८ वैशाख २०८१ शनिबार
समाज

व्यक्तिको जग्गामा गाउँपालिकाको सभाहल

सुर्खेतको चिंगाड गाउँपालिकाले व्यक्तिको जमिनमा १८ लाख रुपैयाँ खर्चेर सभाहल निर्माण गरिरहेको छ। सार्वजनिक जमिनमा सरकारी संरचना बनाइनुपर्नेमा गाउँपालिकाले स्थानीय टेकबहादुर रानाको जमिनमा सभाहल निर्माण गरिरहेको छ।

सभाहल निर्माण भइरहेको जमिनसँगै गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीको भैसी फार्म छ। पूर्वाधार निर्देशनालय सुर्खेतका इन्जिनियर हरिहर दशौदीका अनुसार गाउँपालिकाले सुरुमा सार्वजनिक जमिन भनेकाले भवन निर्माण सुरु गरिएको थियो।

‘व्यक्तिको जमिन हो भन्ने थाहा भइदिएको भए काम हुन्थेन्,’ उनले भने, ‘भवन निर्माण सुरु भएपछि मात्रै यो विषय बाहिर आयो।’ इन्जिनियर दशौदीका अनुसार वडा, पालिका र सम्बन्धीत जग्गा धनीले सार्वजनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको सिफारिस लिएपछि अहिले ढलानको काम भइरहेको छ।

‘सार्वजनिक भवन सार्वजनिक स्थानमै निर्माण गर्नुपर्ने हो,’ उनले भने, ‘सुरुमा थाहा भएन, अहिले व्यक्तिले जग्गा दिन्छु भनेका छन्।’ संसद विकास कोषको बजेटमार्फत उक्त सभाहल निर्माण हुन लागेको हो। व्यक्तिको जमिनमा सार्वजनिक भवन बनाएर दुरुपयोग गर्न खोजिएको भन्दै स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्।

चिंगाडमा यसअघि कृषि कार्यालयमार्फत व्यक्तिको जमिनमा बनाइएको तरकारी संकलन केन्द्रको भवन दुई वर्षमै अर्कोलाई विक्री गरेको उदाहरण छ। ‘अहिलेको यो भवन पनि त्यसैगरी दुरुपयोग हुने देखिन्छ,’ एक स्थानीयले भने, ‘यस विषयमा छानवीनको माग गर्दै अख्तियारमा पनि उजुरी दिएका छौं।’ 

उजुरीमा व्यक्तिको जग्गामा सार्वजनिक संरचना बनाउन नपाइने, जसको नाममा जग्गा छ उक्त व्यक्तिले जग्गा पालिकाको नाममा नामसारी गरेपछि मात्रै सार्वजनिक भवन निर्माण गर्न मिल्नेमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलेमत्तोमा व्यक्तिको जमिनमा सार्वजनिक भवन निर्माण गर्न लागिएकाले छानवीन हुनुपर्ने उल्लेख छ।

गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले नामसारी नभएपनि व्यक्तिले दिन्छु भनेको जमिनमा सार्वजनिक संरचना बनीरहेको बताए। ‘चिंगाडमा ठूला कार्यक्रमहरु गर्नका लागि सभाहल भएनन्, समस्या भयो भनेर व्यक्तिले जमिन दिन्छु भन्नु भएको छ, सोही अनुसार हामीले सिफारिस गरेर पूर्वाधार विकास कार्यालयले सम्झौता गरेर काम अघि बढेको हो,’ उनले भने, ‘सभाहल बनाउने विषयलाई विवादमा ल्याइन खोजीयो।’

प्रकाशित: २० असार २०७९ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App