१६ चैत्र २०८० शुक्रबार
समाज

चैतमा आइजिपी बन्न अहिलेदेखि नै दौडधुप

नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको थियो। एसएसपीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई डिआइजीमा बढुवा सिफारिस गरिएको थियो।

सिफारिस अनुसार डिआइजिमा बढुवा भएका १७ जनाले नै आइतबार डिआइजीको दर्ज्यानी चिह्न (फुली) लगाए। उनीहरूलाई प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरी डिआइजीको जिम्मेवारी प्रदान गरे। नेपाल प्रहरीले यिनै १७ जनामध्येबाट आठ महिनापछि नयाँ आइजिपि बन्ने सम्भावना बलियो छ।  

महानिरीक्षक सिंहको कार्यकाल अर्को कुनै आश्चर्य नभए चैतको दोस्रो साता सकिन्छ। नेपाल प्रहरी नियमावलीअनुसार प्रहरी कर्मचारीको अधिकतम सेवा अवधि ३० वर्ष छ भने उमेर हद ५६ वर्ष। सेवा अवधिका कारण महानिरीक्षक सिंह चैत दोस्रो साता अवकाशमा जाँदैछन्। उनी २०४९ चैत १२ गते सेवा प्रवेश गरेका थिए। उनी चैतसम्म नै आइजिपी रहने/नरहने प्रश्नको उत्तर सर्वोच्च अदालतको हातमा पनि निर्भर छ। उनको नियुक्तिविरुद्ध अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन्। मुद्दा विचाराधीन छ। मुद्दाको फैसला आइजिपी सिंहको पक्ष वा विपक्षमा जेसुकै आए पनि अहिले डिआइजीमा बढुवा भएका १७ जनामध्येबाटै चैत दोस्रो सातापछि नयाँ आइजिपी हुने सम्भावना बलियो छ। आइजिपी सिंह मात्रै होइन, भर्खर डिआइजी भएका भन्दा सिनियर प्रहरी अधिकृतहरू सबै चैत १२ गतेअगावै कोही उमेर हद त कोही सेवा अवधिका कारण  

अवकाशमा जानेछन्। नेपाल प्रहरीमा हाल अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) को दरबन्दी नौवटा छन्। जसमा कार्यरत सबै आइजिपी सिंहकै ब्याचमेट छन्। त्यसकारण उनीहरू सबै चैत दोस्रो साताअगावै अवकाशमा जाने निश्चित छ।

नेपाल प्रहरीमा डिआइजीको दरबन्दी २० छ। १७ जना भर्खरै डिआइजीमा बढुवा भएका छन्। पुरुषोत्तम कँडेल, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ पनि पहिलादेखि नै डिआइजी छन्। यी तीनजना आइजिपी सिंहकै ब्याचमेट हुन्। त्यसैले उनीहरूले पनि चैत १२ गतेअगावै अवकाश पाउनेछन्। बाँकी यिनै १७ डिआइजीमध्येबाट एकजना चैतमा आइजिपी बन्ने बलियो सम्भावना रहेको स्रोत बताउँछ।  

फुली नलाउँदै दौडधुप

डिआइजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आइजिपीका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ।  

‘बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो। आइजिपी हुन वरिष्ठता नचाहिने र शक्ति केन्द्रको विश्वास जित्न सके पुग्ने भएपछि सबै प्रतिस्पर्धी हुने नै भए,’ स्रोतले भन्यो, ‘त्यही भएर आजैदेखि शक्तिकेन्द्रको विश्वास जित्ने र सहज ठाउँमा बस्ने वातावरण बनाउन फुली नलगाउँदै दौडधुप चलेको थियो।’

‘मालदार’ प्रदेशको इन्चार्ज भएर जानुभन्दा राजधानीमै दरबन्दी कायम गर्न पनि शक्तिकेन्द्रहरू धाउने क्रम चलेको स्रोतको भनाइ छ। ‘राजधानीमै बस्दा शक्तिकेन्द्रको निकट हुन सकिन्छ। दिनहुँ साक्षात्कार हुँदा विश्वास जित्न सकिन्छ भन्ने बुझाइ देखिन्छ,’ स्रोत भन्छ। यसरी राजधानीमै बस्न चाहनेहरूमा पहिलो नम्बरमा डिआइजी बढुवा भएका वसन्तबहादुर कुँवर, दोस्रो नम्बरमा बढुवा भएका टेकप्रसाद राई, तेस्रोमा बढुवा भएका अशोक सिंह र चौथो नम्बरमा बढुवा भएका दीपक थापा बढी सक्रिय रहेको स्रोतको दाबी छ। स्रोतका अनुसार उनीहरूले शक्तिकेन्द्र र आइजिपी सिंहलाई भेटेर आफूलाई काठमाडौंमै राखिदिन आग्रह गरेका थिए।  

एआइजीमा नजर

चैत दोस्रो साताभित्र उमेर हदकै कारण चारजना एआइजी अवकाशमा जाँदैछन्। उनीहरूको ठाउँमा जो बढुवा हुन्छ, उही आइजिपी हुन सक्ने देखिन्छ। आइजिपीमा धीरजप्रताप सिंहको नियुक्तविरुद्ध सर्वोच्च अदालत पुगेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेर हदका कारण आगामी साउन २० गते अवकाश हुँदैछन्। अर्का एआइजी मुकुन्दराज आचार्य भदौमा, रवीन्द्र धानुक र अरूणकुमार बिसीले कात्तिकमा अवकाश पाउँदैछन्।

रिक्त हुने एआइजीका चार पदमा जसले बढुवाको मौका पाउँछ, उसैले नै आइजिपी बन्ने अवसर पाउनेछ। यसैका लागि पनि चर्को दौडधुप चलिरहेको हो। १७ जनाभन्दा सिनियर तीन डिआइजी कँडेल, उपाध्याय र खाँ नै एआइजीमा बढुवा भए पनि अर्को एक रिक्त पदमा १७ जनामध्येबाट बढुवा गर्नुपर्ने छ। तर अहिलेसम्मको प्रहरी बढुवाको इतिहास हेर्दा यो नै हुन्छ भन्ने पनि ढुक्क छैन। सरकारले चाहे १७ जनामध्येबाट पनि रिक्त हुने एआइजीका चारै दरबन्दीमा बढुवा गर्न सक्छ। ‘हाम्रो प्रहरीमा के भर छ र ! सरकारले चाहे ब्याच सिनियर वा बढुवा हुँदाको वरिष्ठता कहाँ हेरिएको छ र?’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘जसले शक्तिकेन्द्र रिझाउन सक्यो, उहीं हुने त हो नि ! यस्तो अवस्थामा चारै एआइजीमा १७ जनाभित्रैबाट पनि आउन सक्छन्।’

चैतपछि आइजिपी को?

बरियताक्रम अनुसार डिआइजीमा बढुवा भएका १७ जनामा वसन्तबहादुर कुँवर पहिलो, टेकप्रसाद राई दोस्रो, अशोक सिंह तेस्रो, दीपक थापा चौथो नम्बरमा छन्। अहिलेकै राजनीतिक शक्ति सन्तुलन रहिरहे यी चारजनामध्येबाटै नयाँ आइजिपी हुने सम्भावना रहेको धेरैको अनुमान छ। तर स्रोतले भने अर्को पनि इसारा दिएको छ। वर्तमान शक्तिकेन्द्रको इच्छा आठौं नम्बरमा रहेका सुदीप गिरीतर्फ केन्द्रित रहेको स्रोतको दाबी छ।

स्रोत भन्छ, ‘गृहमन्त्री बालकृष्ण खाँणको चाहना सुदीप गिरीलाई वरियताको तेस्रो नम्बरसम्ममा राखेर डिआइजीमा बढुवा गर्ने चाहना थियो तर सम्भव भएन।’ स्रोतले पहिलो नम्बरमा रहेका कुँवर, तेस्रो नम्बरमा रहेका सिंह, चौथो नम्बरमा रहेका थापा र आठौं नम्बरमा रहेका गिरीमध्ये एकजना चैतपछि आइजिपी हुने दाबी गरेको छ।

प्रकाशित: २३ असार २०७९ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App