१६ चैत्र २०८० शुक्रबार
समाज

राता मान्छेको कालो कथाः आर्थिक अभावमा सुत्केरीको बिचल्ली

अस्पतालको शय्यामा केशमाला। तस्बिरः दिनेश/नागरिक

कुनै समय थियो रोल्पा–रुकुमका मान्छेलाई राता मान्छेको संज्ञा दिइन्थ्यो। तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्व गरिरहेका बेला यहाँका स्थानीयसँग देशैभरका मानिस तर्सिन्थे। सेना–प्रहरीलाई त झन् रोल्पा–रुकुम सुन्नै हुन्नथ्यो। केरकार सुरु हुन्थ्यो। उतिबेला युद्धको बाछिटाले प्रत्यक्ष नछोएको यहाँ कोही थिएनन्।  

रोल्पा पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत माओवादीका प्रायः सबै नेताले टाउको लुकाएको अनि खानपिन गरेको ठाउँ हो। अहिले पनि बाहिरबाट हेर्नेले रोल्पालीलाई विद्रोहीकै रूपमा हेर्ने गर्छन्। कुनै बेला विद्रोह गरेकै कारण अहिलेको बदलिँदो राजनीतिक परिस्थितिमा रोल्पा समानता र समतामूलक व्यवहारले सम्पन्न होला भन्ने कल्पना गरिन्छ। तर दुर्भाग्य, यतिबेला रोल्पामा आधारभूत भनिएको शिक्षा र स्वास्थ्य उधारो छ। यहाँका राता मान्छेहरू आर्थिक अभावमा औषधि खान नपाएर मृत्युको नजिक छन्। शिक्षा निकै टाढाको विषय बनेको छ। घरछेउको सरकारले भोट लिइसकेपछि जनताका समस्या देख्दैनन्। मौलिक हक भनेर लेखिएका धेरै शब्दले विपन्नलाई गिज्याइरहेका छन्।

भर्खरै चुनाव जितेका जनप्रतिनिधि नीति निर्माण र बजेट बाँडफाँटमा व्यस्त छन् तर आधारभूत र मौलिक हकका विषयमा कसैको नजर पुगेको छैन। विकास भनेको भौतिक पूर्वाधार मात्र हो भन्ने बुझाइका कारण जनताका आधारभूत आवश्यकता र हालका समस्यामा चुनाव जित्ने र हार्ने कसैको ध्यान जाँदैन।

रोल्पाको सुनछहरी गाउँपालिका–४ फगाम हाङदुङकी २६ वर्षीया केशमाला विक रोल्पा अस्पतालको शय्यामा २६ दिनको बच्चा काखमा राखेर मृत्युसँग लडिरहेकी छन्। १४ वर्षको उमेरमा बिहे गरेकी उनले १५ वर्षमा पहिलो बच्चा जन्माएकी थिइन्। पाँच बच्चा जन्माएकी उनका अहिले चार सन्तान छन्। सुत्केरी भएको केही दिनमा स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचार गर्न बजार झरिन्। सुलीचौरको निजी क्लिनिकमा उपचार सुरु गरेकी केशमालालाई विपन्न भएको थाहा पाएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइयो। त्यहाँ पनि उपचार नभएपछि रोल्पा अस्पताल आएकी उनलाई बाहिर जान सल्लाह दिइयो।  

‘केस जटिल छ। उच्च रक्तअल्पतासँगै मुटुमा पनि समस्या छ। हामीले बाहिर सुविधासम्पन्न अस्पताल रिफर गरेका छौं तर आर्थिक अभावमा उहाँहरू जान सक्नुभएको छैन,’ रोल्पा अस्पतालका डा. आधार वलीले भने, ‘अक्सिजन ८१ मात्र छ भने हेमोग्लोबिन ७.७ मात्र छ। स्वास्थ्य समस्या जटिल छ।’ डा. वलीका अनुसार यस्ता समस्या पटकपटक आउने गर्छन्।  

अस्पतालले रिफर गरे पनि केशमाला आर्थिक अभावका कारण ठूलो अस्पताल जान सकेकी छैनन्। अस्पतालले एम्बुलेन्स निःशुल्क दिने मेसो मिलाएको छ भने चिकित्सक र अन्य स्वास्थ्यकर्मीले व्यक्तिगत रूपमा केही रकम सहयोग गर्ने सल्लाह गरेका छन्। पति मंगलबार थप पैसा खोज्न भनेर निस्के पनि बेलुका रक्सी खाएर रित्तै हात अस्पताल फर्केका थिए।  

२६ दिनअघि सुत्केरी भएकी केशमालाले यसपटक छोरी जन्माएकी छन्। उक्त बच्चाको तौल ९ सय ग्राम मात्र छ। यतिबेला ११ वर्षकी एन्जल विकले आमा र बहिनीको रेखदेख गर्दैछिन्। भारतमा मजदुरी गरेर परिवार धानेका यो दलित परिवारको बिचल्ली देखेर अस्पतालका स्वास्थ्यकर्मीले केशमालाका ६ जना परिवारलाई बिहानबेलुकाको खाना खुवाइरहेका छन्।

केशमालाकी ११ वर्षीया छोरी एन्जलले कक्षा ३ सम्म पढे पनि त्योभन्दा अगाडि विद्यालय जाने अवसर पाइनन्। उनकी बहिनी पनि विद्यालय जान पाउँदिनन्। पोषणको त कुरै भएन, बेलाबेलामा पेट भरिने खानाको समेत अभाव हुन्छ। गतिलो खाना नहुँदा केशमालाको भर्खरै जन्मिएकी छोरीको तौल ९ सय ग्राम मात्र छ। राजनीतिक चेतना तर बुझेको भनिएको रोल्पामा आज पनि आर्थिक अभावमा उपचार गर्न नपाउनु लाजलाग्दो घटना हो। देशको मूलधारमा पर्याप्त नेतृत्व पठाएका रोल्पालीले पैसा नभएर उपचार पाउन सकेका छैनन्। माओवादी नेतृत्वले भन्ने गरेका राता मान्छेका काला कथाहरू रोल्पा–रुकुमका टोलटोलमा भेटिन्छन्।

रोल्पाली नेतृत्व पटकपटक सिंहदरबारको दैलो छिरे पनि उनीहरूले जिल्लाका लागि भोग्न मिल्ने केही गतिलो नगरेको प्रमाण केशमालाको घटना हो। अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा भइदिएको भए केशमालाहरूले दुःख पाउनुनपर्ने स्थानीयको बुझाइ छ। उपराष्ट्रपति नन्दबहादुर पुन, पुर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपाका महासचिव चन्द, कांग्रेस प्रदेश सभापति तथा पूर्वमन्त्री अमरसिंह पुन, एमाले नेता गोकुल घर्तीलाई केशमालाको प्रश्न छ, ‘म उपचार नपाएर मर्ने कि बचाउनुहुन्छ?’

प्रकाशित: १० असार २०७९ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App