विगत दुई दिनदेखिको अविरल वर्षाले प्रदेश १ मा बितन्डा मच्चाएको छ। प्रदेश १ का तराई क्षेत्रमा डुबान र नदी कटानको समस्या देखिएको छ भने पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्याएको छ।
विशेष गरी प्रदेश १ का ४ जिल्लामा बाढी र पहिरोले धेरै क्षति गरेको छ। प्रदेश १ को झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा बाढी, डुबान, नदीकटान र पहिरोले क्ष्ति पुर्याएको छ। सोमबार रातिदेखिको अविरल वर्षा अझै पनि नरोकिएका कारण बाढीपहिरोले क्षति गर्ने क्रम अझै पनि जारी रहेको छ। मोरङका विभिन्न खोलामा आएको बाढी बस्तीमा पस्दा १ हजार बढी घर डुबानमा परेका छन्।
यस्तै ४ हजार बढी मानिस विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। तर, पानी कम भएसँगै धेरै मानिसहरू घर फर्किसकेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। बाढी र डुबानका कारण हाल ६ सय बढी परिवारका २ हजार ५ सय मानिसलाई मन्दिर, धर्मशाला र विद्यालयलगायत सुरक्षित स्थानमा उद्धार गरेर राखिएको छ। उनले भने, ‘पानी कम भएसँगै विस्थापित भएकाहरू घर फर्किसकेको भए पनि घर फर्किने अवस्था नभएका ६ सय बढी परिवारका करिब २ हजार ५ सय मानिसलाई विद्यालय, मन्दिर, धर्मशालालगायत स्थानमा राखिएको छ।’
हालसम्म मोरङमा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ। दाहालका अनुसार मंगलबारको तुलनामा बुधबार केही कम पानी परेका कारण राहत र उद्धारको काम सहज भएको छ। विशेष गरी खोला छेउका बस्तीहरूमा बाढी पसेर धेरै क्षति पुर्याएको उनले जानकारी दिए। मोरङको सिंगिया र केशलिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाको १, २, ४, ६, ७, १२, १६ र १९ नम्बर वडाका बासिन्दा प्रभावित भएका छन्।
यस्तै मोरङको चिसाङ, बक्राहालगायत खोलामा आएको बाढीले रतुवामाई, सुनवर्षी, रंगेली, ग्रामथानलगायत स्थानीय तहमा कटान र डुबानको समस्या निम्त्याएको छ। यस्तै खोलाले तीव्र रूपमा कटान गरिरहेको स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षाकर्मी र स्थानीय पालिकाहरूको सहयोगमा बोरामा माटो हालेर, तारजाली लगाएर कटान रोकथामको काम गरिरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बताए। यस्तै कटान र डुबानबाट विस्थापित भएकाहरूलाई खाद्यान्न, त्रिपाल, कम्बललगायत राहत सामग्री संकलन र वितरण सँगसँगै गरिरहेको तिम्सिनाले जानकारी दिए। अविरल वर्षापछिको बाढी र डुबानका कारण विराटनगरका सडकमा पानी जमेका कारण महानगरपालिकाले महानगर क्षेत्रका विद्यालय तीन दिनलाई बन्द गरेको छ। असार १५ गते देखि असार १७ गतेसम्म विद्यालय बन्द गरिएको विराटनगर महानगरपालिकाले सूचना प्रकाशित गरी जनाएको हो।
यता झापामा पनि विभिन्न खोलामा आएको बाढीले २ सय बढी परिवारका १ हजार बढी विस्थापित भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार विस्थापित भएकाहरूलाई स्थानीय स्कुल, मन्दिरलगायत स्थानमा सुरक्षित रूपमा राखिएको छ। ‘पानी पर्ने क्रम अझै नरोकिएकाले नदीकिनारमा बसोबास गर्नेहरू, डुबान, कटानको जोखिम भएका स्थानका व्यक्तिहरूलाई चौबिसै घण्टा सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौं,’ न्यौपानेले भने। बाढीका कारण झापामा एउटा कुखुराको फर्मका १ हजार २ सय कुखुरा नष्ट भएको न्यौपानेले बताए। खोलाकिनारका बस्ती जोगाउन कटान भएका स्थानमा कटान नियन्त्रणको काम पनि थालिएको छ। यस्तै सुरक्षा निकाय, नेपाल रेडक्रस र स्थानीय तहको सहयोगमा उद्धार र राहत वितरण थालिएको न्यौपानेले जानकारी दिए।
यता उदयपुरमा बाढी र पहिरोले धेरै क्षति गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। उदयपुरको बरुवा खोलाले सदरमुकाम गाइघाट तर्फको बाँध तीव्र रूपमा कटान गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए। उनका अनुसार खोलाले कटान गरिरहेका कारण बाँध जोखिममा परेकाले तत्काल कटान रोक्न जरुरी देखिएको छ। यस्तै सप्तकोसीले बेलका नगरपालिकाका विभिन्न वडामा कटान गर्दा बस्तीहरू जोखिममा परेका छन्। उदयपुरका विभिन्न खहरेका आएको बाढीले मदन भण्डारी राजमार्गको दुई स्थानमा क्षति पुगेको छ। यस्तै कटारी नगरपालिका–१० मा जमिन चर्किएका कारण तिल्के चौर बस्ती नै सार्नुपर्ने अवस्था आएको छ। सो वडाका १७ घर जोखिममा रहेको र ७ वटा घरलाई तत्कालै सार्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले बाढी प्रभावित र जोखिमका स्थानहरूको बुधबार नै स्थलगत अनुगमनसमेत गरेको छ। अनुगमनपछि खोलाछेउ, कटान गरिरहेको क्षेत्र र पहिरोको जोखिम भएका बस्तीहरू स्थानान्तरण, उद्धार र कटान नियन्त्रणका लागि सुरक्षाका सबै युनिटहरूलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
ञ्क्ष्इटहरी संवाददाता अमर खड्काञ्क्ष्का अनुसार निरन्तरको वर्षाले गर्दा स्थानीय खोलामा आएको बाढी ओभरफ्लो भएर बस्तीमा प्रवेश गर्दा इटहरीका चारवटा वडामा बढी असर गरेको छ। विशेष गरी इटहरी वडा नम्बर २, ३, ८, ५ र ९ का विभिन्न स्थानमा टेङग्रा, सुकुमारी तथा खेती खोलामा आएको बाढीले कटानसँगै केही घर भत्काएका छन्।
कटान गरेको र घर भत्काएको स्थानमा अहिले उपमहानगरपालिकाले तयार गरेको र्यापिड रेस्पोन्स टिमले तटबन्धको काम थालेको छ। बाढीले इटहरी वडा नम्बर ५ का रामवृक्ष चौधरीको पक्की घर भत्काएको छ। यस्तै इटहरी वडा नं. २ को सनसाइन बोर्डिङ स्कुलको वाल भत्काएको छ। इटहरी वडा नं. २ कै पशुपति चोकमा टेङग्रा खोलामा आएको बाढीले व्यक्तिको करिब १० धुर जमिन खोलाले कटान गरी दिएको छ। इटहरी वडा नं. ९ मा रहेको साथी पेट्रोल पम्प नजिकैको खोलाले सडक कटान गरेको छ।
इटहरीमा मंगलबार र बुधबार परेको वर्षाका कारण १५० भन्दा बढी घरमा बाढी पसेको प्रहरीको जनाएको छ। वर्षाका कारण इटहरी उपमहानगरले असार १७ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
निरन्तर रूपमा परेको वर्षाका सुनसरी जिल्लाको दक्षिणवर्ती बर्जु गाउँपालिका वडा नं. ६ चिमडीका ४० घर–परिवारको बस्तीमा बाढी प्रवेश गरेपछि विस्थापित भएका छन्। विस्तापित परिवार नजिकै रहेको खाली जग्गामा पाल टाँगेर बस्न थालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार बर्जु वडा नं. ५ का घर डुबानमा परेपछि स्थानीयलाई प्रहरीले उद्धार गरी मुसहर समुदायका लागि निर्माण गरिएका आवास भवनमा राखिएको छ।
यस्तै, वडा नं. ५ कै पण्डित टोलका पनि छ घर डुबानमा परेका छन्। डुबानमा परेका घरपरिवारका सदस्यलाई उद्धार गरी सोही ठाउँको रामजानकी प्राथमिक विद्यालयमा राखिएको छ। भोक्राहा नरसिंह वडा नं. ५ र ७ का घर बाढीले डुबानमा परेका छन्। हरिनगर वडा नं. ५ वसन्तपुरमा केही घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनायो। तर, यकिन घरपरिवार भने खुलेको छैन।
जिल्लाको सदरमुकाम इनरुवा वडा नं. ८ का २० घर बाढीले डुबानमा परेका छन्। दुहबी वडा नं. ४ र १२ मा पनि बाढी मावनीय बस्तीमा प्रवेश गरेर केही घर भत्काउँदा सर्वसाधारण पीडित भएका छन्। जसमा दुहबी वडा नं. ४ का सोभकुमारी चौधरी र विकास विकको परिवारका सदस्यलाई स्थानीय बिपी आधारभूत विद्यालयमा राखिएको छ।
बराहक्षेत्रको वडा नं. १, ४, ५, ८, १० र ११ मा निरन्तरको वर्षाले कतिपय घरहरू डुबाएको छ भने कतिपय बस्ती बाढीको उच्च जोखिममा भएकाले उच्च सतर्कता अपनाइएको छ। बराहक्षेत्रका नागरिक सदावहार सप्तकोसीबाट पीडित हुँदै आएका छन्। जसले गर्दा हरेक सालिन्दा बर्खा लाग्नासाथ यहाँका बासिन्दा त्राहिमाम हुने गरेका छन्।
कहाँ छ सरकार?
बुधबारको प्रदेश १ को प्रदेश सभामा सांसदहरूले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा बाढी, पहिरो, नदी कटान र डुबानका कारण धेरै क्षति भइसकेको भन्दै तत्काल नदी नियन्त्रण, कटान रोकथाम, राहत र उद्धारको माग गरेका छन्। प्रदेश १ को प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद अम्बिका थापाले बाढीले जनता पीडित हुँदा सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी छिन्। उनले बाढी, पहिरो र डुबान पीडितहरूका लागि सरकारले के काम गरिरहेको छ। तत्काल सार्वजनिक गर्न माग गरिन्। उनले भनिन्, ‘जनता पीडामा परेका छन्। बाढी पीडितहरूको राहत, उद्धार र कटान रोकथामका लागि सरकार रमिते मात्रै भइरहेको छ कि केही काम पनि गरिरहेको छ। सदनलाई जानकारी दिइयोस्।’ सांसद कुलप्रसाद साम्बाले अविरल वर्षापछि आएको बाढी र पहिरोले प्रभावित र विस्थापितहरूलाई राहतको व्यवस्था गर्न माग गरे। उनले बक्राहा खोलाले मोरङको उत्तरी क्षेत्रमा कटान गरिरहेकाले नदीको कटान नियन्त्रण गर्न सरकारसँग माग गरे।
प्रकाशित: १६ असार २०७९ ०५:५५ बिहीबार