीयले भारतीय सुरक्षाकर्मी एसएसबीको दिनहुँ जसो ज्याजती तथा दुव्र्यवहार समेत  सहनु अर्काे बाध्यता हो। यातायातको पहच नभएको एक दिन दुरीको त्यस क्षेत्रका बासिन्दा दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारसँग निर्भर छन। खाद्यान्नकै  लागि जोखिम मोलेर नदीमा तुइन  तर्दा बर्सेनि ज्यान गुमाउन बाध्य भएको व्यास गाउँपालिका–२, राप्लाका चक्रसिंह ह्यांकीले बताए। निर्माणाधिन दार्चुला तिंकर सडक तथा पुल निर्माण भएमा यस क्षेत्रको खाद्यान्न संकट कम हुने उनी बताउँछन्। तुइन बिस्थापनको लागि चार स्थानमा पुल बनेका छन्। बडुगाँउ, तिगरमको पुल सञ्चालनमा आए पनि मडगाँउ र मालको पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आएको  आउन सकेको छैन।

महाकालीमा वेपत्ता किशोरको खोजी गर्न गृहमन्त्रीको निर्देशन बिहानैबाट सुरक्षाकर्मी परिचालन

बुधवार व्यास गाउपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने बेला महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणले जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।  

गृहमन्त्री खाण र गृहसचिवले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई फोन मार्फत उक्त घटना बारे  चासो दिएको र  वेपत्ता किशोरको खोजीमा जिल्लाका सुरक्षा संयन्त्र प्रयोग गरेर खोजीमा खटिन निर्देशन दिएको प्रजिअ उपाध्यायले बताए। उनले घटनास्थलमा हिजोदेखि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन्। 

आज बिहानैबाट जिल्लाका ५ स्थानबाट सशस्त्र प्रहरीको डिजास्टर म्यानेजमेन्ट ट्रेनिङ प्राप्त टोलि बेपत्ता सचिनको खोजी कार्यमा लागेको उनको भनाई छ। उनका अनुसार दुम्लिङ बीओपीबाट घटनास्थलमा ९ जना, नम्बर ४४ गणबाट २० जना, दत्तु बीओपीबाट ७ जना, जौलजिवी र लाली बीओपीबाट ७ जना सशस्त्र प्रहरी र महाकाली तटीय क्षेत्रका सबै प्रहरी युनियटलाई बिहानैदेखि  महाकाली किनारमा बेपत्ताको खोजीमा खटिएका थिए।

तुइन घटनापछि भारतीय पक्षलाई पनि खोजीमा सघाउन मौखिकरुपमा अनुरोध गरिएको प्रजिअ उपाध्यायले बताए। भारतीय एसएसबीले पनि किशोरको खोजीमा सघाउने जानकारी आएको छ। उनले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए।

प्रकाशित: २३ असार २०७९ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App