७ वैशाख २०८१ शुक्रबार
समाज

सेवा प्रवाहसँगै सामाजिक काममा अग्रसर कर्मचारी युनियन

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले नरपानीमा सरसफाई गरेको छ। सन्धिखर्क–६ को धार्मिक तथा पर्यटकीय स्थल नरपानीमा रचनात्मक क्रियाकलाप अन्तर्गत युनियनले सरसफाई कार्यक्रम गरेको हो।  

घुम्नका लागि जाने पर्यटकले प्रयोग गरेका प्लाष्टिकजन्य, सुर्तिजन्य, मदिराजन्य फोहोरहरु जथाभावी फालेर पर्यटकीय स्थल फोहोर भएपछि युनियनले सो स्थानमा सरसफाई गरेको हो। यस्तै पर्यटकीय स्थल परिसरमा फोहोर नगर्न अनुरोध गरिएका ३ वटा सचेतना बोर्ड, ईन्सिनेटर सहितका ३ वडा फोहोर फाल्ने डस्टबिन र १० थान कुचो समेत वितरण गरिएको युनियन अर्घाखाँचीका अध्यक्ष माधव अर्यालले जानकारी दिए।  

घुम्न जाने पर्यटकले प्रयोग गरेका सामानहरु यत्रतत्र फालिंदा तथा फोहोरको उचित व्यवस्थापन नहुँदा पर्यटकीय क्षेत्र बिग्रँदै गएको छ। वातावरणीय संरक्षणका साथै स्वास्थ्यका लागि सरसफाई महत्वपूर्ण हुने भन्दै शनिबार विदाको दिन पारेर सामाजिक कार्य गरिएको हो। ‘कार्यालयमा सेवा प्रदान त गरेकै छौं,' युनियन अध्यक्ष अर्यालले भने,‘सामाजिक काम पनि गर्नुपर्छ भन्ने अभिप्रायले सरसफाई गरेका हौं।’

सरसफाई तथा सामग्री हस्तान्तरण पश्चात गरिएको कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले पर्यटकलाई सुन्दर अर्घाखाँची देखाउनु पर्ने भन्दै, फोहोर भएका अन्य पर्यटकीय क्षेत्रहरुमा समेत सरसफाई गर्नुपर्ने बताए। सरकारले सबै क्षेत्रमा ध्यान पुर्‍याउन नसक्ने भएकाले सामाजिक संघसंस्थाहरुले पनि यस्ता क्रियाकलाप गर्नुपर्ने उनको भनाई छ।  कर्मचारीहरुको राम्रो तथा रचनात्मक क्रियाकलापमा कर्मचारी युनियन केन्द्रीय समिति सँधै साथमा रहने भन्दै भट्टराईले कर्मचारीको सुख दु:खमा आफूहरुको साथ रहेको बताए।  

कार्यक्रममा युनियनका प्रदेश सदस्य नुमलाल खनाल, आधिकारिक ट्रेड युनियन (सिबिए) का जिल्ला अध्यक्ष कृष्ण वर्मा, पूर्व जिल्ला अध्यक्ष झविन्द्र खनाल, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख सुर्य भुसाल, वडा नम्बर–६ का वडा सदस्य लेखबहादुर खत्री, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, नरपानी पर्यटन समाजका यमकला थापा लगायत ६० जनाको उपस्थिती रहेको थियो। कार्यक्रम युनियन जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षता र सचिव अर्जुन रेग्मीको संचालनमा सम्पन्न भएको हो।

प्रकाशित: ११ असार २०७९ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App