१६ चैत्र २०८० शुक्रबार
समाज

धनगढीमा पानी नै पर्दैन!

धनगढी बजार। तस्बिरः पुष्पराज/नागरिक

धनगढीका अविनाश थारू कैलारी गाउँपालिकामा रहेको घरमा गएका थिए। उनी घरबाट फर्कदै गर्दा पानी परेपछि रेनकोट लगाएर निस्किए। धनगढी आउँदै गर्दा फूलबारीमा पानी नै नपरेको देखेपछि उनी तीन छक्क परे। 

केही दिनअघि यही घटनालाई उनले आफ्नो फेसबुक वालमा लेखेका थिए, ‘गाउँतिर आज घरै डुब्नेगरी वर्षा भयो। रेनकोटले पनि बचाएन। धनगढी पुग्दा त चिल्लै। हसुलियासम्म थोरै पानी परे पनि रेनकोट लगाएर फूलबारी पुग्दा मानिसहरु आफूलाई देखेर हास्न थाले। क्या मजाक। हैन, धनगढीमा पापीहरु बढे कि क्या हो? पानी नै पर्दैन त?’ तर, उनले भनेजस्तो पापीहरुका कारण पानी नपरेको भने हैन। धनगढीमा स्थानीय वायूको प्रभावका कारण वर्षा नहुने गरेको मौसमविद्हरु बताउँछन्।  

सहरी क्षेत्रमा तापक्रम बढ्ने र वाष्पीकरण धकेलिँदै जंगल तथा पहाड भएको ठाउँतिर जाने भएकाले जंगली क्षेत्र तथा पहाडको तुलनामा सहरमा कम वर्षा हुने गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। ‘धनगढीभन्दा उत्तरतर्फ जाँदै गर्दा वर्षा भएको देखिन्छ,’ उनले भने,‘सहरको वाष्पीकरण धकेलिँदै पहाड तथा जंगल भएको क्षेत्रतिर जाने र त्यहाँ रहेको तातो र चिसो हावा मिसिन गई चिस्निे प्रक्रियामा सहयोग गर्छ र वर्षात् हुन्छ, जुन सहरमा हुँदैन।’ 

सहरमा पानी पर्न ठूलो सिस्टम आउनु पर्ने उनी बताउँछन्। जंगल तथा पहाडतिर बादल बन्ने प्रक्रिया सजिलो हुने भएकाले पनि त्यहाँ पानी पर्ने गरेको बताउँदै उनले भने,‘त्यो प्रक्रिया जंगल नभएको र सहरी क्षेत्रमा अत्याधिक तातो हुने भएकाले त्यहाँ वर्षा हुँदैन।’ देशभरी नै झरी लाग्ने अवस्था आएमा मात्रै सहरमा पानी पर्ने गरेको उनले बताए। तुलनात्मक हिसावले सहरभन्दा गाउँ तथा पहाडतिर वर्षा हुने गरेको उनी बताउँछन्।  

धनगढीमा ताल तथा पोखरी कम भएको र भएकै जाखोर तालको पानी पनि सुकेका कारण वाष्पीकरण हुन नसक्दा पानी नपर्ने गरेको वातावरणविद्हरु बताउँछन्। धनगढी सुदूरपश्चिमको ठूलो सहर हो। जहाँको पुरानो बस्ती वरपर जंगल तथा तालतलैया, पोखरी छैनन्। 

जसले गर्दा वाष्पीकरण हुन नसक्नु र नजिकै रहेको मोहना नदीको वाष्पीकरण पनि सहरीकरणमा भएको तातो वायुले धकेल्दै चुरे पहाड रहेको गोदावरी तथा आसपासको जंगल क्षेत्रमा पुगाउने भएकाले पनि धनगढीमा वर्षात कम हुने गरेको हो। ‘धनगढी आसपास पानी वाष्पीकरण हुने ठूला पोखरी तथा तलाउ छैनन्,’ जलवायू विज्ञ डा. धर्मराज उप्रेतीले भने,‘नजिकैको मोहना नदी मात्रै हो, जसबाट भएको सामान्य वाष्पीकरणले स्थानीय वायूको पानी पार्ने प्रभावलाई असर गर्न सक्दैन। स्थानीय वायु र वाष्पीकरणको टकरावले ‘एन्टी साइक्लोन’ अवस्था सिर्जना गर्दछ। जसले गर्दा तापक्रम बढी हुने सहरमा पानी पार्ने अवस्थालाई कमजोर पार्न सक्ने भएकोले पानी कम परेको हुनसक्छ।’

स्थानीय वायूको प्रभावले धनगढीमा भएको वाष्पीकरण नजिकै रहेको जंगल तथा पहाडतर्फ धकेलिने गरेको बताउँदै उनले भने,‘सहरमा तातो वायू हुन्छ, जुन कम तापक्रम भएको अथवा न्युन चापीय अवस्थातिर उड्दै जान्छ र पानी बनेर खस्छ। त्यही भएर धनगढीको तुलनामा त्यही नजिकै रहेको गोदावरी र जंगल नजिकका बस्तीमा बढी पानी परेको हुनसक्छ।’ सहरमा पानी पर्नका लागि ठूलै ‘सिष्टम’ आउनु पर्ने उनी बताउँछन्। भारतको महाराष्ट्र, गुजरात क्षेत्रमा ठूलो पानी पर्दै गरेको बताउँदै भने,‘त्यो सिस्टम विस्तारै उत्तरतर्फ सर्दै आइरहेकोले धनगढी र सुदूरपशिचम क्षेत्रमा शुक्रबारको रातिदेखि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।’

प्रकाशित: २३ असार २०७९ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App