७ वैशाख २०८१ शुक्रबार
समाज

धानको जैविक विविधता उपयोगमा जोड

कालिकोटमा विविध कार्यक्रम गरी उन्नाईसौं राष्ट्रिय धान दिवस मनाइएको छ। यो वर्ष ‘धान बाली जैविक विविधता उपयोग आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो।

दिवसका अवसरमा मान्मालगायत जिल्लाका ९ वटै स्थानीय तह तथा जिल्लाका ८२ वटा वडामा रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ। २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका अधिकृत चन्द्रबहादुर शाहीले बताए।

जिल्ला कृषि विकास कार्यालय कालिकोट र खाँडाचक्र नगरपालिका कृषि शाखाको आयोजनामा मान्माको ताडीमा भएको रोपाइँ कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमलबहादुर शाही र कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले धान रोपेर रोपाइँ सुरु गरेका थिए। केही रोपाहार, बाउसे तथा स्थानीय सर्वासाधारणले हिलो खेलेर धान दिवस मनाएका छन्। आजको दिनलाई चिउरा खाने तथा रोपाइँ महोत्सवका अवसरमा लिने गरिएकाले नगरपालिकाले यस वर्ष पनि धान दिवस मनाएको खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख पशुराम काफ्लेले बताए।

कार्यक्रममा नगर प्रमुख कमलबहादुर शाहीले धान खेती महत्वपूर्ण भएकाले यसलाई कृषिविज्ञको सल्लाहबमोजिम खेती गरी उत्पादन बढाउनुपर्ने बताए। कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले नेपाल एउटा कृषि प्रदान देश भएकाले अहिले पनि विदेशी कृषि वस्तु नेपाल भित्रिनु दुःखद् भएको बताए। उनले भने, ‘कर्णालीको मार्सी धानको नेपालभरि चर्चा भएको छ। यसको वृद्धिमा केन्द्र, प्रदेश र स्थानीय सरकार जिम्मेवार भएर लाग्नुपर्छ।’

प्रकाशित: १६ असार २०७९ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App