पछिल्लो केहीदिन यता नेपालको विभिन्न भूभागसहित बागमती प्रदेशमा भारी वर्षा सुरु भएको छ। वर्षा सुरु भएसँगै नदी एवम् खोला किनार तथा डाँडापाखामा घर भएकाहरु त्रसित् भएका छन्। यस वर्षको मनसुन सुरु भएपछि बागमती प्रदेशमा वर्षात् र हावाहुरीका कारण ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
मनसुनका कारण जेठ ६ यता ७ जनाको मृत्यु र १५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। जेठ ६ गते साँझको हावाहुरीको कारण चितवनमा ४ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। हावाहुरीको कारण म्याजिक र अटोमाथि रुख लड्का ४ जनाको मृत्यु हुँदा १३ जना घाइते भएको बागमती प्रदेश प्रहरीले जनाएको छ। यस्तै मनसुन यता धादिङमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। यस अवधिमा अविरल वर्षाका कारण सिन्धुलीमा २ जना घाइते भएका छन्।
जोखिममा रहेका ७१ जनाको उद्धार
बर्षाको समयमा आउने बाढी पहिरोका कारण हुनसक्ने खोजिमलाई मध्यनजर गर्दै बागमती प्रदेशमा ७१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ का ६ जना, नुवाकोटको शिवपुरी गाउँपालिका–६ का १३ जना र नुवाकोटकै ककनी गाउँपालिका–५ ढुंगेलटोलका ५२ जनाको उद्दार गरी स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।
विपद व्यवस्थापनमा तयार रहन मन्त्रीको अनुरोध
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयार रहन सरोकारवालाहरुलाई अनुरोध गरेका छन्। भारी बर्षा जारी रहेसंगै उनले बुधबार प्रेस वक्तव्य जारी गर्दै बाढी पहिरो, डुवान कटान जस्ता प्राकृतिक विपदका घटना हुनसक्ने भएकाले यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका हुन्।
उनले विपदका कारण हुनसक्ने धनजनको क्षति कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुमा द्रुत प्रतिकार्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न भनेका छन्। विपद वा यसका कुनै संकेत देखिएमा यथाशिघ्र उपलव्ध सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालाहरुलाई सुचित गरी मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सहयोगका लागि मन्त्री लामाले सबैसंग अनुरोध गरेका छन्।
सतर्कता अपनाउन प्रशासनको आग्रह
मौसम परिवर्तनसँगै भारी बर्षा सुरु भएकोले बाढी पहिरो लगायतको प्राकृतिक विपत्तिले समस्या निम्त्याउन सक्ने भन्दै प्रशासनले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले नदी तथा ससानाको आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। नदीहरुमा वहाव बढ्ने र केहीमा आकस्मिक भलबाढी आउनसक्ने पूर्वानुमान रहेकोले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो। मकवानपुरको साविकको १८ गाविस तथा नगरपालिका क्षेत्र भूकम्पका कारण पहिरोको जोखिममा रहेको छ। मकवानपुर बाढीपहिरोको उच्च जोखिममा रहेको छ।
प्रकाशित: १५ असार २०७९ १३:२५ बुधबार