७ वैशाख २०८१ शुक्रबार
समाज

बर्खाका बेला तटबन्ध निर्माणमा जुट्दै गाउँले

वस्ती जोगाउँन इटहरी वडा नं. ३ का आदर्श टोलका स्थानीय तटबन्ध निर्माणमा जुट्दै। तस्बिर: नागरिक

इटहरी उपमहानगरपालिकाका नागरिकले ५ वर्षअघि आएको बाढीले पुर्‍याएको क्षति बिर्सिएकै थिएनन्, त्यसमा फेरि गत कात्तिकमा आएको बेमौसमी बर्षा र बाढीको असर थपियो। 

यस वर्ष असार १४ र १५ गते फेरि बुढी खोला नदीमा बाढी आएर इटहरी वडा नं. ३ को सुनौलो टोल बी नामले चिनिने आदर्श टोलको मानववस्तीमा प्रवेश गरियो। धन्न ठूलो क्षती हुन पाएन। फेरि कुनै क्षती हुन दिन गाउँलेले यतिबेला खोलामा तटबन्ध निर्माण गर्न जुटेका छन्। 

उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि तारजाली र ढुंगा खरीद गरेर स्थानीय नै तटबन्ध निर्माणमा जुटेका हुन्। तटबन्ध निर्माणपछि बाढी वस्तीमा नपस्ने आशा स्थानीयलाई छ।  ‘बर्खाका बेला हामी गाउँलेलाई रातभरि कहिल्यै निन्द्र लाग्दैन,’ आदर्श टोल विकास समितिका अध्यक्ष समेत रहेका तीर्थ दर्जीले भने, ‘बर्खाकै बेला भएपनि वस्तीमा बाढी प्रवेश गर्ने नाका तटबन्ध गर्दा केही मनमा शान्ति हुन्छ।’ उनले उपमहानगरपालिकासँग पटकपटक ताकेता गर्दा पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि त्यसको ताराबाजी र ढुंगा खरीद गरेर अरु काममा भने गाउँले आफै खटेका हुन्।  

‘उपमहानगरपालिकाले ठूलो बजेट बाढी नियन्त्रणका निम्ति नखर्चदा वर्षेनी समस्या हुने गरेको छ,’ स्थानीय अविता राईले भनिन्। उनका अनुसार हरेक वर्ष गाउँले वस्ती छाडेर हिड्नेको संख्या पनि बढ्दो छ। यतिबेला आदर्श टोलमा ४० घर परिवार छन्। यो वस्तीका पुरै गाउँले वाढीको उच्च जोखिममा छन्।  

बर्खा लागेसँगै इटहरीका बासीन्दा त्राहीमाम हुने गरेका छन्। बाढीले गर्दा इटहरीका बासीन्दा पटकपटक पीडित हुँदै आएका छन्। इटहरीबासीको एउटै माग छ, बुढीखोला र शेरा खोलामा तटबन्ध निर्माण। सामान्य पानी पर्दा  इटहरी डुबानमा पर्छ। पछिल्लो असार १४ र १५ गते आएको बाढीले पनि थुपै्र वस्तीमा असर गरियो। बाढी प्रभावित क्षेत्रको अनुगमन गरि रोकथामको काम भइरहेको इटहरी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३,४,९,१०,११,१२ नम्बर वडा छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। गत बर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो।  

इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुबानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन्। तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो।  

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गथ्यो।  

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दिर्घकालीन योजना बनाएर सदाका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासिन्दा पीडित हुँदै आएका छन्।

प्रकाशित: २२ असार २०७९ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App