१६ चैत्र २०८० शुक्रबार
समाज

‘मातृभाषा संरक्षणमा सबैको सरोकार हुनुपर्छ’

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समितिद्वारा आइतबार आयोजित मातृभाषा गोष्ठीमा नेपालभाषामा लेखिएको पत्रकारितासम्बन्धी पुस्तकको विमोचन गरिँदै। तस्बिरः नीलः साय्मि/नागरिक

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मातृभाषा संरक्षण सबैको सरोकार भएको बताएकी छन्। नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिकाको सहयोगमा आइतबार काठमाडौंमा आयोजना गरेको मातृभाषा पत्रकारिताको अवस्था विषयक गोष्ठीको उद्घाटन गर्दै उनले पत्रकारिताका माध्यमबाट विभिन्न मातृभाषासँगै समुदायका कथालाई पनि बाहिर उजागर गर्नुपर्नेमा जोड दिइन्।  

काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्र नेपाल भाषामा स्थानीय पाठ्यक्रम लागु गरेको र त्यो निरन्तर चल्ने बताउँदै उपमेयर डंगोलले आउने दिनमा पनि मातृभाषा संरक्षणमा महानगरको सहयोग जारी रहने विश्वास दिलाइन्। गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा नेपाल भाषा, मैथिली, राजवंशी, मेचे, तामाङ, लिम्बू, मगही, थारू, संस्कृत, शेर्पा, उर्दू, धिमाल, जिरेल, राजवंशी, डोटेली, चाम्लिङ, अवधीलगायत भाषाको पत्रकारिताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यपत्रमा ती भाषाको इतिहास, पत्रकारिताको उदय, समस्या, चुनौती र भविष्यबारे प्रकाश पारिएको थियो। ती कार्यपत्रमाथिको अन्तक्र्रियामा वक्ताहरूले विभिन्न टिप्पणी गरेका थिए। ३८ वटा भाषाको पत्रकारिता अवस्थाबारे पछि जर्नल प्रकाशित गरिने नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौंका कोषाध्यक्ष राजेन्द्र मानन्धर ‘नीलः’ले जानकारी दिए।  

गोष्ठीकै अवसरमा उपप्रमुख डंगोलले राकेश महर्जनद्वारा लिखित आमसञ्चार व नेपाल भाषा पत्रकारिता र नेपाल भाषा स्नातकको पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको विमोचन गरेकी थिइन्। साथै स्वयम्भूबारे तयार पारिएको वृत्तचित्र पनि डंगोलले नै सार्वजनिक गरिन्।  

कार्यक्रममा महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्य र पूर्वउपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आफ्नो कार्यकालमा महानगरमा नेपाल भाषामा स्थानीय पाठ्यक्रम लागु गरेको जानकारी दिँदै यो त्यसलाई थप विस्तार गर्दै लानुपर्नेमा जोड दिए।

प्रारम्भमा कक्षा ८ सम्म पाठ्यक्रम लागू भएको भन्दै शाक्यले यसलाई कक्षा १२ सम्म लागु गर्ने आफ्नो योजना बनाएको स्मरण गर्दै उनीहरूले अबको नेतृत्वले सो योजनालाई पूरा गर्नेमा आफ विश्वस्त रहेको बताए। उनले मातृभाषा संरक्षणमा महानगरले यसअघि छुट्याएको बजेट पनि अहिलेको नेतृत्वले कायम राख्नेमा आशावादी रहेको बताए। खड्गीले पनि स्थानीय पाठ्यक्रमको निरन्तरतासँगै भाषा र संस्कृति संरक्षणका लागि आफूहरूको खबरदारी जारी रहने बताइन्।

प्रकाशित: १३ असार २०७९ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App