coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जमिन अतिक्रमणका कारण वर्षेनी डुवान भोग्दै आएका धनगढीवासी खुशी

सुदूरपश्चिमको अस्थायी राजधानी रहेको सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी समान्य वर्षा हुदाँ पनि डुवानमा पर्छ। वर्षातको दुई/तीन महिना वस्ती, बजार जताततै डुवानले धनगढीवासीलाई खपिनसक्नु सास्ती हुने गर्छ।

नगरविकास समितिका अध्यक्ष, सरोकारवाला कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर केही व्यक्तीहरुले खोलानालाको जमिन समेत आफ्नो नाममा दर्ता गराए। दुई/तीन दशकअघि खोला बग्ने केही ठाउँमा अहिले खोलाको नाम निशाना छैन। भने धनगढी बजार क्षेत्रमा बग्ने आधादर्जन भन्दा बढी खोलानालामा अतिक्रमण गरेर पनि संरचना बनाइए।

खोलानाला अतिक्रमण गरेर संरचना बनाएको कारण धनगढी डुव्न थालेको हो। यहाँको मुख्य समस्या खोलानाला अतिक्रमण भएकाले २०७४ सालकै स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयरका सबै उम्मेदवारको मुख्य एजेण्डा खोलानाला अतिक्रमण हटाएर डुवानको समस्या समाधान गर्ने थियो।

मेयर नृपबहादुर वड जितेपछि धनगढी उपमहानगरपालिकाको कार्यपालिकाको पहिलो बैठकमै खोलानाला अतिक्रमण हटाउने निर्णय पनि भयो तर अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम हुन सकेन। गत वैशाख ३० गतेको निर्वाचनमा पनि सबै उम्मेदवारले धनगढी डुवानको समस्या समाधान गर्ने एजेण्डालाई महत्वका साथ उठाए।

खोलानाला अतिक्रमण हटाउने र धनगढीको सडक फराकिलो गर्ने एजेण्डा प्राथमिकतामा राखेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मेयर जितेपछि धनगढी उपमहानगरपालिकाले खोलानाला अतिक्रमण हटाउन सुरु गरेको छ। खोलानाला अतिक्रमण गरेर बनाएका संरचना धमाधम भत्काइरहेका छन्।

वडा नं ५ वाट खोलानाला अतिक्रमण हटाउन सुरु भएको छ। धनगढी बजार क्षेत्रमा सवैतिर पक्की भवन, घर लगायतका संरचना बनाइएकाले यो हटाउने कार्य चुनौतीपूर्ण थियो। वडा नं ५ का वडा अध्यक्ष गजेन्द्र शाहीले कार्यपालिकाको बैठकमा आफ्नो वडाबाट अतिक्रमण हटाउन सुरु गर्छु भनेर हटाउन सुरु गरेका छन्।

अतिक्रमण हटाउन वडा अध्यक्ष शही सक्रिय खटिएका छन्। ‘जनताको लागी काम गर्ने संकल्प लिएर वडा अध्यक्ष बनेको हुँ। खोलानाला अतिक्रमण गरेर बनाइएका घर, संरचना भत्काइरहेका छौं’ उनले भने,‘जो सुकै व्यक्तीका भएपनि अतिक्रमण गरेर बनाइएका संरचना हटाइन्छन्।’

धनगढी उपमहानगरपालिकाको नव निमित भवन उद्घाटन गर्न धनगढी आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि नगर प्रमुख हमालले खोलानाला अतिक्रमण धनगढीको ठूलो समस्या भएकाले यो हटाउनमा सहयोग गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले खोलानाला अतिक्रमणले सुन्दर धनगढी कुरुप बन्न थालेको उल्लेख गर्दै कडाई गरेर भएपनि खोलानाला अतिक्रमण हटाउनुपर्ने बताएका थिए।

‘वर्षातका बेला धनगढी डुवानमा पर्दा यहाँका वासिन्दाले घरबाट आफ्ना छोराछोरीलाई लुगा नलगाई पानी पार गरेर सडकमा पुगेपछि लुगा लगाएर स्कुल पठाउने गर्नु परेको छ’ हमालले भने,‘खोलानाला अतिक्रमण नहटाएमा धनगढीमा डुवानले बस्न नसक्ने अवस्था हुन्छ। हाम्रा सन्ततीले धनगढीमै बस्न बनाउन पनि यो अतिक्रमण हटाउन जरुरी छ’ खोलानाला अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउने उनको भनाइ छ।

‘म भोलीका सन्तती वस्न लायक सुन्दर र नमुना धनगढी बनाउने संकल्प लिएर नगर प्रमुख बनेको हुँ’ उनले भने, ‘खोलानाला अतिक्रमण गरे बनाइएका संरचना बल प्रयोग गरेर भएपनि भत्काएर खोलानलाको अतिक्रमण हटाउन्छुँ।’ डुवानको समस्याको कारण खोलानाला अतिक्रमण हटाउन थालेपछि स्थानिय खुशी भएका छन्। अतिक्रमण हटाउने कार्यको सबैले प्रशंसा गरेका छन्।

‘खोलानाला अतिक्रमण गरेर संरचना बनाएपछि पानी बग्न पाइएन। खोलानामा बग्न नपाएपछि त्यो पानी वस्ती र बजारमा आएर डुवान पर्ने नै भयो’ नागरिका समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘धनगढी उपमहानगरपालिकाले अतिक्रमण हटाउने राम्रो काम गरिरहेको छ, यसले अतिक्रमण गर्ने र लुट गर्ने बाहेक धनगढीवासी सबै खुशी भएका छन्।’

लुट गरेर अकुत सम्पत्ति कमाउने उद्देश्य बोकेकाहरुले चुनाव जितेपछि जनताको हितमा काम नगर्ने गरेको उल्लेख गर्दै देश बनाउन्छु भनेर सोच बनाउनेहरुले राम्रो काम गर्न सक्छन भनेर हमालले अतिक्रमण हटाउने राम्रो काम गरेर देखाएको उनी बताउँछन्। धनगढीको मुख्य बजार लाइनको रातोपुलमा पहिले खोला थियो। अहिले त्यहाँ अतिक्रमण गरेर पुरै संरचना बनाएर खोलाको नाम निशाना पनि छैन।

यसैगरी पार्कमोडमा पनि नाम पानी बग्ने नालाको नाम निशाना छैन। अतिक्रमणका कारण समान्य वर्षा आउँदा पनि धनगढी बजार क्षेत्र, धनगढीका वस्ती जलमग्न हुन्छन्। वर्षातमा डुवानले सर्वसधारणलाई घरबाहिर आवतजावत गर्न पनि समस्या हुने गर्छ। कैयौं घर नै डुवानमा परेर घरभित्रका खाद्यान, लुगाकपडा लगायतका समान नोक्शान हुने गर्छ।

स्थानीय सबैकाले समर्थन भएकाले अतिक्रमण गर्ने व्यक्तीहरुले खुलेर विरोध गर्न नसकेपनि अतिक्रमण रोक्न अनेक प्रयास गरिरहेको स्थानीय तेज खड्का बताउँछन्। ‘अतिक्रमण गर्ने लुट गर्नेहरुलाई अतिक्रमण हटाउँदा बेचैन भएको छ, अतिक्रमण रोक्न कसरतमा छन्’ उनले भने।

संरचना भत्काउँदा खोलाको बिचमा रहेका एक दुई रुख ढलेको विषयलाई रुख विनाश भन्दै अतिक्रमण हटाउने कामलाई प्रभावित गर्न खोजिएको उनी बताउँछन्। संरचना भत्काउन डोजर जाने बाटो नभएकाले त्यस क्रममा एक दुई रुख ढलेको विषयलाई अतिक्रमण गर्ने माफियाहरुले ठूलो हल्लाखल्ला गरेर अतिक्रमण रोक्ने काम प्रभावित गर्न खोजेको वडा अध्यक्ष शाही बताउँछन्। ‘हामीले राम्रोको लागि र जनताको हितको लागि काम गरिरहेका छौं, कतै एक दुई रुख ढले होलान्, हामी दशौं रुख वृक्षरोपण गर्ने छौं।’

प्रकाशित: १० असार २०७९ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App