coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निकास खोसेर विकास चाहँदाको सकस

पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेत क्षेत्रको बस्ती यसअघि कहिल्यै वर्षायाममा डुबानमा परेको थिएन। अधिक वर्षा हुँदा कुनै वर्ष सीमित क्षेत्र मात्र सामान्य डुबानमा पर्दथ्यो। पानीको निकास सहज हुँँदा हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारीका बासिन्दा ढुक्कले निदाउँथे। तर, शुक्रबार रातिदेखि परेको अविरल वर्षाले त्यहाँको ठुलो वस्ती डुबानमा पर्‍यो। डुबानमा पर्दा विस्थापित भएका गाउँले अझै घर फर्किन सकेका छैनन्।

स्थानीयका अनुसार त्यहाँका करिब तीन सय घरका वासिन्दा डुबानमा परेका छन्। तीमध्ये अझै आधाजति आफन्तकहाँ शरण लिएर बसेका छन्। पोखरा–२५ का वडा सदस्यसमेत रहेका स्थानीय सुवास भण्डारीका अनुसार पहिलोपटक यो आकारमा त्यहाँको वस्ती डुबानमा परेको हो। वस्ती डुबानमा पर्दा गाउँलेलाई सकस भएको उनले बताए। ‘पहिलोपटक यो आकारमा वस्ती डुबानमा परेको छ। यसअघि भीषण वर्षा हुँदा मात्र कहिलेकाहीँ केही क्षेत्र डुब्ने गरेको भए पनि यसपटक भने अत्यासलाग्दो अवस्था आयो,’ भण्डारीले भने, ‘पहिलापहिला डुबेको क्षेत्रको पानीको निकास खोलिदिएपछि सहजै बग्दथ्यो, यो पटक त्यो अवस्था रहेन।’

भण्डारीका अनुसार पोखरा–बागलुङ राजमार्ग विस्तारले पनि बस्ती डुबाउन सघाएको हो। त्योभन्दा बढी सहयोग त जथाभावि भएका प्लटिङ र घर निर्माणले गर्दा डुबानको समस्या निम्तिएको हो। ‘मुख्य राजमार्ग विस्तार गर्दा उकासियो। त्यसले गर्दा पानीको निकास सहज हुन पाएन। बनेका निकास पनि साँघुरा भए,’ उनले भने, ‘साना कल्भर्टले शुक्रबार रातिको भीषण वर्षापछिको भेल थेग्नै सकेनन्।’ उनका अनुसार बगेको पानी सहजै सुइखेतसम्म निकास पाउनुपर्नेमा बीचबीचमा अवरोध हुँदा वस्तीमै रोकिएको हो।

‘राजमार्ग बनाउँदा पनि एउटा समस्या थपिएको रहेछ। त्यो बाहेक अरू समस्या जथाभावीको प्लटिङ र घर निर्माणले यो अवस्था आएको हो,’ उनले भने, ‘विकास गर्दा निकास दिइएन। त्यसको समस्या अहिले अरूले नभई त्यहीका गाउँलेले भोग्नुपरेको छ।’ बस्तीमा पानी संकलन हुँदा धेरै वासिन्दा समस्यामा परेको उनले बताए। करिब तीन सय घर डुबानमा परेकोमा अझै आधाजतिको बसोबास आफन्तकहाँ रहेको भण्डारीले सुनाए। अधिकांश घरको तल्लो तलामा पानी छिरेको उनले बताए।  

भण्डारीका अनुसार डुबानमा परेको क्षेत्र धान र तरकारी खेती हुने ठाउँ हो। पछिल्लो समय त्यहाँ सहरीकरणसँगै घर थपिएका छन्। घर थपिने क्रम अझै उस्तै छ। घर बन्ने क्रममा पानीको निकास पनि रोकिएको उनले बताए। ‘सुन्दरपुरीदेखि म्याग्दीचोकमा बढी समस्या भएको हो। राजमार्ग बिस्तार हुँदा पनि नाला पुरिए, प्लटिङ गर्दा पनि नाला पुरियो। पहिलेका ठूला आकारका नालालाई अहिले साँघुरो बनाइयो,’ उनले भने, ‘पहिलेको निकास बढाउनुपर्नेमा झनै साँघुरो बनाइएको छ। त्यसले गर्दा भीषण वर्षापछिको पानी बग्नै पाएन। ठूलो बनाउनुपर्ने नालाको आकार घटाउँदा यो अवस्था आएको हो।’

उनका अनुसार हिजोको खेतमा अहिले ठाउँठाउँमा घर पनि बनेका छन्। खेत पुरेर घर बनाइएको छ। घर बनाउँदा पानीको निकास पनि रोकिएको छ। त्यसबाहेक म्याग्दीचोक र सुन्दरपुरी पछाडि पहिरो झरेकाले गर्दा पनि क्षति बढी भएको उनले बताए। पहिरोले बगाएर पुरानो नहर ९८४ नहर० ठाउँठाँउमा भत्किएपछि नहरबाट बगेर आएको पानी पनि वस्तीमा सोझिएको उनले बताए। ‘नहरमा माथिभाथिको भेल र छहराको पानी मिसिन्थ्यो। वर्षौं पुरानो त्यो नहरले सिँचाइ हुँदै आएको थियो,’ उनले भने, ‘पहिरोले ठाउँठाउँमा नहर भत्काइदियो। त्यसपछि नहरको पानी पनि वस्तीतिर सोझियो। पहिरोले नहर पुरिएपछि पानी वस्तीतिर सोझिँदा पनि डुबानमा परेको हो।’  

बगेर आएको सबैतिरको पानी सहजै सुइखेत खोलामा मिसिनुपर्नेमा बस्तीतिरै फर्किएको उनले उनले बताए। ‘निकास सहज हुँदो हो त फुटेको नहरको पानीले पनि खासै जोखिम थप्ने थिएन। तर, यहाँ पानी नै बग्न पाएन,’ उनले भने। ‘घर बनाउँदा नाला मिच्न पाए हुन्थ्यो भन्ने सोचाइ नहटेसम्म यो समस्या दोहोरिन्छ। पानीको निकास मिचिनु, जथाभावी सहरीकरण बढ्नु, प्लटिङ हुनुको कारणले यो समस्या थपिएको उनले बताए।  

पोखरा–२५ का वडाअध्यक्ष मोतीप्रसाद तिमिल्सिनाले पनि यसअघि कहिल्यै पनि यो बस्ती डुबानमा नपरेको बताए। उनका अनुसार अहिले डुबानमा पर्नुको कारण पानीले सहज निकास नपाउँदा हो। ‘कहिलेकाहीँ भीषण वर्षा हुँदा सहजै निकास हुन नपाए केही क्षेत्र डुबानमा पर्दथ्यो। निकास खोलिदिएपछि पानी आफ्नै बाटोबाट बग्थ्यो,’ तिमिल्सिनाले भने, ‘यो पटक भने निकास नपाएरै भेल वस्तीमा पसेको हो।’ उनका अनुसार त्यस ठाउँमा यसअघि वस्ती निकै नै कम थियो।

प्रकाशित: १३ असार २०७९ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App