coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुखविरुद्ध आरोपपत्र दायर

रौतहटको फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख यादवसहित एक दर्जनभन्दा बढी माथि आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।  

आर्थिक वर्ष २०७५/०७६ को लालबकैया नदीको ठेकामा प्रचलित ऐन नियम विपरीत कार्य गरेर नगरपालिकालाई नोक्सानी पुर्‍याएको भन्ने उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान गरेर अख्तियारले तत्कालीन नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले नगरपालिकाका तत्कालीन कार्यालय तिन जना कार्यालय प्रमुखविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। 

अख्तियारले फतुवा विजयपुर नगरपालिका, नगर कार्यपालिका रौतहटका तत्कालीन र हालका नगर प्रमुख गोपाल राय यादव, तत्कालीन नगर उपप्रमुख कान्ती देवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष दीपनारायण साह, वडा नम्बर ५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद, वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष हिरा राय यादव, वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा नम्बर ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरी, वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष योगेन्द्र प्रसाद चौधरी, वडा नम्बर ११ का तत्कालीन र हालका वडाध्यक्ष ज्ञानेन्द्र चौधरी, नगर कार्यपालकाका तत्कालीन सदस्यहरु लक्ष्मण साह कानु, सुन्दरी माझी, जिरनी देवी, फुलकुमारी देवी, संजु देवी जयसवा, शशीकुमार साह र रविन्द्रकुमार निधि विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

नगरपालिकालाई एक करोड ५३ लाख ५० हजार १९९ रुपैया आन्तरिक आयमा हानिनोक्सानी गर्ने मनसायले बदनियत राखी कार्यपालिकाको बैठकबाट निर्णय गरेको अनुसन्धानबाट देखिएको अख्तियारको दाबी छ।  

यसै गरी फतुवा विजयपुर नगरपालिकामा तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्र प्रमुख प्रशासकीय अधिकृत रन्जना साहविरुद्ध पनि अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। नगरपालिकामा रहेर तिनै जनाले फरक समयमा नगरपालिकालाई एक करोड ५३ लाख ५० हजार १९९ रुपैया हानिनोक्सानी गर्ने काम गरेकाले असुल उपर गराउनको लागि अख्तियारले आरोपपत्र दायर गरेको हो।  

लालबकैया नदी फतुवा विजयपुर नगरपालिका र गुजरा नगरपालिकाको साझा नदीको रुपमा रहेको र दुई नगरपालिकाबिच सम्झौता भई फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम पाउने देखिएको छ।

लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहबरको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिटी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुरले ६० तथा गुजराले ४० प्रतिशत पाउने व्यवस्था भएको थियो।

फतुवा विजयपुर नगरपालिकाले एकलौटी सम्झौता विपरीत ठेक्का गरेर रकम असुल उपर गर्ने कार्यमा ऐन नियमलाई मिच्ने काम गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम भन्डारीले जानकारी गराएका छन्। 

प्रकाशित: १२ असार २०७९ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App