८ वैशाख २०८१ शनिबार
समाज

पाँंचतले मन्दिरमा फहराइयो झण्डा

तस्बिरः अमित मचामसी।

भक्तपुरस्थित विश्वप्रसिद्ध पाँचतले मन्दिर (नेपाल भाषामा ङातापोल मन्दिर) को टुप्पोमा बिहीबार झण्डा फहराइएको छ। उक्त मन्दिरको वर्षगाँंठ अवसरमा सरोकारवालाहरुले टुप्पोसम्म पुगेर गजुरमा झण्डोतलन गरेका हुन्। यसलाई स्थानीय नेपाल भाषामा ङातापोल देयया बुँंसदा भनिन्छ।

यस अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी देवीको पूजाआजा गरिएको थियो। झण्डात्तोलन वर्षेनी असार शुक्ल प्रतिपदा अर्थात् जन्मदिनको दिन गरिन्छ। मन्दिर तीन सय २१ वर्ष पुगेको अवसरमा वर्षगाँठ मनाइएको हो। तीन सय २० वर्ष पूरा गरी मन्दिर तीन सय २१ वर्षमा पुगेको हो।

नेपाल सम्वत् आठ सय २२ मा राजा भूपतिन्द्र मल्लले असार शक्लपक्ष प्रतिपदाका दिन पहिलो वर्षगाँंठ पूजा गरिएको इतिहास रहेको छ। वर्षगाँंठको अवसरमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरकै तुछिमला टोलका अवालहरु सलंग्न रहेका थिए।

उनीहरु मन्दिरको माथिल्लो तल्लाको गजुरमा पुगेर झण्डा हालेका थिए। मन्दिरको भित्रभित्र हुँदै उनीहरु मन्दिरको गजुरसम्म पुग्छन्। सांस्कृतिविद डा. इन्दुल केसीले ङातापोल (पाँचतल्ले) मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झण्डोत्तोलन गरिने चलन चलेको बताए। मन्दिर नेपाल संम्वत् ८२२ पौष शुक्ल नवमीमा जग राखेको थियो।

मन्दिरको छाना बनाउने काम तुछिमलाका अवालहरुले गरेको किम्वदन्ती छ। त्यही कारण प्रत्येक वर्ष तुछिमलाका टोलका अवालेहरु त्यस कार्यमा लाग्ने गरेको उनी सुनाउँंछन्। टौमढी टोलका भैरव डरलाग्दो, रिसाहा र घमण्डी भएकाले उनलाई शान्त पार्न भैरवको अगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको बताइएको छ।

मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथ भन्दा ठूलो मन्दिर बनाए पछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणले बनाइएको बताइएको छ। सिद्धिलक्ष्मी देवतालाई तान्त्रिक देवता तथा शक्तिको देवी, शक्तिको प्रतीक मानिन्छ।

नेपालकै सबैभन्दा अग्लो यो मन्दिर वारम्वारको भूकम्पकाबीच पनि बाँंचिरहेको छ। पछिल्लो २०७२ सालको महाभूकम्पमा पनि यो मन्दिरमा देखिने गरी क्षति पुगेको थिएन। समय समयमा मर्मत सुधार भइरहने भएकाले मन्दिरमा क्षति हुन नपाएको विज्ञहरु बताउँंछन्।

पछिल्लो पटक पनि २०७२ सालको महाभूकम्पपछि मन्दिरको जिर्णाेद्धार गरिएको छ। मन्दिरको माथिल्ला दुई तीन तल्लाहरु जिर्णाेद्धार गरिएको थियो। पछिल्लो पटक मन्दिरको पुनः निर्माण २०७६ मंसिर ६ गतेबाट सुरु भएको थियो।

त्यसपछि कोभिड–१९ को लकडाउनका कारण २०७६ चैत ११ गतेदेखि काम बन्द गरेको थियो। तर पछिल्लो पटक फेरि लकडाउनकाबीच नै मन्दिर पूनः निर्माणको काम सुरु गरी अघिल्लो लकडाउन अघि नै सम्पन्न गरिएको थियो। भक्तपुर नगरपालिकाको जम्मा लागत ६५ लाखको लागत इष्टमेटमा काम सुरु भएको थियो।

प्रकाशित: १६ असार २०७९ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App